शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हतियार बनाउने आरनको आधुनिकीकरणका लागि बिहादी गाउँपालिकाले बाँड्यो उपकरण

हतियार बनाउने आरनको आधुनिकीकरणका लागि बिहादी गाउँपालिकाले बाँड्यो उपकरण


  • संजय रेग्मी
  • भाद्र ३० २०८०, शनिबार

पोखरा/ जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका ५० वर्षीय धनबहादुर बिकले आरन चलाउन लागेको धेरै वर्ष भइसक्यो । पछिल्लो पुस्ताले आरन पेसाबाटै जीवन गुजार्न नसक्दा वैकल्पिक व्यवसायमा लागेको बेलामा धनबहादुरले भने पुर्ख्यौली पेसालाई त्याग्न सकेका छैनन् । तर, उनको आरनमा आधुनिकता ल्याउन नसक्दा बढी समय लगाएर काम गर्दा पनि उत्पादकत्व भने थोरै आउने गरेको छ ।

परम्परागत आरनहरूलाई आधुनिक र पूर्ण व्यावसायिक नबनाए यसैको आधारमा जीवन गुजारिरहेकाहरूलाई समस्या हुन सक्ने भन्दै बिहादी गाउँपालिकाले गाउँपालिकाका १७ जना उद्यमीहरूलाई आरनमा प्रयोग हुने आधुनिक उपकरणहरू वितरण गरेको छ । परम्परागत आरन व्यवसायलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना हुने अपेक्षा स्वरूप बिहादी गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकामा रहेका रहेका आरनलाई ती सामग्रीहरू वितरण गरिएको गाउँपालिकाका प्रमुख परविन गुरुङले बताए ।

‘अहिलेका युवाहरू आरन चलाउनमा लक्षित भएको देखिएका छैनन् । यदि यसमा कोही आकर्षित भएको छ भने पनि बजारमा गएर आधुनिक शैलीको आरन चलाएको देखिन्छ । गाउँमा रहेका आरनमा निकै दुःख गर्ने गरेको हामीले देखेका छौँ’, उनले भने, ‘छालाबाट बनेको धोक्रो घुँडामा च्यापेर कोइला बाल्दा दुःख छ । फलाम काट्दा तताएर घनले छिनो ठटाउँदाका दुःख उस्तै छन् । तर, यी काम गर्ने जनशक्ति बूढा भइसकेका छन् । उनीहरूका हातले अब घन ठटाउन समस्या हुन्छ ।’

आरन सञ्चालन गर्दै आएकाहरूको दैनिकीमा सहज बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ‘आरन सुधार कार्यक्रम’ तयार पारिएको थियो । जस अन्तर्गत १७ जना उद्यमीलाई प्रति उद्यमी करिब २२ हजार मूल्य बराबरका सामग्रीहरू पर्ने गरी वेल्डिङ मसिन, ग्रिन्डर मसिन, दुई थान घन, ब्लोर लगायतका वितरण गरिएको हो । उनीहरूलाई सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले पुर्ख्यौली पेसाको रूपमा रहेको आरन पेसा नै लोपोन्मुख अवस्थामा रहेकाले सबैलाई नभए पनि केही युवालाई काम सिकाउन अनुरोध गरे । गाउँबाट बसाइसराइको दर बढ्दै गएपछि हतियार तथा धातुका सामग्री बनाउने ग्राहकहरूको सङ्ख्या बढ्दै जाँदा गाउँ गाउँमा रहेका आरनहरू काम विहीन बनेको उनको भनाइ थियो ।

बजारमा सहजै पाइने आयातित सामग्रीहरूले भाउ पाउँदा पनि गाउँमा रहेका आरनहरूले काम पाउन नसकेको बर्राचौरका धनबहादुर बताउँछन् । आजभोलि बालीघरे प्रथा हराउँदै गएकाले पनि आरनहरू सङ्कटमा परेको उनको भनाइ छ । मिहिनेतका साथ आरनमा बर्षदिनसम्म काम गर्दा केही पाथी अन्नमा चित्त बुझाउनुपर्दा व्यवसाय धान्न नसकिएको धनबहादुरको गुनासो छ ।

‘बर्षदिन भर रुपैयाँ नलिएर घन ठटायो बाली माग्न जाँदा २÷४ पाथी कोदो, मकै र धान मिल्ने हो । त्यही अन्नले एक वर्ष त टर्दैन । यही भएर धेरैले आरन छोडेर विदेश जान लागे । अहिलेका युवाले आरनको काम नजान्ने भइसके’, उनी भन्छन्, ‘गाउँमा अहिले भएका आरनले पनि बाली घरे प्रथामा काम गर्न मुस्किल छ । बरु के काम गरेको कति मूल्य पाउने हो त्यो पाउन पाए आफूलाई आवश्यक कुरा किन्न पनि सजिलो । ज्याला पनि उठ्ने ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->