पर्वत/ एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरु यस वर्ष पनि वितरण गरेको छ ।
पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार, पर्वतमा रहेर विशेषत ग्रामिण क्षेत्रका समाचारहरु लेख्दै आएका पत्रकार संजय रेग्मीलाई अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार र सामुदायिक पहलमा सञ्चालित नमूना क्याम्पसका रुपमा हुवासमा नै रहेको हुवास बहुमुखी क्याम्पसलाई अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार पाएका डा. शाही पाटन विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका चिकित्सक हुन भने रेग्मी ढोरपाटन दैनिक सहित अन्य सञ्चार माध्यमहरुमा पनि पर्वतबाट कार्यरत छन् । सम्मानित भएकाहरुलाई नगद ५१ हजार रुपैयाँ सहित ताम्रपत्र प्रदान गरिएको छ । पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम गत ५ डिसेम्बरमा क्यालिफोर्नियामा बसेको एसोसिएशनको सचिवालय बैठकले पुरस्कारको लागि व्यक्ति र संस्थाको छनोट गरेको थियो ।
डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तराष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारीहरु प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा दिनरात नभनी खटिने उनको कार्यलाई उच्च मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरेको एनआरएनएले बताएको छ । यस्तै पत्रकार रेग्मीले सकारात्मक ग्रामिण क्षेत्रमा लुकेका खबरहरुलाई बाहिर ल्याउनुका साथै सकारात्मक खबरदारी तथा पत्रकारिताका माध्यमबाट सामाजिक परिवर्तन र उत्प्रेरणाको काम गरेको भन्दै पुरस्कार पाएका हुन् ।
देशका क्याम्पसहरु समस्यामा परिरहेको बेलामा समेत सामुदायिक पहलमा सञ्चालित हुवास बहुमुखी क्याम्पसले विद्यार्थीहरुका लागि बिभिन्न सुबिधा सहित गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गरेको भन्दै पुरस्कार दिइएको हो । सोही अवसर पारेर पैयूँको विकासका लागि निरन्तर खटेका स्व. महेन्द्रप्रताप सेनलाई मरणोपरान्त ‘पैयूँ रत्न’ले सम्मान गरिएको छ ।
पुरस्कार वितरण समारोहलाई एसोसिएशनको नेपालस्थित साझेदार संस्था देउराली फाउण्डेशनले व्यवस्थापन गरेको थियो । फाउण्डेशनका अध्यक्ष भीम घिमिरे सहित बुद्धि विश्वकर्मा लगायतका प्रतिनिधिहरुले कार्यक्रमको आयोजना र सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले आफ्नो व्यवसायिक जीवनलाई सकेसम्म जनताको भलो हुने गरी नागरिकको हितमा प्रयोग गरेका व्यक्तिहरुलाई पुरस्कार दिएकोमा खुसी व्यक्त गरे । सामाजमा राम्रा काम गर्ने तथा सकारात्मक उर्जा फैलाउनेहरुलाई सम्मान गर्दा त्यसको सिको सबैमा पर्ने तथा समृद्ध समाज निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।
एसोसिएशनका अध्यक्ष माधव मरासिनीले देशका लागि योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान र थप उत्प्रेरणाका लागि पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको बताए ।





