
पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट नर्वेका नागरिक रुने फ्लाथा गाँजासहित पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट गाँजाको पोलेन १० ग्राम र धुलो ३५ ग्राम बरामद गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा भेटिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए ।
पोखराबाट काठमाडौं जाने क्रममा शुक्रबार बिहान १० बजे विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । रुनेलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यसैविच, शनिबार प्रहरीले पोखरा-३० पावरहाउसबाट ४ किलो गाँजासहित धादिङका २१ वर्षीय विनोद विकलाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा आउँदै गरेको बसमा झोलामा गाँजा लुकाएर ल्याएको अवस्थामा विकलाई पक्राउ गरेको हो ।
विकलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।





