बागलुङ /पछिल्लो समय बालिकाको जन्मदर घटीरहेको छ । राष्ट्रिय जनगणना २०७८ को तत्थाांकले पनि यो क्रम देखाउँछ ।
उमेरगत रुपमा समेत १५ देखि १८ बर्षका भन्दा हाल जन्मने बालिकाको संख्या समेत न्युन हुदै गएको हो । १५ देखि १८ बर्ष उमेर समूहमा बालिका धेरै भएकोमा हाल जन्मनेदर बालक बढी भएका हुन् । १५ देखि १८ बर्षका बालक १० हजार ५१ जना रहेकोमा बालिका १० हजार ४ सय ३७ जना छन् । तर १० बर्षदेखि १४ बर्ष उमेर समूहको हेर्दा बालक १२ हजार ९ सय ५२ र बालिका १२ हजार २ सय ६६ छन् । ५ बर्षदेखि ९ बर्ष समूहमा बालक १२ हजार ५ सय ७० हुँदा बालिका भने ११ हजार ३ सय ८७ र जन्मेदेखि ४ बर्ष समूहमा बालक १० हजार ७ सय ५३ र बालिका ९ हजार ४ सय ८० छन् ।
‘यो क्रम बढेर जाने हो भने समाजका लागि घातक परिणाम आउन सक्छ’ राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले भने, ‘बाल संरक्षणको क्षेत्रमा समेत हाम्रो तथ्यांक नाजुक देखिएको छ ।’ बालिकाको जन्मदर घट्दा समाजमा नकारात्मक असर पर्ने उनले बताए ।
गत आर्थिक बर्ष मात्रै बागलुङमा जवरजस्ती करणीबाट २१ बालिका पीडित भएका छन् । जवरजस्ती करणी उद्योगमा ३, अप्राकृतिक मैथुनबाट ३ र बालयौन दुव्र्यवहारबाट २ बालिका गरी २९ पीडित भए । समाजमा हराउनेहरुको संख्या पनि बालिका धेरै देखिन्छन् । गण्डकी प्रदेशको गत आर्थिक बर्षको तथ्यांक अनुसार २ सय ३८ बालक हराएकोमा २ सय २० फेला परे । १८ जना भेटिएका छैनन् । सोही समयमा ४ सय २२ बालिका हराएकोमा ३ सय ९२ भेटिंदा ३० बालिका अझै बेपत्ता छन् । यो क्रमलेपनि बालिकाको संख्या झनझन् घटेको देखिएको हो ।
एक दम्पत्तिले एकमात्र सन्तान पाउने क्रमले जनसंख्यामै असर परिरहेकोमा छोरी जन्मने दर घट्दा समाजको संरचनामै असर पर्ने देखिएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले चिन्ता व्यक्त गरे । ‘समाजमा जुनसुकै घटनाबाट पनि बालबालिका निसानामा पर्ने अवस्था आएको देखियो’ थापाले भने, ‘त्यस्ता घटना न्युनिकरणमा समेत समाजमा अभियान संचालन गर्नुपर्छ ।’
तत्कालै जिल्ला तहमा बौद्धिक र राजनीतिक अगुवाको बहस गर्नुपर्ने उनले आबस्यकता औंल्याए । ‘छोरी वा बालिका बोझ हैनन्, समाजका साझेदार हुन् भन्ने अब हामीले आभास दिन नसके १०– १५ बर्षमा डरलाग्दो अवस्था भोग्छौं’ उनले भने, ‘बालिकाहरुले पनि सुरक्षित जीवन जीउने वातावरण हामीबाटै थालनी गरौं ।’
परिषदको तथ्यांक अनुसार गण्डकी प्रदेशमा गत आर्थिक बर्ष १८ बर्ष मुनिका ३८ बालक र ६२ बालिकाले आत्महत्या गरेको देखिन्छ । ती घटनामा पनि बालबालिका माथी गरिएका अमानबीय व्यवहार भएको हुन सक्ने वाग्लेले बताए । ‘यो क्षेत्रको विश्लेषण त भएको छैन, तर अधिकांसले कुनै न कुनै पीडामा परेपछि मात्र आत्महत्या गरेका छन्’ उनले भने, ‘केही बालबालिका भने दुव्र्यसनीमा फसेपछि यस्ता घटनामा पुगेको देखिन्छ ।’





