आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशंकामा गस्ती बढाइयो

पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशंकामा गस्ती बढाइयो


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८०, शुक्रबार

पोखरा/पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा देखिएका छन । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको शालिक छ ।
सोही शालिकमा केही महिना अगाडि विवाद समेत भएको थियो । उक्त विवाद दोहोरिने आशंकामा सुरक्षा निकायले निरिक्षकको कमाण्डमा नै टोली खटाएका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पृथ्वीचोकमा खटिएको छ ।

बिहीबार पृथ्वीनारायण शाहको जन्मजयन्ती हो । जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यक्रम नै आयोजना गरेको छ भने राष्ट्र गौरव अभियान नामक संस्थाले पनि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रमलाई विभिन्न १० वटा जातीय तथा संस्थाले पनि साथ दिएका छन । कार्यक्रमकै लागि भनेर राप्रपाका नेता रविन्द्र मिश्र पनि पोखरा आइपुगेका छन ।
पछिल्लो समय शान्त बनेतापनि पृथ्वीजयन्तीको अवसरमा फेरि शालिक विवाद आउन सक्ने आशंका गरेर नै सुरक्षा निकाय अलर्टमा बसेका हुन । रातको समयमा पृथ्वीनारायण शाहको प्रतिमा राख्छन् कि भन्ने आशंकापनि सुरक्षा निकायमा छ ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले भने, ‘प्रतिमा राख्ने नै भन्ने सूचना त छैन, तर हुन सक्छ भन्ने हिसाबले अलर्टमा छौँ । प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाएका छौँ ।’
राप्रपाले स्थानीयसँग मिलेर गत पुस ८ गते मध्यरातमा पोखरा १० स्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्रको शालिक स्थापना गरेको थियो । ८ फिटको यो शालिक ठड्याइएको विषय भोलिपल्ट मात्र थाहा पाएका थिए । वीरेन्द्रचोकको जस्तै घटना दोहोरिन्छ कि भन्ने आशंकामा पनि सुरक्षाकर्मीको गस्ती खटाइएको हो ।

८ गते राखिएको शालिकमा १४ गते वीरेन्द्रको जन्मजयन्तीको अवसरमा माल्र्यापण गरिएको थियो ।स्थानीयकै पहलमा उक्त शालिक राखिएतापनि पृथ्वीचोकको विषय भने पेचिलो छ । यहाँको शालिक विवादमा साम्प्रादायिक देखि राजनीतिक रंगहरु भेटिन्छन । त्यसकारण पनि सुरक्षा निकायले पृथ्वीचोकलाई विशेष चासो दिएको हो ।

विवाद चर्किने डर

पोखरामा चर्किएको ‘शालिक विवाद’ केही समय देखि शान्त छ । पृथ्वीचोकमा रहेको लखन थापाको शालिकमुनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गतवर्ष पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।
तर, गएको साउन २४ गते २९ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसमा सहभागीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राखेको पृथ्वीनारायण शाहको प्रतिमा फालिदिए ।
यही घटनापछि पोखरामा चर्किएको शालिक विवाद केही समय चलिरह्यो । राप्रपाले पुनः राखेको प्रतिमा महानगरपालिकानै हटाइदिएपछि आन्दोलन झनै चर्किने संकेत देखिएको थियो ।
तर, २६ साउनमा मेयर धनराज आचार्यले सर्वदलीय बैठक बोलाए । उक्त बैठकमा सडकमा रहेका शालिकहरू एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने सहमति जुट्यो ।
त्यसपछि शालिक विवाद केही शान्त बन्यो । तर, एक महिनासम्म पनि शालिक व्यवस्थापनको निर्णय कागजमै सीमित रहन पुग्यो ।शालिक हटाउने विषयमा पछिल्लो समयमा मेयर आचार्यले नेपाली कांग्रेसको साथ पाएका छैनन ।

पुस १४ गते मेयर आचार्यले सर्वदलीय बैठक डाकेर विभिन्न ६ वटा एजेण्डामा दलहरुको साथ खोजेका थिए । तीमध्ये एउटा थियो, ‘शालिक व्यवस्थापन । ’
तर, यो एजेण्डामा मेयर आचार्यले प्रमुख दल कांग्रेसको साथ पाएनन ।लिखित रुपमा सुझाव पेश गर्दै कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले महानगरपालिकाले शालिकलाई कलात्मक र जीवन्त बनाउनुको सट्टा स्थानान्तरण गर्न खोजेको बताएका थिए ।

शालिक भनेको कला र इतिहासको सुन्दर संयोजन भएको र कुनै पनि सहरका चोकहरुमा शालिकहरु राखिने प्रचलन संसारका सवै विकसित र समृद्ध देशहरुमा समेत हुने भएकोले चोकमा राखिएका शालिक हटाउन नहुने उनको तर्क थियो ।

‘हामीले हाम्रा सहरका चोकहरुमा शालिकको नाममा कलाविहिन मूर्तिहरु राखेका छौ । हामीले शालिकको महत्व र गरिमालाई झल्काउन सक्ने गरी शालिकको स्थापना गर्नै सकेका छैनौँ । यसलाई डरलाग्दो गरी भद्धा वनाएका छौँ,’ बरालले भने, ‘यसैले सहरका चोकहरुमा राखिएका शालिकहरुलाई कलात्मक र जीवन्त वनाउनका लागि प्रयास गर्नु भन्दा शालिकको स्थानान्तरण गर्न सजिलो हुने भएकोले महानगरपालिकाले शालिक स्थानान्तरणको सजिलो बाटो खोजेको जस्तो देखिन्छ ।’राजमार्ग विस्तारका लागि शालिकले अवरोध गरेको भन्ने तर्कमा पनि उनले असहमति जनाएका थिए । बाटो जति चौडा बनाएतापनि शालिकको आकारलाई सानो र कलात्मक बनाएर सहरको आकर्षण बढाउन सकिने धारणा उनले राखेका थिए ।त्यतिमात्र होइन शालिकको व्यवस्थापन र कलात्मक बनाउन पार्टीले जिम्मेवारी लिने धारणा बरालले राखेका थिए ।‘बाटोको आवतजावतमा असजिलो नहुने गरी आफूले वनाएका शालिकहरु राख्न र यसरी राखिने शालिकलाई कलात्मक र जीवन्त बनाउनका लागि नेपाली कांग्रेसले जिम्मा लिन्छ,’ बरालले बैठकमा भनेका थिए ।

कांग्रेसबाहेक राप्रपाले चोकमा शालिक राख्दैमा यातायातलाई असर नपर्ने बताएको थियो ।
सर्वदलीय बैठकमा नै सबैको साथ नपाएतापनि मेयर आचार्यले भने राजमार्ग विस्तारका लागि मुख्य चोकको शालिक व्यवस्थापन अत्यावश्यक रहेको बताएका थिए ।तर, दलदेखि विभिन्न समुदायहरुको विरोधका बिच शालिक व्यवस्थापनको कार्य भने झनै पेचिलो बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->