आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो: अध्यक्ष ओली

राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो: अध्यक्ष ओली

देशको भूगोल, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्ने भन्दै ओलीले देशको विकास गरेर एमालेले समृद्ध नेपाल बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे।


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

बैतडी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको बताएका छन् । झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए । ‘हामी पछाडि फर्कन सक्दैनौँ, फेरी रैति बन्न सक्दैनौँ’, ओलीले भने ।

भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिकलाई महाकाली नदीमा खसाल्दा पनि गठबन्धन सरकार चुइँक्क समेत नबोलेको बताउदै ओलीले भने, ‘आफ्नो नागरिक मर्दा, आफ्नो नागरिक मारिँदा, तुइन काटिँदा बोल्न सकेन, बोल्दैन, यसलाई तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाएकोमा पिर छ, बाटाघाटा बनाएकोमा पिर छ।’

आफू प्रधानमन्त्री बन्दा पुल, सडक रेल, भूकम्प पछिको पुनर्निर्माण लगायतका कयौँ काम गरेको अध्यक्ष ओलीले एमालेलेले सरकार छाडेपछि देश ओरालो लागेको बताए, ‘राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो।’

देशको विकास ठप्प भएको बताउदै ओलीले कर्मचारीलाई तलब खुवाउन समेत आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे । ‘देश झन् झन् अप्ठेरोमा पर्दै छ ।’

अहिले पहिचानको नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको भन्दै ओलीले पहिचानको सवाल एमालेले सबैभन्दा बढी सम्बोधन गरेको स्पष्ट पारे । पहिचानको राजनीतिका नाममा अरूलाई घृणा, निषेध र आक्रमण गर्ने कुरा स्वीकार्य नभएको र यो देशलाई अनेकतामा लगेर एकता हुन नदिने षडयन्त्र भएको ओलीको आरोप थियो ।

देशको भूगोल, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्ने भन्दै ओलिले देशको विकास गरेर एमालेले समृद्ध नेपाल बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे। ‘देश बनाउने जिम्मा एमालेले लिन्छ, यहाँहरू ढुक्क हुनुस् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->