सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

‘कतै थुप्रियो, कतै राहत अभाव’

‘कतै थुप्रियो, कतै राहत अभाव’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८०, शुक्रबार

–चिसोले महिला, बुढाबुढी र बालबालिकालाई सास्ती
–पुरिएका पशुचौपाया साता दिनसम्म पनि उत्खनन् नभएकोमा स्थानीय आक्रोसित

बागलुङ/ एक हप्ताअघि जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले १ सय ५३ जनाको ज्यान लियो । २ सय ५० बढी घाइते भए । सयौं घर भत्किए । हजारौं मानिस घरबारविहीन भएका छ्न् ।

उक्त घटनापछि देशभर राहतको खोजी गर्ने क्रम सुरु भयो । बागलुङ जिल्ला विपत व्यवस्थापन समितिले पनि भुकम्प पीडितलाई राहतका लागि तयारी ग¥यो । जिल्लाका सबै पालिकाले ३० लाख रकम निकासा गरे । बागलुङ उद्योग वाणिज्य संघ, रेडक्रस, सामाजिक संघसंस्था गरी ५० लाख बढीका सामग्री किनेर बागलुङको तर्फबाट राहत वितरण भयो ।

भूकम्पमा परेर मृत्यु भएका तथा घाइतेको जुन रुपमा खोजी र उद्दार भयो त्यसपछि जाजरकोट र रुकुम पश्चिममा राहत वितरणमा भने समस्या सिर्जना भएको छ । कतै राहत थुप्रेको छ भने वास्तविक पीडितले पाउन सकेका छैनन् । ‘घर अगाडिबाट दर्जनौं ट्रकमा सामान गएको छ, तर यहाँ दिएका छैनन्,’ रुकुप पश्चिमको सानीभेरी गाउँपालिका–४ का टेकबहादुर मल्लले भने, ‘हामीलाई वास्तै गर्दैनन् ।’ उनको घर भत्केको छ । पुरिएको अवस्थामा मल्ल परिवारलाई निकालिएको थियो । संयोगले उनीहरु घाइते मात्रै भए । अन्नपात, लत्ताकपडा पुरिएको छ । तीन दिनको उपचारपछि घर फर्केका मल्ल काम गर्न सक्दैनन् । पुरिएको घरमा बाख्रा मरेर गन्हाएका छन् । तर उत्खनन् भएको छैन ।

उनको घर मात्र हैन, यहाँका धेरै घर गोठमा पुरिएका बाख्रा तथा चौपाया गन्हाएर बसिनसक्नु भैसक्दापनि उत्खनन् नहुँदा स्वास्थ्य समस्या बढ्ने स्थानीयको चिन्ता छ । घर नहुँदा बारीमा पाल टाँगेर बसेकाहरु चिसो भुईँ र दुर्गन्धले बिरामी पर्ने संभावना बढेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शर्मा नेतृत्वको जनप्रतिनिधि तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेल सहितका पदाधिकारीले पीडितलाई राहत बाँडेर फर्केका छन् ।

‘हामीले खाद्यान्नको राहतभन्दा पाल र कम्मल बढाउनुपर्ने अवस्था देख्यौं,’ कंडेलले भने, ‘बजारमा पालकै अभाव भैसकेको छ ।’ बागलुङका टोलीले ३ सय थान पालसहित राहत प्याकेज लगेका थिए । पाल, कम्मल, चामल, दाल, नुन र तेल तथा भुइँमा बिच्छ्याउने न्यानो पिफर्म ३ घर घरकै लागि लगिएको उनले बताए । ती सामग्रीमध्ये मुसिकोट–१४ मा ५० सेट, सानीभेरी गाउँपालिका– ४ मा १ सय ५० सेट र जाजरकोटको नलगाड गाउँपालिकामा १ सय सेट वितरण गरिएको थियो ।

नलगाड गाउँपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्युको कारण सबै पालिकाले २० हजारको दरले संकलन गरेको २ लाख रुपैयाँ नगद राहत मृतकको परिवारलाई हस्तान्तरण गरियो । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पीडितलाई उक्त रकम हस्तान्तरण गरेका थिए । त्यसबाहेक सहयात्रा बागलुङले झण्डै दुई क्विन्टल न्यानो लुगा पठाएका थिए । बालबालिकालाई खानेकुरा र औषधि लगायतको सामग्री पनि पीडितलाई हस्तान्तरण गरिएको हो ।

राहतको ताँती लागेपनि बास्तविक पीडितको घरमा अझै समस्या छ । मृतकका परिवार काजकिरियामा लागेका छन् । उनीहरुको मनस्थिति अझै राहतको खोजीमा आउन सक्ने अवस्थाको छैन । घाइतेहरु नेपालगञ्ज, काठमाडौं, सुर्खेत र चौरजहारीमा उपचाररत छन् । उनीहरुको कुरुवा अस्पतालमा हुँदा घरमा बेहाल भएको छ । घरमा पुरिएको अन्नपात र पशुचौपाया निकालिदिने कोही छैनन् ।
राहतका लागि नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरु धुलो उडाउँदै गाडी लिएर पुगे पनि पालिका र वडा तहमा मात्रै छाडेका छन् । एकद्वार प्रणाली गर्ने प्रशासनको निर्णयले राहत लैजानेलाई सहज भएको छ तर, ग्रामीण बस्तीका पीडितले पाउन नसकेका हुन् । ‘सडकबाट तीन घण्टाको पैदल दूरीका पीडित माग्न पनि आएका छैनन्,’ सानीभेरी गाउँपालिका–४ का अध्यक्ष मनोज बुढाथोकीले भने, ‘न हामी पुग्न सकेका छौ, न उनीहरुनै आइपुगेका छन् ।’ प्रारम्भिक तत्थांक निकाले पनि घरमा पुगेर दुःख बिसाउन पनि नपाएको उनले बताए ।

पीडितहरु बारीमा पाल टाँगेर बसेका छन् । चिसोले महिला, बुढाबुढी र बालबालिकालाई सास्ती भएको छ । परिवारका ४ देखि ७ जना सदस्यले एकदुइ वटा पालको भरमा रात कटाएका छन् । चिसो खेतमा बसेका उनीहरुमध्ये कतिपय बिरामी भएको स्थानीय लालबहादुर ओलीले बताए । ‘चिसो भुइँमा बस्नुपर्दा बिरामी भएका छन्, हामीले औषधि उपचारको लागि साथ खोजेका छौं, पाइएको छैन,’ उनले भने, ‘न्यानो कपडा र त्रिपाल नभए चिसोले ज्यान जान सक्छ ।’ एकद्वार प्रणाली भन्दै प्रशासन र पालिकामा थुपारेको सामाग्री वडा र टोलमा नपुगेको उनले बताए ।

यहाँ निरन्तर पराकम्प पनि गइरहेको छ । चिरिएका घर वरपर पनि स्थानीय बस्न सकेका छैनन् । सडकहरुमा निरन्तर सुख्खा पहिरो खसेको छ । यात्रा जोखिम भएकोले रातको समयमा यात्रा नगर्न स्थानीयले आग्रह गरे । रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नमराज भट्टराइले प्रारम्भिक राहतमै जुट्नुपर्दा भत्केका घरहरु उत्खनन् गर्न नसकिएको बताए । ‘अब स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरेर पुरिएका पशुचौपाया निकाल्ने योजनामा छौं,’ भट्टराइले भने, ‘उपकरणको पनि खोजी भैरहेको छ ।’ साता दिनसम्म पनि उत्खनन् नभएकोमा स्थानीय आक्रोसित छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->