पोखरा / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेसमा महिलाबाट उषादेवी थरुनी र अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यस्तै, बाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता–अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय भएको छ । लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।
यस्तै, कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता-अल्पसङ्ख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। सरकारमा रहेका दलहरुले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेका छन्।
नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन्। माओवादी केन्द्रले मधेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक/एक सिटमा उम्मेदवार उठाउने भएको छ।
पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। त्यसैगरी कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुँदैछ भने एक जनालाई सरकारले मनोनित सिफारिस गर्नेछन्।
राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ।





