आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कसरी होला इमेज सहकारीको समस्या समाधान ?

कसरी होला इमेज सहकारीको समस्या समाधान ?


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८०, शुक्रबार
फाईल तस्वीर ।

बागलुङ/ तरलता अभाव देखाएर बन्द इमेज बचत तथा ऋण सहकारी खुल्ने अझै सुरसार छैन । सहकारीको संचालकको नाउँमा पक्राउ परेकाहरुले पनि बचतबारे अनविज्ञता देखाएपछि बचतकर्ताको रकम फिर्ता हुनेमा शंका बढेको छ ।

बैसाख ७ गतेदेखि सहकारी बन्द गरेको थियो । त्यसपछि दैनिकजसो बचतकर्ता सडक आन्दोलनमा छन् । पीडितले गण्डकी प्रदेशको सहकारी मन्त्रालय पुगेर आफ्नो रकमको सुरक्षा र तत्काल फिर्ता गर्ने वातावरण बनाइदिन ज्ञापनपत्र बुझाएको सहकारी पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । सहकारीका संस्थापक देवकुमार नेपाली भने फरार छन् । उनी ढोरपाटन नगरका प्रमुख हुन् ।

नेपाली अझै प्रहरीको सूचिमा पनि फरार अभियुक्त हुन् । तर उनको खोजीमा भने प्रहरीको तत्परता नदेखिएको हो । ‘हामीले खोजीरहेका छौं, कतै पाएका छैनौं’ जिल्ला प्रहरीका मुद्दा शाखाका निरिक्षक दिपकबाबु केसीले भने, ‘उजुरी परेका अरु पात्र पक्राउ परिसकेका छन्, उनीहरुकै सहयोगमा नेपालीको पनि खोजी हुन्छ ।’ पीडित भएका १ हजार ५५० जनाले जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दिएका छन् । उनीहरुको १ अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा फक्राउ परेका ५ जना कारागारमा छन् । उनीहरु थुनामा गएपनि अहिलेसम्म इमेजका बचतकर्ताको रकम कता हिनामिना भयो भन्ने खुलेको छैन । मुद्दाकै आधारमा सहकारीका पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन् ।

पक्राउ परेका ५ जनाले सहकारीमा आफ््नो कुनै हात नभएको बताएका छन् । तर उनीहरु सबै संचालक हुन् । ‘हामीलाई जहाँजहाँ सहीछाप लगाउन भनियो, त्यही लगाएका हौं, केही दोष छैन मात्रै भनेका छन्’ जिल्ला अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले भने, ‘मुख्य अभियुक्त पक्राउ नपरेसम्म उनीहरुको भनाइकै आधारमा छाड्न मिल्ने अवस्था छैन ।’ उजुरीको आधारमा सहकारी ठगी मुद्दाका लागि कम्तिमा ७ बर्ष जेल र बिगो बराबर जरिबानाको व्यवस्था रहेको उनले बताए ।

त्यसबाहेक पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने कानूनी प्रावधान छ । गत मंसिर ५ गते नेपालीले सामाजिक संजालमा दिएको अभिव्यक्तिलाई टेकेर पीडितहरुले सहकारीको साधारणसभामार्फत अचल सम्पत्ति बेचेर दामासाही गर्ने वा सहकारीलाई पुन संचालनमा ल्याउने पहल गर्न थालेको बताए । ‘कार्यवहाक अध्यक्षले बोलाएर साधारणसभा गर्ने र पुर्नगठन गरी संचालन गर्ने एउटा बिषयमा छलफल भएको छ’ केसीले भने, ‘अचल सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने अर्को बिषय छ ।’

पीडितको भेलाले जे निर्णय गर्छ सोही काम गर्न सहकारी रजिष्ट्रारको कार्यालय, मन्त्रालय लगायतका कानूनी निकायको खोजी भैरहको उनले बताए । नेपालीले उक्त दिन आफ्नो नाउँमा बागलुङ, पोखरा र काठमाण्डौंमा गरी १८ वटा घर र ४५ कित्ता जग्गा भएको दाबी गरेका थिए ।
केही पीडितले भने घर जग्गा बेचेर नगद फिर्ता गराउनुपर्ने माग गरेका छन् । अब सहकारी चल्छ भनेर कुर्ने बेला नभएको उनीहरुको दाबी छ । ‘हामीले दुःख गरेर कमाएको रकम हो, बचत गरेका हौं, फिर्ता पाउनुपर्छ’ स्थानीय तुलसी गौतमले भने, ‘बचतकै आधारमा हामीले धेरै योजना बनाएका थियौं, तर अहिले बर्बाद भएका छौं ।’ गौतमले ५० लाख रकम बचत गरेको बताए ।

नेपालीले राष्ट्रिय सहकारी बैंकको बागलुङ र पोखरा शाखाबाट गरी झण्डै २२ करोड रुपैयाँ ऋण समेत झिकेको देखिएको बैंकका संचालक रामबहादुर जिसीले बताए । बैंकले उक्त ऋण चुक्ताका लागि बागलुङ, पोखरा र बुर्तिवाङका घरहरु लिलाम गर्ने तयारी गरेको छ । बचतकर्ता र बैंकको गर्दा झण्डै १ अर्ब ८० करोड दायित्व इमेज सहकारीको देखिन्छ । ‘पीडितले सहकारी पुन संचालन गर्ने अबस्था आएमा बैंकको ऋण पनि चुक्ता हुने, पीडितको बचत पनि फिर्ता हुन सक्छ’ जिसीले भने, ‘सबैले कानूनी व्यवस्थाबारे खोजी गरिरहेका छन् ।’ सहकारी पुन संचालनमा आएमा नयाँ नेतृत्वले बैंकको ऋण, पीडितको बचत र कुल सम्पत्ति आफ्नो दायित्वमा ल्याउन सक्ने जिसीको तर्क छ ।

एकाथरी पीडित भने आक्रोसमा छन् । उनीहरुले राज्यको मिलेमतोमा नेपालीलाई पक्राउ नगरिएको गुनासो गरे । गैरशेयर सदस्यमा कारोवार गरेको, शेयरको अनुपातमा बचत बढी गरेको र संचालकले रकम अपचलन गरेको भेटिनुलाई सहकारी क्षेत्रका अगुवाले भने सहकारी ऐन बिपरितको कसुर भएको बताएका छन् । दुइ जिल्ला कार्यक्षेत्र भएकोले इमेज सहकारी स्थानीय तहको मातहतमा थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->