पोखरा/ मानवअधिकारकर्मी कृष्ण पहाडीले देशमा धार्मिक अतिवादीहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक नाराहरु चर्कंदै गए राजनीतिक दलहरु सकिने भविष्यवाणी गरेका छन् । उनले पछिल्लो अराजकताको दोष चाहिँ राजनीतिक नेतृत्वकै भएको पनि जिकिर गरेका छन् ।
‘धर्मको नारा चर्कियो भने राजनीतिक दलहरु सकिन्छन्,धार्मिक संस्थाले राज्य चलाए के हुन्छ ? यहाँ केही शक्तिहरु तालिवान जन्माउन चाहन्छन्,‘शान्ति समाज कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लोकतन्त्रको प्रश्न ः सुशासन र सद्भाव’ विषय नागरिक संवादमा उनले भने,‘ धर्म र जातीय मुद्दा अगाडि सारियो भने देश गृहयुद्धमा जान्छ ।’
शान्ति समाजका संस्थापक अध्यक्षसमेत रहेका पहाडीले राजनीतिक दलहरुले नै देश चलाउनुपर्ने भए पनि उनीहरुको व्यवहारले अहिलेको असन्तुष्टि जन्मिएको टिप्पणी पनि गरे ।
समतामूलक समाज होस्, धर्म सापेक्षताको अभ्यास नगरियोस् अनि सुशासन कायम होस् भन्ने नागरिक समाजेको अपेक्षा दलहरुबाट पूरा नहुँदा अराजक शक्तिहरु मौलाएको उनको भनाइ थियो ।
नेताहरुको गतिविधिका कारण जनता मौन भएको जिकिर गर्दै उनले प्रश्न गरे ,‘यहाँ कुन दलका कार्यकर्ताले भन्नसक्छ मेरा नेता ठिक छन् ?’
संघीयतामा विकृति भएको तर मधेश र जनजातिलाई विश्वासमा नलिइ यो व्यवस्थामा संशोधन गर्दा आत्मघाति हुन्छ ।
समानुपातिक निर्वाचन प्रणालीको धज्जी उठाएर दलहरुले यो व्यवस्था र संविधानमाथि प्रश्न गर्ने ठाउँ राखेको बताउँदै उनले संविधानलाई समयानुकुल संशोधन गर्न दलहरु चुकेको गुनासो पनि गरे ।
‘आरजू ( राणा) र सुजाता ( कोइराला) कालागि समानुपातिक कोटा राखेको हो र ?’,उनले प्रश्न गर्दै भने,‘यहाँ कोटा बेचेर व्यवस्थालाई बदनाम बनाइयो, हामीसँग राजदूत र सांसद बनाउँदा कति पैसा लियो भन्ने लिस्ट छ ।यो प्रवृत्तिमा सुधार हुनुपर्छ तर हामी राजनीतिक शक्ति नै राज्यको चालक हौं भन्नेमा प्रष्ट छौं ।’
उनले नागरिकहरु अहिले देखिएको प्रवृत्तिप्रति निराश भएका र उनीहरु चिथोर्न तयार भएको अवस्था रहेको टिप्पणी पनि गरे ।
नेपाली समाजमा चेतनासहितको आलोचना गर्ने प्रवृत्ति हराउँदै गएको स्वीकार्दै उनले अगाडि भने,‘तपाईं बोल्नुभएन भने दास हुनुहुन्छ ।
उनले नागरिक आन्दोलनको नाममा एकातिर राजावादी र अर्कोतिर यथास्थितिवादीहरु सडकमा आएको जिकिर पनि गरे । एकाथरी साथीहरुले गरेको नागरिक आन्दोलन अखबारमा केन्द्रीत छ । अर्कोतिर राजवादीहरु आएका छन् ।
नागरिक मोर्चाको नाममा जे पनि बोल्न पाइन्छ भन्ने मनोवृत्ति पालेर राजावादीहरुले नागरिक समाजको नाम लिएको जिकिर गर्दै उनले भने,‘राजवादीहरुले कहिले भारतीय जनता पार्टीआवद्ध राष्ट्रिय स्वयंसेवक संघ ( आरएसएस) को नाम अगाडि राख्न खोजिएको छ, त्यो कुरा गम्भीर छ । ’उनले घृणा फैलाउने व्यक्तिलाई कारवाही गर्नुपर्नेमा शान्ति समाज प्रष्ट भएको तर वर्तमान सरकारले प्रदर्शन गर्ने नैसर्गिक अधिकारमाथि नै धावा बोल्दै राजावादीप्रति सहानुभूति प्रकट गर्ने अवसर सिर्जना गरिदिएको तर्क पनि गरे ।
संक्रमणकालीन न्यायलाई टुंगोमा नपु¥याउनु गम्भीर गल्ती भएको बताउँदै उनले यो विषयमा प्रधानमन्त्री प्रचण्डले सक्दो छिटो तदारुकता देखाउनुपर्नेमा जोड दिए । शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुँदा र पीडितले न्याय नपाउँदा पीडितलाई बोकेर विदेशी शक्तिहरु नेपाल छिर्ने खतरा रहेको बताउँदै उनले अगाडि भने,‘ अनमिन र युएचसीआरको बहिर्गमनबाट राष्ट्रसंघ खुसी छैन,उसले आफूलाई खदेको बिर्सेको छैन,ऊ आउन चाहन्छ र आएपछि उनीहरु जाँदैनन् ।’
शान्ति समाजका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी र राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।





