आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कांग्रेसलाई अन्तर्घातमुक्त पार्टी बनाऔं: सभापति देउवा

कांग्रेसलाई अन्तर्घातमुक्त पार्टी बनाऔं: सभापति देउवा


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८०, मंगलबार

पोखरा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाउनुपर्ने बताएका छन्।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेसमा अन्तर्घात रोगको रुपमा रहेकाले यसबाट पार्टीलाई मुक्त बनाउनुपर्ने बताएका हुन्।

‘हाम्रो पार्टीमा एकले अर्कोलाई हराउन लाग्ने, अन्तर्घात गर्ने रोग छ, उनले भने, ‘तर अब पार्टीलाई अन्तर्घात मुक्त बनाउनु पर्छ।’ उनले विगतमा अन्तर्घातका बाबजुद पनि पार्टी सबभन्दा ठूलो पार्टी बनेको बताए।

उनले पार्टीका नेताहरु एकताबद्ध हुँदैन कि भन्ने चिन्ता सर्वत्र रहेको बताउँदै भने, ‘सबै मिलेर लाग्यौं भने भोलिका दिनमा हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बन्छ।’ देशभरी अहिले कांग्रेस कार्यकर्तामा उत्साह आएको उनले सुनाए।

उनले भने, ‘जसरी पनि कांग्रेसलाई एक गराएर आपसमा मेलमिलाप गराएर, एकता गराएर बहुमतको पार्टी बनाउनु छ। बहुमत नआए पनि ठूलो पार्टी बनाउन सकिन्छ। मलाई विश्वास छ, बन्छ पनि।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कुनै न कुनै पार्टीसँग सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए। आफूभन्दा अगाडिका वक्ताहरुले अन्य पार्टीसँग कांग्रेस मिलेकोमा विरोध जनाएपछि माओवादीलगायतका दलसँग मिलेर बनाएको सरकारको बचाउ गर्दै उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली कुनै एक पार्टीको बहुमत आउने खालको छैन। अहिलेको अवस्थामा कुनै एक दलको बहुमत आउन धेरै गाह्रो कुरा हो। त्यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। यो अहिलेको आवश्यकता पनि हो।’

सभापति देउवाले कांग्रेसको सिद्धान्त र आदर्श बहुदलीय प्रजातन्त्र भएको बताए। यही सिद्धान्त र आदर्शलाई मानेर अन्य पार्टी पनि बहुदलीय प्रजातन्त्रमा आएको उनको भनाई थियो।

‘हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टीहरु आएका छन्, उनले भने, ‘मल्टी पार्टी डेमोक्रेसी हाम्रो सिद्धान्त र आदर्श हो। यसलाई पूर्ण बनाउनका लागि समावेशी र समानुपातिक राखिएको छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->