पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको एउटा सामुदायिक कुकुरले नै स्थानीयलाई हैरान बनायो। कुकुर घरपालुवा जनावर भएकाले सामान्यतः मानिसलाई आक्रमण गर्दैन । तर कटुवाचौपारीमा रहेको एउटा कुकुरले भने लगातार मानिसलाई नै आक्रमण गरेपछि घर बाहिर निस्केर काम गर्न देखि त्यो बाटो हुँदै पैदल यात्रा गर्नेहरूलाई पनि निकै समस्या भयो ।
हालसम्म १३ जनालाई टोकेर घाइते बनाएको उक्त कुकुरलाई निकै प्रयासपछि कुश्मा नगरपालिकाका कर्मचारीहरूले नियन्त्रणमा लिएर कटुवाचौपारीबासीलाई राहत दिलाएका हुन । नगरपालिकाभित्र देखा परेका समस्याको समाधान गर्नुपर्ने स्थानीय तहको जिम्मेवारी हुने भएकाले उक्त हिंस्रक कुकुरलाई नियन्त्रणमा लिने काम पनि नगरपालिकाको तर्फबाट हुनुपर्ने भन्दै नागरिकबाट आवाज उठेको थियो ।
कुकुरको आक्रमणमा पर्ने त्रासका कारण घर बाहिर निस्केर काम गर्नै नसक्ने तथा बालबालिकाहरूलाई विद्यालय पठाउनदेखि घर बाहिर निस्कन समेत जोखिम भएपछि कटुवाचौपारीबासीहरुले कुकुरको व्यवस्थापनको लागि कुश्मा नगरपालिकामा अनुरोध गरेका थिए । स्थानीयले समस्या भोगेको गुनासोपछि हालै मात्र उक्त कुकुरलाई नियन्त्रणमा लिएर राखिएको नगरपालिकाको पशु शाखाका प्रमुख डा. रूपक कँडेलले बताए ।
‘त्यसलाई मार्ने भन्ने अधिकार हामीसँग हुँदैन । तत्कालका लागि नियन्त्रणमा लिएर थुनेर राखिएको छ । छोपेर राखेपछि थप आक्रमणको जोखिम टरेको छ । त्यसको व्यवस्थापनको लागि सकेसम्म उसको घरधनी पत्ता लगाएर सहमति गर्नुपर्ने हुन्छ । तर यो सामुदायिक कुकुर हो भन्ने छ’, उनले भने, ‘अब तिहार बिदा सकिएपछि प्रशासनसँग आवश्यक समन्वय गरेर त्यो कुकरको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा निधो हुन्छ ।’
पछिल्लो पटक कटुवाचौपारीका निवर्तमान वडा सदस्य तथा सक्रिय कृषक खगराज अधिकारीको खुट्टामा सोही कुकुरले आक्रमण गरेर घाइते बनाएपछि उनी केही दिन पोखराको हस्पिटलमा बसेर उपचार गरेर फर्किएका छन् । अस्पतालबाट फर्किएको भए पनि घाउ निको नभएको उनले बताए । पैतालाको माथिल्लो भाग नै उप्किएका कारण उपचारमा धेरै रकम खर्चिनुपरेको अधिकारीको भनाइ छ ।
सोही कुकुरले कटुवाचौपारीका दीपक नेपाली र विक्रम लामिछाने, पिपलटारीका गणेश चापागाईँ, नारायण तिवारी र कमल नाम गरेका अर्का एक जना व्यक्ति, महाशिला गाउँपालिका घर भई मेथी बिक्री गर्दै डुल्ने एक जना व्यापारी, कुश्मा नगरपालिकाकै खरेहाकी कुमारी श्रेष्ठ र कपडा बिक्री गर्नको लागि गाउँ गाउँमा डुल्दै हिँड्ने अन्य तीन जनालाई घाइते बनाएको स्थानीयवासीले बताएका छन् ।





