आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

विद्रोहीबाट व्यवसायी बनेका हरि पाण्डे

विद्रोहीबाट व्यवसायी बनेका हरि पाण्डे

जम्माजम्मी साढे ५ हजारबाट सुरु भएको पाण्डे अहिले करोडौंका मालिक बनेका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८०, शनिबार

पोखरा/ उनलाई चिन्नेहरु भन्छन्–‘जन्मथलो पाल्पा अर्घेलीले दिएको संस्कार,बटौलीको बुटबल टेक्निकल इन्टिच्यूटबाट प्राप्त ज्ञान अनि पोखरामा गरेको कठोर श्रमको समिश्रणबाट हरिप्रसाद पाण्डेको परिचय बदलिएको हो ।’

हरिप्रसाद पाण्डे अर्थात् नेपालका सफल उद्योगपति । पोखरा फुड्स प्रालिको छातामुनि चाउचाउदेखि बिस्कुटसम्म उत्पादन,बैंक तथा वित्तीय संस्था, जलविद्युत आयोजना, शैक्षिक संस्थालगायत विभिन्न क्षेत्रमा भएको करोडौं लगानी र त्यसले राष्ट्रिय अर्थतन्त्रलाई दिएको योगदानका कारण हरिप्रसाद पाण्डे स्तूत्य छन्÷सम्मानित छन् ।

त्यसो त यी कर्मवीरसँग पूर्वसांसद र पूर्व जलश्रोतमन्त्रीको फुर्को पनि जोडिन्छ । उर्जामय जीवनको कुनै कालखण्डमा अज्माएको राजनीतिक मार्गबाट प्राप्त त्यो उपमासँग उनका आफ्नैखाले अनुभूति जोडिएका छन् । र, ती तीतामीठा अनुभूतिहरु पुस्तकमार्फत् अभिव्यक्त पनि भइसकेका छन् ।

उनी आफैं भन्छन्–‘म सामान्य परिवारमा जन्मेको मिश्रित स्वभावको मान्छे हुँ, मेरो जीवन यात्रा पनि मिश्रित खालकै छ, म उद्यमशीलता,राजनीति,सामाजिक व्यवस्थाको मिश्रित कुरा गर्छु । ’
२००१० साल फागुन ४ गते पिता चुमानन्द पाण्डे र माता शिवकुमारी पाण्डेका ४ छोरा र २ छोरीमध्ये जेठो सन्तानको रुपमा जन्मेका हिरामणि पाण्डेको बाल्यकाल अभावमै बित्यो ।

त्यो बेला १२ वर्ष लागेपछि सन्ततीलाई कामको लागि भारत पठाउने चलन थियो । तर, हरिप्रसादका पिताले छोरालाई भारत पठाउन मन गरेनन् । भारतमा नोकरी गरेर फर्केको तीतो अनुभवको इखका कारण उनले छोरालाई पठाउने निधो गरे । हरिप्रसादले गाउँकै स्कूलमा पाँच कक्षा छिचोले । त्यसपछि सरदर डेढ घण्टाको यात्रामा पुगिने रिडीको हाइस्कूल धाए,अंग्रेजी पढे । कक्षा नौ पास गरेका के थिए, १४ वर्षको उमेरमै उनको बिहे भयो । बेलैमा विहे गर्ने चलनले उनलाई बाँध्यो । हुनेखाने परिवारकी तुलसा उनको अर्धाङ्गनी बनेर भित्रिइन् । घरको खर्चले थप अध्ययन सम्भव थिएन । उनी पढ्नकै लागि भनेर पाल्पा सदरमुकाम आए । बुटबलमा रहेको बुटबल टेक्निकल कलेज ( बीटीआइ)मा काम गर्दै पढ्न पाइन्छ भन्ने खबर सु्नेपछि त्यतै हानिए । युनाइटेड मिसन नेपालले प्राविधिक विषय अध्यापनको लागि खोलेको बीटीआइमा जनरल मेकानिक्स पढ्ने गरी उनको नाम निस्क्यो ।

बिहान २ घण्टा पढ्ने र ८ घण्टा अन द जब तालिम लिने कर्म थालेपछि घरबाट खर्च बोक्ने समस्याबाट मुक्ति मिल्यो । यो २०२५ सालतिरको कुरा थियो । एकवर्षसम्म त ठीकै थियो । बीटीआइमा राजनीति छि¥यो ।

गरीब परिवारमा जन्मेका हरिसँग बालक हुँदादेखि नै मीठो मसिनो खाने र धनी हुने तीव्र इच्छा थियो, कम्युनिष्टहरु समानताको कुरा गर्थे, कम्युनिष्ट बनेपछि त्यो सपना पूरा हुन्छ भन्ने कुराले हरिको मनमा जरो गाड्यो । उनी सहजै वामपन्थी राजनीतितिर आकर्षित भए । तत्कालीन पुष्पलाल समूहको कम्युनिष्ट पार्टीमा आवद्ध भए । जीवराज आश्रित उनको पहिलो राजनीतिक गुरु बने ।

‘म राजनीतिमा बेस्सरी सक्रिय भएर लागें, बबाल माग राखेर बीटीआइमा आन्दोलन गरियो,हड्ताल सुरु भयो, ८ घण्टा काम गर्न नपरोस्, खाना पकाउन नपरोस् भन्नेलगायतका माग थिए,’उनले अतित सम्झँदै भने,‘,खासमा युनाइटेड मिसन भनेको धर्म प्रचारक हो भन्ने भएपछि हाम्रो आन्दोलनलाई जोगी–सन्यासीहरुको पनि अभूतपूर्व समर्थन मिलेको थियो ।’

उनको नेतृत्वमा विशाल आन्दोलन भयो । माग पूरा गर्ने सहमति पनि बन्यो तर कार्यान्वयनमा भने आलटाल सुरु भयो । दबाब त दिइयो तर काम बनेन । थप आन्दोलन गर्न विद्यार्थी तयार भएनन् । त्यही बीचमा उनीसहित ४ जना विद्यार्थीलाई बीटीआइले रेष्टिकेट गरिदियो ।

हरिको बीटीआइ यात्रा सकियो । साढे ३ वर्ष त्यहाँ हुँदा उनी आन्दोलनमा मात्र नभएर पढाइ र काममा पनि अब्बल नै थिए । बीटीआइको विद्यार्थी नै नभएपछि बस्ने–खाने ठाउँ भएन । उता, पार्टीले. उनलाई पूर्णकालीन कार्यकर्ताको रुपमा काम गर्न भन्यो । मजदुर फाँटको जिम्मेवारी दियो । नेकपा पुष्पलाल समूहको रुपन्देही जिल्ला सदस्य हुँदै उनी मजदुर फाँटका इन्चार्ज बने । जिल्ला सचिव वामदेवसँग त्यहीँ परिचय भयो ।

पूर्व–पश्चिम राजमार्ग निमार्ण हुँदै थियो । बेलायती कम्पनीको ठेक्काअन्तर्गत हजारौं मजदुरहरु सो क्षेत्रमा काममा खटिएका थिए । पार्टीले त्यहाँका मजदुरलाई विभिन्न आकर्षक नारासहित संगठित गरायो । करिब २७ हजार जति त पार्टीका सदस्य नै बने ।

‘शैद्धान्तिक रुपले हैन कि आर्थिक मागबाट उनीहरु आकर्षित भएका थिए,’हरि पाण्डे भन्छन्,‘ हामीले विभिन्न माग राखेर राजमार्ग ठप्प पार्ने निर्णय ग¥यौं ।’
अहिलेका हरि पाण्डे त्यो बेला मजदुर नेता थिए । आन्दोलनको अघिल्लो दिन बर्दघाट माथिको जंगलमा प्रशिक्षण कार्यक्रम आयोजना भयो । कुखुराको मासु, रक्सी,च्यूराको भोज लाग्यो । पाण्डेले पनि खाए । भइदियो कस्तो भने, त्यही रात उनी बिरामी भए । दिसा र मुखबाट रगत बग्न थाल्यो । इन्तु न चिन्तु भएका पाण्डे र पार्टीसँग उपचार गर्ने पैसा थिएन । जसोतसो उनलाई लुम्बिनी अस्पतालको गेटमा पु¥याइयो । आफूलाई स्टेचरमा राखेर अस्पतालको कमन रुपमा पु¥याएको सम्झेका पाण्डे इन्तु न चिन्तु भए । साँझ खल्याङबल्याङ सुनियो । एक हुल घाइते प्रहरीहरु उनी बसेकै कोठामा आइपुगे । कसैको हात, कसैको टाउको, कसैको खुट्टामा चोट छ । उनी नेतृत्वको मजुदर आन्दोलनको क्रममा पुलिसहरु घाइते भएका थिए । आन्दोलनको नेता र आन्दोलन दबाउन गएका पुलिस एउटै कोठामा !

पाण्डेको मनमा अब म पक्राउ पर्छु भन्ने त्रास बढ्यो । पक्रेपछि मार्दिन्छन् भन्ने भय पनि विकास भयो । उनको एकमनले भन्यो–कम्युनिष्ट पार्टी जिन्दाबाद भन्छु र मरे पनि शहीदमा नाम दर्ज गराउँछु ।’
अर्को मनले भन्यो– ‘हैन बाँच्नुपर्छ ।’

उनी बिस्तारामै दिसापिसाब गर्ने अवस्थामा थिए । कमन रुममा दुर्घन्ध बढाएको भन्दै उनलाई अर्को कोठामा सारियो । तर, मृत्युको त्रासले छाडेन ।
हरि पाण्डे कम्युनिष्ट नेता थिए, नास्तिक थिए । ईश्वरप्रति विश्वास थिएन । मठमन्दिरमा पिसास फेरेर क्रान्तिको बिगुल फुकेका उनै पाण्डेले त्यो बेला पिताजीका वचन सम्झे ।
पिताजी बुटबल टेक्निकल कलेजमा छोराले गरेको हर्कतबाट सन्तुष्ट थिएनन् । एकपटक आमाले बनाइदिएको सातुसामल बोकेर आएका पिताजीले भनेका थिए–रम्भादेवीको पूजा गरेको छु,तलाईं घर नफर्काइ छाड्दिन ।’

रम्भादेवीप्रति विश्वास त थिएन तर उनले सर्तसहित उनै रम्भादेवी पुकारे ।
‘मलाई विश्वास त छैन तर शक्ति छ भने बचाऊ’ भन्ने भाकल गरे । भएछ के भने, त्यसपछि पाण्डेलाई निद्रा परेछ । ३ घण्टा निदाएपछि उनीमा बाँच्ने अठोट जागेर आएछ । आन्दोलनकारी नेता भनेर उनलाई कसैले चिन्दा पनि चिनेका थिएनन् । अस्पताललाई तिर्ने पैसा थिएन । एक दिन बिहान सबेरै उनी अस्पतालबाट भागे । अस्पतालबाट भाग्नु के थियो ? उनी राजनीतिबाट पनि भागे । सोझै घर पुगे ।

बुटबल टेक्निकल इन्टिच्यूटले उनलाई काम गरेर खाने सीप दिएको थियो । अब मैले राजनीति छाडेँ,, बीटीआइले मेरो उद्यमशीलताको यात्राको फाउण्डेसन तयार पारिदिएको थियो,’ उनी भन्छन्,‘त्यही सीपले मेरो जीवनमा उद्यमशीलता सुरुवातको निम्ति बीउ र जगको काम ग¥यो ।’

तर, उनले तत्काल व्यवसाय सुरु चाहिँ गरेनन् । भारत घुसे । ६–७ ठाउँमा भाँडा माझ्नेदेखि अनेकौं काम गरे । मद्रासमा एउटा फ्याक्ट्रीमा काम गर्ने क्रममा म्यानेजरको कटुवबचनले उनको मुटु घोच्यो । त्यसपछि काठमाडौं हानिए । त्यहाँ गएर ‘वेल्डर’ को काम थाले । पछि त्यही फ्याक्ट्रीमा सुपरभाइजर र म्यानेजर भए ।

यो ३१ सालतिरको कुरा थियो । सीप छँदै थियो, उनले .व्यवसाय गर्ने कला पनि सिके । संयोग कस्तो भने, जुन बुटबल टेक्निकल इन्ष्टिच्यूटबाट उनी निष्कासनमा परेका थिए, माइलो भाइ विष्णुले जनरल मेकानिकल इञ्जिनियरिङको कोर्ष छिचोले । यात्रामा भाइ थपिए । २०३४ सालतिर हुनुपर्छ, दुई दाजुभाइ पोखरा आए ।

हातमा सीप र मनमा केही गरौं भन्ने भावना थियो तर पूँजी थिएन । पिताजीले ऋण खोजेर २ हजारजति हातमा थमाइदिए । उनीहरुसँग जम्माजम्मी साढे ५ हजार जम्मा भयो । काठमाडौंको एउटा पुरानो वक्र्ससपमा गएर दाजुभाइले ग्रिल बनाउन आवश्यक पर्ने पुराना सामान खरिद गरे । सामान किनेपछि १ हजार जति बच्यो । २०३५ साल वैशाखमा चिप्लेढुंगामा ग्रिल बनाउने वक्र्ससप सुरु भयो ।
वक्र्ससप स्थापनापछिका दुःखका कथाहरु लामा छन् ।

‘मेरो हातमा घन हुँदा भाइको हातमा छिनो र मेरोमा छिनो हुँदा भाइको हातमा घन हुन्थ्यो’,पाण्डेले भनेका छन्,‘ ठ्याक्कै भन्न सक्दिन तर त्यो बेला पोखरामा करिब डेढ सयदेखि २ सयभन्दा बढी घरमा म आफैं ग्रिल फिट गर्न गएको छु । ट्याक्टरमा लैजाने पैसा हुँदैनथ्यो,साइकलको पछाडि सामान राखेर खररर… लगेको याद छ । त्यो बेला २ सय रुपैयाँ हात पर्दा आजको भन्दा बढी सन्तुष्टि मिल्थ्यो ।’
अहिले हरि पाण्डे जे छन्, त्यसको जग माछापुच्छे« मेटल एण्ड मेसिनरी बनिदियो । पाण्डे परिवारको उद्यमशीलताको जननी बनेको माछापुच्छे«े मेटल एण्ण्ड मेसिनरी प्रालि अहिले झन नयाँ गतिले अगाडि बढेको छ । अंशबण्डा गर्दा भाइ विष्णुको भागमा परेको त्यो कम्पनीले अहिले झोलुङ्े पुल, जलविद्युतका सामग्री र ठूला संरचनाहरु निर्माण गर्छ ।

त्यसो त हरिप्रसाद पाण्डे पनि कहाँ साना छन् र ? पोखराको व्यवसाय छोराको काँधमा थमाएका ७० वर्षीय यी तन्देरी यतिबेला जलविद्युत उत्पादनमै ध्यान केन्द्रीत गरिरहेका छन् ।
जीवनमा बग्रेल्ती हण्डर–ठक्कर खाएका पाण्डेसँग लोभलाग्दा सफलताका कथाहरु छन् । कुनै बेलाका उग्र कम्युनिष्ट हरि यतिबेला बढी आध्यात्मिक, देशभक्त र दानवीर लाग्छन् । सांसद र मन्त्री हुँदाका भोगाइ,राष्ट्रिय स्वाभिमानमाथि प्रहार हुँदाको पीडा अनि पितापुर्खाको रगतबाट प्राप्त र आफ्नै स्वअध्ययन एवं अनुभवबाट प्राप्त ज्ञानले प्रदिप्त पाण्डे शुक्रबार विदुषक जस्ता सुनिए । पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा विश्वविद्यालय मानविक तथा समाजशास्त्र संकायको सहयोगमा आयोजित उद्यमशीलता विषयक अन्तरक्रियात्मक कार्यक्रममा उनले जीवनका अप्ठेरा र उद्यमशीलताबारे लामो व्याख्या गरे ।

‘मेरा आफन्तहरुका नाममा खुला पत्र ः मातृभूमिको सर्वोच्चताभित्र मुक्तियात्रा, आमासँगै यात्रा र समृद्ध बनौं ः मानव हुनुको अर्थ पूरा गरौं भन्ने पुस्तकका लेखकसमेत रहेका पाण्डेले मातृ सेवा प्रतिष्ठानमार्फत् ८ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको पनि सुनाए । राज्यप्रति गद्दारी गरेको स्वघोषणा गरेका पाण्डे शुक्रबारको कार्यक्रममा भने त्यता प्रवेश गर्न चाहेनन् । उद्यमशील कसरी बन्ने भन्ने विषयमा नै केन्द्रीत रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->