पोखरा/ जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनासाथ भारतले कात्तिक २० गते सेनाको सी १२० नामक विशेष विमान भूकम्प प्रभावित क्षेत्र नजिकै पर्ने नेपालगञ्जमा अवतरण भयो । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहयोग बुझ्न विमानस्थल पुगे । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामग्री हस्तान्तरण गरे ।
केरुङ नाकाहुँदै राहत सामग्री नेपाल पठाएको अर्को मित्रराष्ट्र चीनले पनि त्यसको २ दिनलगत्तै भारतीय शैलीमै सहयोगको अर्को प्याकेज पठायो । कात्तिक २२ गते बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुईवटा कार्गो विमानहरु अवतरण भए । विमानमा कात्तिक १७ गते रातिको जाजरकोट भूकम्प प्रभावितहरुको लागि राहत सामग्रीहरु रहेका थिए । चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उडेका ती विमानहरु झण्डै १९ सय ९८ किलोमिटर पार गर्दै नेपाल आइपुगेका ती विमानहरुले अवतरणको लागि चिनियाँ सहयोगमा निर्मित पोखरा विमानस्थल नै रोजे । ती विमान ओर्लंदा पोखरामा नेपालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयं उपस्थित मात्र भएनन्,नेपालका लागि चिनियाँ राजदूत छन सोङबाट राहत सामग्री स्वीकारे ।
पोखरा विमानस्थल मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्मित परियोजना हो । चालु अंग्रेजी वर्षको सुरुमै उद्घाटन भएको विमानस्थलबाट हालसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसअघि छेन्दु र भुटानको थिम्पुबाट भएको चार्टर्ड उडान यहाँ ठूला विमान उड्न र ओर्लन सक्ने प्रमाणित चाहिँ भएको छ । स्पष्ट छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा चिनियाँ चासो बढी छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा असोज ९ गते जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएकामा खुसी व्यक्त गर्दै दुवै पक्षबाट पोखरा एयरपोर्टसहितबाट नेपालमा उडान र थप हवाई रुट विस्तारमा सहमति जनाइएको छ ।
‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखराबाट सीधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने ।’
चीनले राहत सामग्रीसहितका विमान पोखरामा अवतरण गराएर प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भएको सम्झौताको स्मरण पनि गराएको छ ।
‘चीनले सेनाको जहाज पोखरामै अवतरण गराउनुलाई कुटनीतिक दवाबको रुपमा बुझ्दा पनि फरक पर्दैन,’एक कुटनीतिज्ञ भन्छन्,‘विपत्तिको बेला भएको सहयोगलाई अन्यथा रुपमा बुझ्नु हुँदैन तर किन काठमाडौंमै ती सामग्री झारिएन र नेपालगञ्जभन्दा टाढाको पोखरा नै रोजियो भन्नेको अर्थ छैन भन्ने चाहिँ हुँदैन ।’
चिनियाँ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ्स ( बीआरआई) अन्तर्गतकै परियोजना भएको व्याख्या गर्दै आइरहेको छ । तर,नेपालले बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै ऋण सहयोग सम्झौता भएको पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना मान्न तयार छैन । नेपालमा बढ्दो चिनियाँ गतिविधिप्रति भारत सकारात्मक नभएको तथा चिनियाँ सहयोगमा निर्मित भएकै कारण पोखराबाट हुने उडानको लागि सजिलो हवाई मार्गको नदिएको पनि कुटनीतिक वृत्तमा चर्चा हुँदै आइरहेको छ । र,अहिले चिनियाँ जनमुक्ति सेनाका विमान पोखरामा आउँदा परिस्थिति अझ बिग्रने आँकलन पनि गरिएको छ ।
सहयोग सामग्री बुझ्न पोखरा आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने यी आशंकाहरुलाई खारेज गरे । विमानस्थलमै भएको पत्रकार सम्मेलनमा उनले भने,‘सहयोगको लागि हामी दुवै मित्रराष्ट्रप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौं,अहिलेको सहयोगलाई शक्ति संघर्ष (दुई देशबीच)को रुपमा बुझ्नु हुँदैन । उहाँहरु (भारत) ले नेपालगञ्ज नजिक छ,सजिलै ल्याइदिन्छौं भन्नुभयो, चिनियाँहरुले पहिला पनि पोखरामा उडान भरेकाले यहीँ सजिलो हुन्छ भन्नुभयो । यसलाई जिओ पोलिटिक्स राइभलको रुपमा लिनु हुँदैन ।’
चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको आपतकालीन सहयोग प्र्रदान गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार विमानबाट ल्याइएका सामग्रीमा ४६ सय थान तातो कम्बल र ६ सयवटा त्रिपाल रहेका छन् । कम्बलहरु असाध्यै गुणस्तरीय रहेको र त्रिपालहरु चाहिँ ठूला कार्यालय नै संचालन गर्न मिल्नेखालका रहेका छन् ।
‘जाजरकोटमा जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालयमा पनि क्षति भएको छ, त्रिपालहरु यस्ता कार्यालय संचालन गर्न उपयोगी छन्,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठका अनुसार चिनियाँ सहयोगका राहत सामग्रीहरु नेपालगञ्ज हुँदै गाडीमार्फत् सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ढुवानी गर्नेछ । गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनामा कमजोरी नभएको जिकिर पनि गरे । उनले भने,‘हामीले त्यहाँ सिडीओ र प्रशासनलाई कोही पनि पीडितहरु खुला आकासमा बस्न नपरोस्, भोकै हुन नपरोस् भन्ने निर्देशन जारी गरेका छौं,कसैलाई खुला आकास र खाली भुइँमा राखेमा कारवाही गर्छौं भनेका छौं ।’





