पोखरा / न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टचारका फाइल खुल्दै जाने बताएका छन् । पुतलीबजार नगरपालिका १ मा आयोयजित स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाचौँ विश्व सम्मेलनमा शनिबार मन्त्री गुरुङले भ्रष्टचार गर्ने कसैलाई नछाडिने बताए ।
पछिल्लो समयमा भ्रष्टाचार धेरै भएको बताउदै मन्त्री गुरुङले यसैका कारण राजनितिमा काला धब्बा देखा परेको बताए । भ्रष्टाचारी कारबाही गर्न प्रधामन्त्री, गृहमन्त्रीसमेत सक्रिय रहेको बताउँदै मन्त्री गुरुङले कानून अनुसारको कारबाही गर्न आफू पछाडी नपर्ने उनको भनाई थियो ।
कार्यक्रममा संघीय सांसद राजु थापा, पूर्वसांसद नारायणप्रसाद मरासिनी, कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, एमाले अध्यक्ष सूर्यप्रसाद गैरे, सल्लाहकार चन्द्रबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
२०६६ साल भाद्र १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलनमा देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि ३१२ जनाको सहभागिता रहेको अध्यक्ष टुकराज अर्यालले बताए ।
स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भएको र २० देशमा समाजको सम्पर्क प्रतिनिधिहरु रहेको छ । समन्वय समितिले २०७२ को महाभूकम्प, कोरोना महामारीलगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा समिति र विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुले आठ करोड भन्दा बढी रकम सहयोग गरेको छ ।
सम्मेलनमा समन्वय समितिले दुखमा परेकालाई सहयोग गर्ने उदेश्यले एक करोड बराबरको अक्षय कोष स्थापना गरेको थियो ।





