आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

व्यवस्थालाई कमजोर बनाउन सरकारकै संलग्नता रहेको एमालेको आरोप

व्यवस्थालाई कमजोर बनाउन सरकारकै संलग्नता रहेको एमालेको आरोप


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८०, बुधबार

काठमाडौं / नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंका व्यक्त गरेको छ । केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको आरोप छ ।

बैठकले समाजमा अराजकता बढ्दै गएको भन्दै समाजलाई विभिन्न ढङ्गले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने श्रृंखलाबद्ध प्रयासहरू भइरहेको निष्कर्ष निकालेको छ । एमालेले भनेको छ, ‘जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरूद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरूद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदुषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन् । यसबीचमा कतिपय ठाउँमा धार्मिक दङ्गाहरू समेत गराइएका छन् ।  तर, यस्ता अराजक क्रियाकलापप्रति गंभीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ ।’

लोकतान्त्रिक गणतन्त्रका विरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प गरेको छ। अराजकतालाई प्रोत्साहन गर्ने, आर्थिक मन्दी बढाउँदै लैजाने, सामाजिक वैमनश्यलाई बढावा दिने र राज्यका निकायहरूलाई कमजोर बनाउँदै जनतामा निराशा बढाउने वर्तमान गठबन्धन सरकारको रबैयाप्रति आपत्ति जनाएको छ ।

यसैविच, आगामी १४ मंसिरदेखि तीन साता चल्ने झुलाघाट-चिवाभञ्ज्याङ ‘क्याराभान’ लाई मुख्य एजेण्डा बनाएर बुधबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सडक विद्रोहमा उत्रने संकेत दिएका छन् ।

एकैदिन सकिने गरी बसेको बैठक उद्घाटन गर्दै ओलीले वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि र निराशा रहेको निष्कर्ष सुनाएका थिए । जनतामा देखिएको सरकारप्रतिको असन्तुष्टिलाई प्रतिगामी शक्तिहरुले व्यवस्था बदल्न उपयोग गर्ने खतरा देखिएकाले प्रतिवाद गर्न सडक विद्रोहमा जाने अध्यक्ष ओलीले प्रष्टोक्ति दिएका छन् ।

‘जनतालाई मैदानमा उतार्छौं र देशलाई एउटा बाटो दिन्छौं । देशलाई निकास दिने बाटो समातेनौं भने अर्को आउँछ’ केन्द्रीय सदस्यहरुसँग ओलीले भने, ‘मलाई एउटा साथीले भन्यो– कसैले खल्तीबाट परेवा निकालेर उडाउन सक्छ है ।’

यसअघि गएको २२ कात्तिकमै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित क्याराभानमा निस्कने निर्णय गरेको थियो । तीन साता चल्ने उक्त क्याराभान एमालेको पूर्वनिर्धारित एकवर्षे अभियान अन्तर्गत हो, जसलाई एमाले नेताहरुले आगामी चुनावमा पहिलो शक्ति बन्ने तयारी भनेका थिए ।

तर ओलीले यो क्याराभानलाई आगामी चुनावको तयारीमा मात्रै सीमित नपार्ने सन्देश दिए । ‘..देशलाई पछाडि फर्कन दिंदैनौं । प्रतिगमनतिर जाने निकम्मापन स्वीकार्य हुन सक्दैन’, ओलीले भने । शान्तिपूर्ण तरिकाले जनताको हस्तक्षेप बढाउनेबारे नेताहरुसँग छलफल गरिरहेको पनि ओलीले बताएका थिए, ‘…जनशक्तिको परिचालन, जनबलको प्रयोग गर्न सक्ने हुनसक्छ ।’

  

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->