पोखरा/ युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावित विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लबले आफ्नो सामाजिक कार्यक्रम अन्तरगत भुकम्पबाट प्रभावित भएका विधार्थीहरुलाई न्यायो कपडा वितरण गरेको हो । विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लबले देउसीभैलो कार्यक्रमबाट स्थापना गरेको विपद व्यवस्थापन कोष मार्फत उक्त कार्य गरेको हो । बिसौनीचौरका १ सय ५० जना विधार्थीलाई न्यानो कपडा र विद्यार्थीका अभिभावक लगायत सय जनालाई सिरक वितरण गरेको हो । चौरजहारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष विरेन्द्र रोकायाले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले आफ्नो वडामा रहेका भुकम्प प्रभावितलाइ लक्षित गरी न्यानो कपडा वितरण गरेर आफ्नो वडाका जनतालाई राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।
त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम रोकायाले गण्डकी प्रदेशबाट भुकम्प प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक मार्फत युनाइटेड क्लबसँग सहकार्य गरी आफ्नो ठाउँमा सहयोग ल्याउन सफल भएको बताउदै युनाइटेड क्लबको सहयोगले आफ्नो विद्यालयमा अध्ययनरत विधार्थी र उनीहरुको अभिभावकलाई ठूलो टेवा पुगेको सुनाए ।
युनाइटेड क्लबका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लबले स्थापनादेखी सामाजिक काममा अगाडि बढिरहेको र अहिले आएर रुकुम पश्चिममा भुकम्प प्रभावितलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए ।
त्यस्तै युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले विपद व्यवस्थापन कोष मार्फत नेपाल भरि कुनैपनि ठांउमा विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा हालै कार्तिकको १७ गते भुकम्पले तहस नहस गरेको रुकुम पश्चिममा आएर विधार्थी सँगै अभिभावकहरुलाई समेत सहयोग गर्न पाउदा खुसी लागेको बताए । आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।
युनाइटेड क्लबका सदस्य जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यालय निरीक्षक अतिराम वली, विधालयका प्रधानाध्यापक बल बहादुर केसी, गण्डकी प्रदेशका स्वयंसेवक पान बहादुर क्षेत्री लगायतले बोलेका थिए ।





