सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

फिर्के अतिक्रमणमा अदालतको आदेश: ‘अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्नू’

फिर्के अतिक्रमणमा अदालतको आदेश: ‘अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्नू’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८०, शनिबार

पोखरा / पोखराको फिर्केखोलाको खोलाघर हटाउने महानगरको सूचनामा उच्च अदालत तगारो बनेको छ । शुक्रबार उच्च अदालत पोखराले कारण देखाऊ आदेश जारी गर्दै महानगरले ३५ दिनभित्र हटाउन भनिएको संरचना यथास्थितिमै राख्न आदेश गरेको हो ।

राजन रौनियारले पोखरा महानगरपालिकालाई विपक्षी बनाएर दिएको रिट उपर शुक्रबार उच्च अदालत पोखरा इजलास नं.२ मा न्यायाधीश मिलनकुमार राईको इजलासले कारण देखाऊ आदेश जारी गर्दै तत्काल नहटाउन भनेको छ ।

आदेशमा भनिएको छ,‘विपक्षीबाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचना अनुसारको कार्य रोकिदा विपक्षीहरुलाई तत्काल क्षति हुन जाने अवस्था नरहनुको अतिरिक्त उक्त मितिको सुचना रोक्ने आदेशबाट पुग्न जाने क्षति भएमा सो उपरमा कानूनी उपचार प्राप्त गर्ने मार्गसमेत रहने हुँदा सुविधाको सन्तुलनका आधारमा प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्म विपक्षी पोखरा महानगरपालिकाबाट मिति २०८०÷७÷१० मा प्रकाशित सूचना अनुसारको कुनै कार्य नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ अनुसार विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

निवेदकको तर्फबाट तर्फबाट अधिवक्ता तिलक पराजुली, मुकुन्दराज अर्याल तथा केशव ्रसाद पराजुलीले बहस गरेका थिए । रिट निवेदकहरुले दावीका कि.नं. का जग्गाहरुमा विपक्षी महानगरपालिकाबाट नक्सा पास गरी घर बसोबास भोगचलन गरी आएको भन्ने नक्सा पास तथा जग्गा धनिप्रमाण पूर्जाहरुबाट देखिएको समेत उल्लेख गरिएको छ ।
पोखरा महानगरपालिकाले कात्तिक १० गते सूचना जारी गर्दै पोखरा महानगरपालिका वडा नं. १८ को अँधेरीकुना देखि वडा नं. २, ४, ५, ८, ७, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फिर्के खोलाको खोलाभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु ३५ दिन भित्र पूर्ण रुपमा हटाउन सूचना जारी गरेको थियो ।

आदेशले महानगरपालिकाबाटै कानूनी रुपमा स्वीकृत पाएरै घर निर्माण भएको उल्लेख छ । उच्च अदालत पोखराले यसअघि ०७६ असार १० गते मुआब्जा तथा क्षतिपूर्ति दिनू भनी परामादेश जारी गरेको थियो ।
पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्भेक्षण गरेको थियो । सर्भेक्षण टोलीले साउन ३ गतेबाट फिर्केको मुहानदेखि अन्तिम बिन्दुसम्म खोलाको सर्भेक्षण गरेको थियो ।

सर्भेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्चाएको प्रतिवेदन प्रस्तुत गरेको थियो । सर्भेक्षणपश्चात सार्वजानिक गरिएको प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी १६० वटा संरचना निर्माण गरिएको छ । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन ।

व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेट्टाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन ।
सीमांकन टोलीले फिर्केखोला किनारमा ३८८ वटा कंक्रिटका पिल्लरहरु गाडेका छ । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिन्हमात्रै लगाएर छोडिएको थियो । सर्भेक्षक, इन्जिनियर, प्राविधिक २१ जना र नगरप्रहरी ६ सहित २७ जनाको टोलीले फिर्केखोलाको सीमांकन गर्दा सबैभन्दा बढी वडा नं. ४ र ५ को सीमानामा खोला अतिक्रमण भएको पाइएको हो । यही वडामा नै व्यक्तिदेखि संस्थाले मनमौजी रुपमा खोला अतिक्रमण गरेर संरचना खडा गरेका छन् ।

अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला तीन मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन । खोला मिच्ने ती ६ वटै संरचना आरसिसी भवनहरु हुन । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ ।समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोला घर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको छ ।

‘फिर्केखोलाको खोला घर नाप जाँच गर्ने क्रममा खोला घर नै मिचेर ३५ वटा स्थायी संरचनाहरु निर्माण भएको पाइएको छ । कतिपय संरचनाहरु शतप्रतिशत खोला घरमा बनेको पाइपका छन भने कतिपय संरचनाहरुको आंशिक भाग खोलाघरमा बनेको पाइएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

खोला घरमा संरचना बनाउनेमा सरकारी संस्थाहरु पनि परेका छन । सशस्त्र प्रहरी बल (एपीएफ) ले पोखरा १७ गाइघाटमा बनाएको तालिम केन्द्र पनि खोलाघर भित्रै बनेको पाइएको छ । यसबाहेक पोखरा ८ बराल समाज घर देखि पुन मगर समाज घर, कुँवर समाज घर, सोपाल समाज घर र पोखरा ४ मा भयरथान महिला समूहको भवन पनि खोलाघर भित्रै बनेका संरचना हुन । पोखरा ५ राधाकृष्ण मार्गमा रहेको राधाकृष्ण मन्दिरको भवन र पोखरा १८ अँधेरीकुनामा रहेको सामुहिक भवन पनि खोलाघर भित्रै बनेको प्रतिवेदनमा उल्लेख छ ।यी १० वटा संघसंस्थाका अस्थायी भवन रहेतापनि १८ वटा स्थायी संरचना पनि खोलाघरभित्रै बनेका छन ।

पोखरा ८ मा रहेको लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, मन्दिर, गिरी समाज घर, कृयापुत्री भवन, पोखरा ४ मा रहेको पोखरा फोटोग्राफर एसोसियसनको भवन, पोखरा २ मा निर्मित अर्चलबोट किरियापुत्री भवन र पुन मगर समाज घर पनि फिर्केको खोलाघरभित्रै बनेका संरचना हुन ।

फिर्केखोलाको बायाँतर्फ पनि विभिन्न संघसंस्थाहरुले ७ वटा संरचना खोलाघरभित्रै बनाएका छन । फिर्के मिचेर मिलनपार्क अगाडि रहेको कृयापुत्री भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर,पोखरा ५ मा राधाकृष्ण आश्रम, लायन्स क्लवको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन र फिर्के तमु समाजघर रहेका छन । फिर्केको मुहानदेखि फेवातालसम्म खोलाघरभित्र ३५ जना व्यक्तिले घर बनाएका छन । समितिको प्रतिवेदन अनुसार पोखरा ८ मा १२ जना व्यक्तिले खोला बेचेर घर बनाएको पाइएको हो ।

यस्तै, फिर्के सबैभन्दा अतिक्रमित पोखरा ४ मा ६ वटा, पोखरा ७ मा व्यक्तिले नै खोला मिचेर १७ वटा स्थायी संरचना बनाएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->