जाजरकोट / भूकम्प प्रभावित जिल्लाको भ्रमणमा आएका राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट घाइते भएकालाई लिएर काठमाडौं फर्केका छन्। राष्ट्रपति पौडेलले जिल्ला अस्पताल जाजरकोटमा उपचाररत भूकम्पबाट घाइते भएका वीरे पुनलाई लिएर काठमाडौं फर्किएका हुन्।
जाजरकोटको नलगाढ नगरपालिका-१ पाली घर भएका पुन सदरमुकाम भेरी नगरपालिका-३ मा होटल ब्यवसाय गर्थे। भूकम्पले होटल र नजिकै रहेको उनको घर पनि भत्काएको छ। राष्ट्रपतिले थप उपचारका लागि काठमाडौं लिएर आएको छोरी ललिता पुनले बताइन्।
‘जाजरकोट अस्पतालमा राष्ट्रपतिज्यू भेट्न आउनु भएको थियो, उहाँले नै काठमाडौंमा उपचार गर्दा चाँडो निको हुन्छ भन्नुभयो,’ छोरी ललिताले भनिन्, ‘राष्ट्रपतिज्यूले संगै सेनाको जहाजमा राखेर काठमाडौं लानुभयो।’
मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ सबै मिलेर विपद्को सामना गर्न आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले भने, ‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला। हाम्रो सरकार छ भन्ने सोच्नु होला ।’उनले विपद्को समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गरे
उनले स्थानीय जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिए। ‘दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउँदै नपाउने अवस्था नआओस् । हामी सबै मिलेर विपद्को सामाना गरौं, लोकतन्त्र तपाईंहरूको साथमा छ,’उनले भने।





