पोखरा / नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण वा हातपात प्रयास नभएको बताएका छन्। बिहीबार धनकुटाको लेगुवामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको हो भन्ने प्रश्नमा उपाध्यक्ष विष्णु पौडेले भने, ‘एक जना रक्सीले मातेका व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको हो, आक्रमण प्रयास भएको हैन।’
आफ्नो पार्टीको ‘झुलाघाट-चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको देख्न नसक्नेहरूले गलत हल्ला फैलाएको पौडेलको भनाइ छ। एमाले महासचिव शंकर पोखरेलले पनि लेगुवा घट्ना सत्य नभएको जनाएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो। यसवाट अभियानको सफलताले जलिरहेकाहरूको नियत भने उजागर भएको छ।’
पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँगै उभिएका एक जना एमाले नेताले घट्नाबारे भने, ‘जुन व्यक्तिले प्रहरीले पक्राउ ग¥यो उहाँ बिहानैदेखि रक्सीले मातेर बस्नु भएको रहेछ। स्वागतको लाइनमा बस्नु भएको थियो। तर हातमा माला थिएन। स्वागतका लागि हातमाथि उठ्दा माला नदेखेपछि प्रहरीले पक्राउ गरिहाल्यो। नाराबाजी पनि केही गरेको सुनिएन।’





