पोखरा / सरकारले लोकप्रिय बनेको सामाजिक सञ्जाल प्रतिबन्ध पछि अवैध माध्यमबाट टिकटक चलाउँदा व्यक्तिगत डाटा चोरी भएको साइबर ब्यूरोले जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक नरेन्द्र चन्दले अवैध माध्यमबाट टिकटक चलाउँदा आर्थिक दुरुपयोग हुने गरेको बताएका छन् ।
कार्तिक २७ गते मन्त्रीपरिषद्को निर्णयले टिकटकलाई नेपालमा बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णयपश्चात अवैद्य मानिएका विभिन्न माध्यमबाट टिकटक चलाउँदा प्रयोग कर्ताको डिभाइसमा रहेको महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणमा समेत पहुँच पु¥याई चोरी गर्दै आर्थिक दुरुप्रयोग बढेको चन्द बताए ।
साइबर ब्यूरोले एक विज्ञप्ती जारी गर्दै अवैध माध्यमबाट टिकटक नचलाउने समेत अनुरोध गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्युतिय स्वरुपमा गैरकानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’





