पोखरा/ अहिलेजस्तो पोखरा भरिभराउ थिएन । खुला थियो, गाउँ नै थियो । पृथ्वी राजमार्गले काठमाडौं र पोखरालाई भने जोडिसकेको अवस्था थियो । बस्तीहरु पनि पातलै थिए ।
तर, २०४२ सालमा पोखरामा दुई समुदायबिच झगडा हुन पुग्यो । थकाली र गुरुङ समुदायबीचको झगडाले त्यतिबेला पोखरा तनावग्रस्त नै थियो । यो घटना मानसपटलमा राखिरहेका गणेशबहादुर भट्टराई आ–आफ्नो विशिष्टकृत विशेषता भएका यी समुदायहरुहरुलाई झगडाको सट्टा सद्भावको वातावरणमा कसरी ल्याउन सकिएला ? भन्ने सोचमा परिरहन्थे ।
उनलाई लाग्थ्यो, गुरुङ र थकालीमात्र होइन, तामाङ, नेवार, मगर, थारु समुदायको आफ्नै संस्कृति छ, आफ्नै खाना छ, आफ्नै विशेषता छ । यिनीहरुलाई कसरी एकैठाउँमा ल्याउन सकिएला ?
पोखरा सडक महोत्सवले २५ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाइरहँदा त्यसका संस्थापक पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने यसका सुरुवाती दिन सम्झिन पुगे ।
पोखराको त्यो दुई समुदायबीचको झगडालाई सद्भावमा कायम गर्न, स्थानीय उत्पादन र खानाको ब्राण्डिङ गर्न भनेर आजभन्दा २५ वर्ष पहिले अर्थात, सन १९९८ मा पोखरामा रेबान स्ट्रिट फेस्टिभल सुरु भयो ।
बेलाबेलामा भइरहने मेला महोत्सव भन्दा यसलाई फरक तरिकाले सञ्चालन गर्नको लागि फेस्टिभलमा फुड र म्युजिक थपियो । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पर्यटकलाई पोखरामै राख्ने प्रयत्न गरियो । डिसेम्बरको अन्तिम दिन पोखराको लेकसाइड क्षेत्र आज रातिसम्मै जागिरहेको हुन्छ । तीन किलोमिटर क्षेत्रमा फैलिएको महोत्सवमा सडकमै म्युजिकमा रम्न पाइन्छ, सडकमै मन परेको खाना खान पाइन्छ । फेस्टिभलमा म्युजिक र फुड जोड्ने कन्सेप्ट चाहिँ गोवा गएपछि मात्रै फुरेको हो ।
‘म गोवा गएको थिएँ, त्यहाँ ए आर रहमानले गीत गाउनुभयो,’ भट्टराई सम्झन्छन । त्यसपछि नै पोखराको स्ट्रिट फेस्टिभलमा पनि संगीत र खाना जोडिए । यो फेस्टिभलले २५ वर्ष पूरा गर्नुको पछाडि तत्कालीन राजा वीरेन्द्र पनि जोडिन आउँछन् ।
राजा वीरेन्द्र त्यतिबेला पोखरा आएका थिए । पोखरामा उनले पर्यटक देखेनन । आएका पर्यटकहरु पनि आफ्नो देश फर्किँदै थिए ।राजाले यसबारेमा भट्टराईसँग सोधे ।
‘उहाँले पोखरामा पर्यटक किन छैनन, अफसिजनमा यहाँ बिजनेस किन कम्ति हुन्छ, दक्ष जनशक्ति के कति छन, व्यवसायलाई बैंकको फाइनान्सको व्यवस्था के छ ? के ग¥यो भने पर्यटक बढछ्न् भनेर सोध्नुभयो,’भट्टराईले त्यो संवाद सम्झँदै भने ।
त्यसपछि नै यो महोत्सवको खाका कोरिएको हो ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखरा २०५२ सालमा स्थापना भयो । यसको संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ र उपाध्यक्ष बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई थिए । यी दुई जनाको जोडीले पोखरामा ‘सडक महोत्सव गरौँ’ भनेर परिकल्पना गरेको थियो ।
पहिलो संस्करणको संयोजक उपाध्यक्ष भट्टराई थिए । राजासँग कुरा पु¥याउने र कार्यक्रमको संयोजक रहेकाले परिकल्पनाकार भट्टराईलाई मानिन्छ । सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ ।
सुरुमा रेबानले सञ्चालन गरेको यो महोत्सवको नाम अहिले पोखरा स्ट्रिट फेस्टिभल राखिएको छ । २०५४ सालमा लेकसाइड मिनी फेस्टिबल भनेर महोत्सव सुरु गरिएको थियो । उपाध्यक्ष भट्टराई महोत्सवको संयोजक थिए । पहिलो फेस्टिभल लेकसाइडको बाराहीचोकदेखि दुई सय मिटरमा मात्रै सीमित थियो । दोस्रो वर्षदेखि महोत्सवलाई ३ किलोमिटर क्षेत्रमा हुने गरेर ७ दिन महोत्सव गर्न थालिएको हो । पहिलो महोत्सवलाई कोकाकोलाले ५० हजार रुपैयाँ दिएको थियो ।
पहिलो महोत्सवमा ह्याण्डिक्राफ्टका सामान, माटोका सामानहरु प्रदर्शनीमा थिए । एक हिसाबले पहिलो संस्करणको फेस्टिभल एक स्ट्रिट एक्सपो जस्तो रहेको भट्टराई बताउँछन । महोत्सवको सुरुवाती संस्करणमा अहिलेजस्तो मःम, चाउमिन, पिज्जा, सुकुटी र कन्टिनेन्टल खानाको बिजनेस थिएन । त्यतिबेला ह्याण्डीक्राफ्ट, माटोका भाँडा, ढाकाको कपडाका उत्पादन बिक्री हुन्थ्यो । लेकसाइडको सडकका दुई किनारमा व्यवसायीले स्टल राख्थे । ठाउँठाउँमा गुरुङ, मगर, नेवार समुदायको नाच देखाइन्थ्यो ।
माओवादी द्वन्द्वकाल, कोरोना संक्रमणको समयमा पनि महोत्सव रोकिएन । महोत्सवको मुख्य दिन न्यू इयर इभ अर्थात् डिसेम्बरको अन्तिम दिन लेकसाइडमा अत्याधिक भीड हुन्छ । सुरुवाती समयमा त्यतिधेरै नभएतापनि सडकमा मान्छे हुन्थे । अहिले भने तीन किलोमिटर क्षेत्र पुरै भीड हुन्छ । फेस्टिभलमा आउनेमा अधिकांश भारतीय र नेपाली हुन्छन ।
बाहिरबाट झट्ट हेर्दा तीन किलोमिटर भित्र महोत्सवको रौनक देखिएपनि त्यसले आर्थिक रूपमा पार्ने प्रभाव पोखरा सहित आसपासका क्षेत्र र गाउँसम्म पनि पुगिसकेको छ । यो महोत्सव अहिले पोखरा मात्र नभई आसपासका क्षेत्रको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सफल भएको छ। पोखराले मात्र नभई सबै खाले समूहले मेलाबाट लाभ पाउँछन ।
१२ पुसदेखि सुरु भएको महोत्सव १६ गते सकिनेछ ।महोत्सवमा बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटक, डकुमेन्ट्री प्रदर्शनी, स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि प्रदर्शनी, मःम, ससेज खाने प्रतियोगिता राखिएका छन । पाँच दिनमा पाँच लाख पर्यटकले महोत्सव अवलोकन गर्ने रेबानको अनुमान छ । फेवाताल किनारको आकाशमा भव्य आतिसबाजी गरेर यसपटक पनि पोखराले १५ पुस मध्यराति १२ बजे नयाँ वर्षलाई स्वागत गर्नेछ । नयाँ वर्षको स्वागतमा आतिसबाजी समेत गरिन्छ ।
सडक महोत्सवले २५ वर्ष मनाइरहँदा यसका परिकल्पनाकार भने महोत्सव अझै पनि सोचेजस्तो नभएको बताउँछन ।हामीले अझै पनि सात प्रदेशका मान्छेहरुलाई भेला गराउन सकेका छैनौँ । हामी रेबान स्ट्रिट फेस्टिभलबाट पोखरा स्ट्रिट फेस्टिभलमा आइपुग्यौँ । तर, स्थानीय तहले हाम्रो महोत्सव हो भन्ने गराउनको लागि प्रदेशले ११ जिल्लाको उपस्थित गराउनुपर्छ, संघले चाहिँ सातै प्रदेशलाई भेला गराउनुपर्छ ।‘त्यहाँ जातजाति, भेषभूषा, खानपिन, उत्पादनको बजारीकरण गर्नको लागि व्यवस्थापन गरिदिए हामी आयोजकलाई धेरै सहज हुन्थ्यो,’ उनी भन्छन् ।सार्क राष्ट्रहरुलाई पनि उपस्थित गराउने, नेपाल शान्त छ भन्ने सन्देश दिएर अन्तर्राष्ट्रिय रुपमा नै यसको प्रवद्र्धन गरे पर्यटकको आवागमन बढ्ने उनी बताउँछन ।





