पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरी प्रदेशवासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे ।
कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दूत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए ।
चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओलगायत सहरहरुबाट नियमित सीधा उडानका लागि अनुरोध गरे । ‘यसले दुई देशबीच व्यापार, पर्यटन एवं जनसम्पर्कलाई पनि मद्धत पु¥याउनेछ,’ मुख्यमन्त्री पाण्डेले भने ।
भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते (नोभेम्वर १३) मा खोल्ने योजना रहेको बताए । साथै उनले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा चीनका सहरबाट सिधा उडानमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै प्राविधिक टिमलाई अध्ययन गर्न पठाउने घोषणा गरे । गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चीन र तिब्बतको भ्रमणको निम्ता दिए ।
तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत संम्बन्धको स्मरण गरे । १२ औँ शताब्दीतिर अरनीको ले नेपाल चिनको संम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने ‘घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्धिपक्षीय सम्बन्धलाई शदियौँदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चीन पनि हो ।’





