पर्वत / जिल्ला सदरमुकाम कुश्मा बजारमा र स्थानीय तहमा रहेर काम गरिरहेका विभिन्न बैङ्कहरूका शाखाहरू दिनदिनै भिडभाड बढिरहेको छ । हिन्दु नेपालीहरूको महान् चाड दसैँ सुरु भएसँगै आर्थिक कारोबार चलायमान बन्दा बैङ्कहरूमा भीड देखिन थालेको छ ।
राज्यले ज्येष्ठ नागरिक सहित अन्य शीर्षकमा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ताको निकासा पनि यही बेलामा भएको छ । दसैँ खर्चका रूपमा भत्तालाई प्रयोग गर्न ज्येष्ठ नागरिकहरू बिहानैदेखि बेलुकासम्म बैङ्कको दैलो कुरेर बस्दै आएको देखिने गरेको छ । लामो दूरीको यात्रा गर्दै सदरमुकाममा रहेका वा टाढाको वडाबाट गाउँपालिकाको केन्द्रमा रहेका बैङ्कहरूमा पुग्न कतिपय ठाउँका ज्येष्ठ नागरिकले समस्या भोग्दै आइरहेका छन् ।
यही दुःखलाई हटाउन भन्दै जिल्लाको महाशिला गाउँपालिकाले भने दसैँको अवसर पारेर वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको चाँजोपाँजो मिलाएको छ । स्थानीय तह बनाउनुको उद्देश्य नै नागरिकलाई सकेसम्मको सुविधा र सहज अवस्था निर्माण गर्नु रहेकोले सोही अनुसार सुरक्षाकर्मीहरू सहितको टोली वडामा पठाएर भत्ता वितरणको काम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताए ।
‘महाशिला गाउँपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरुवात गरेका छौँ यो निकै खुसीको कुरा हो । बैङ्क र सुरक्षा निकायसँगको समन्वयमा वडा नं. होश्राङ्दीबाट भत्ता वितरण सुरुवात गरिएको छ । स्थानीय सरकार घरदैलोको सरकार भन्ने कथनलाई सार्थकता दिएको छ’ उनले भने, ‘व्यक्तिको खातामा बैङ्कमा पठाउँदा वृद्ध हुनुभएका बुबाआमाहरुलाई कठिन भएको छ । बैङ्कमा पनि समयमा पालो नआउला । बैङ्कमा कुरेर बस्दा घर फर्किने जिप गाडी छुटेर उहाँहरू समस्यामा पर्ने गरेको पनि सुनिएको थियो ।’
गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका कर्मचारी छवि नेपालीका अनुसार अहिले पहिलो चरणमा वडा नं. होश्राङदी र वडा नं. ६ फलामखानीमा वडाबाट भत्ता वितरणको काम चलिरहेको छ । यो त्रैमासिकमा यी दुई वडामा मात्रै सम्भव हुने र बाँकी वडाहरूमा क्रमशः कार्यान्वयन गर्ने गरी गाउँपालिकाले तयारी गरेको उनको भनाइ छ । छ वटा वडाहरू रहेको महाशिलामा यस अगाडि राष्ट्रिय वाणिज्य बैङ्क सहित गरिमा विकास बैङ्क र मुक्तिनाथ विकास बैङ्कबाट भत्ता वितरणको काम हुँदै आइरहेको थियो । तर अब भने प्रहरी टोली सहित वडामा पुग्ने राष्ट्रिय वाणिज्य बैङ्क शाखाको टोलीले वडामा बसेर भत्ता वितरणको काम गर्ने छ ।
वडा नं. २, ३, ४ र ५ का बासिन्दाले बैङ्कबाट सेवा लिन केही सहज भएको भए पनि फलामखानी र होश्राङ्दीका नागरिकले सेवा लिनको लागि बढी दुःख गर्दै आएका छन् । दूरी टाढा हुँदा उनीहरू समस्या परेपछि सुरुवातमा तिनै वडाहरूबाट भत्ता वितरणको काम थालिएको हो । अन्य वडाहरूमा आगामी त्रैमासिकहरुबाट भत्ता वितरणका काम थालिने छ ।
महाशिलाका छ वटाका वडाका करिब एक हजार आठ सय जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहेका छन् । उनीहरूका लागि एक त्रैमासिकमा एक करोड ६६ लाख रुपैयाँ खर्च हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए । वडामा पुगेर भत्ता दिएपछि लामो दूरी हिँड्न बाध्य भएका ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गर्दा गाउँपालिकालाई पनि खुसी मिलेको उनको भनाइ छ ।





