कास्की/पोखरा महानगरपालिका २२ पुम्दीकोटमा सुमेरु पर्वतको स्थापना गरिएको छ । धार्मिक पर्यटकको रोजाइ बन्दै गइरहेको विशाल शिवमूर्तिको पश्चितर्फ सुमेरु पर्वत स्थापना भएको हो ।
पुम्दीकोट विकास समितिले कुमार पार्वती मूर्तिसहित अन्य भौतिक संरचना समेत निर्माण गरेको छ । पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको सुमेरु पर्वत निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसकेको छ । परियोजनाका लागि तीन करोड रुपैयाँ आवश्यक रहेको समितिका अध्यक्ष चन्दकान्त बरालले बताए ।
शिवमूर्ति धार्मिक तथा विदेशी पर्यटकको रोजाइको केन्द्र बन्दै गर्दा पर्यटकलाई थप भुलाउनका निम्ति उक्त परियोजना अघिसारेको बरालले जानकारी दिए । पार्वतीको मूर्ति, शौचालय सहित सुविधा सम्पन्न प्रशासनिक भवन, फूलमालाका लागि ४१ वटा शटर, कम्पान्उड वाल, २०० मिटर पक्की पहुँचमार्ग निर्माण जस्ता संरचनाहरुको निर्माण सम्पन्न भएका छन् । सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि विद्युतीय चियर कार, ग्रिनेरी पार्क, ब्यवस्थित पार्किङस्थल निर्माण योजना रहेको छ ।
पोखराको नयाँ गन्तव्यको रुपमा स्थापित शिवमूर्ति निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका विरगंजका उद्यमी मुरलीधर रुङ्टालाई विशेष सम्मानसमेत गरिएको छ ।
परापूर्व कालदेखि प्राकृतिक प्रकोप तथा अनिष्टबाट मुक्ति दिलाउने सहकालका देवताको रुपमा पूजित भूमेश्वर महादेव र पुम्दीकोट विभिन्न मेला र पर्वहरु संचालन हुने ऐतिहासिक सांस्कृतिक थलोको रुपमासमेत रहँदै आएको विश्वास छ । उक्त स्थानको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई थप उजागर गरी समग्र क्षेत्रको विकास तथा प्रवर्दन गर्ने उद्धेश्यले पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट, विशाल महादेवमूर्ति निर्माण कार्यको थलानी २०७३ बाट सुरु भएको थियो । मूर्ति स्थापनाका लागि २०७९ मा गरी दुईपटक शिव महापुराण ज्ञान महायज्ञ गरिएको थियो । महायज्ञबाट २० रोपनी जग्गा र ९ करोड ३० लाख रुपैयाँ नगद दान प्राप्त भएको । सोही योजनामा रुङ्गटा परिवारको ठूलो सहयोग प्राप्त भएको समितिका अध्यक्ष बरालले जानकारी दिए ।
पुम्दीमा ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, विशाल महादेवको कुण्ड क्षेत्र (गङ्गा पोखरी) ८,१०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिङ्ग तथा अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेल,१०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डब नृत्यका मूर्तिहरु रहेका छन् ।





