पाेखरा / एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ । अंकगणितीय रुपले चुनाव जित्ने सम्भावना क्षीण भएको अवस्थामा पठाइएका नामहरु पनि ‘पार्टीभित्र लो प्रोफाइल’कै रहेका छन् । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले चाहिँ ३ सिटको लागि १७० जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीका अनुसार अन्य अर्थात खुला अर्थात अन्यतर्फ बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा र स्याङ्जाका चक्रबहादुर पराजुलीलाई सिफारिस गरिएको छ । अपाङ्ग÷अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बरामलाई सिफारिस गरिएको छ भने महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ, स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम चुनिएको छ ।
आउँदो माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ भने सो निर्वाचनले गण्डकी प्रदेशबाट ३ जना सांसद चयन गर्दैछ । गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिना (अन्य), सदस्य प्रकाश पन्थ (अपाङ्गता÷अल्पसंख्यक) र दीपा गुरूङ (महिला)को ६ वर्षे कार्यकाल आउँदो २० फागुनमा सकिँदैछ । तीमध्ये तिमिल्सिना र दीपा एमालेबाट विजयी सांसद हुन् भने अल्पसंख्यकबाट विजेता बनेका प्रकाश पन्थ भाग्यले राष्ट्रियसभा पुगेका हुन् । उनी एमालेका उम्मेदवारको उम्मेदवारी नै खारेजीमा परेपछि स्वतः राष्ट्रियसभा पुगेका थिए ।
निर्वाचनको तयारीको लागि गण्डकी प्रदेशको राजधानी पोखरामा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ । निर्वाचनमा गण्डकी प्रदेशसभाका ६० जना सांसदसहित यहाँका पालिका प्रमुखहरु र उपप्रमु्खले मतदान गर्नेछन् । गण्डकीमा एउटा महानगर, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका छन् । यसरी हेर्दा पालिकाहरुबाट ८५ पालिकाबाट १७० जना मतदाता रहने छन् । तीमध्ये एमालेको तर्फबाट विजेता बनेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीइ सहकारी ठगी काण्डपछि फरार छन् ।





