पोखरा /राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखेरै छोड्ने घोषणा गरेको छ । शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोजविजय कोइरालाले लखन थापाको शालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राख्ने घोषणा गरेका हुन् ।
उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०/५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो शालिक कहीँ हुने छैन ।’
अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ, इतिहासविद हरिप्रसाद सोडारीलगायतले बोलेका थिए ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीचोकमा जनताको भावना रहेकाले लखन थापाको शालिक लामो समय रहन नसक्ने बताए । ‘बीचमा शहीद लखन थापाको शालिक छ । आसपास बजारका पसलको ब्यानरमा पृथ्वीचोक लेखिएको छ,’ उनले थपे, ‘जनताको भावना पृथ्वीचोकमा छ, लखनचोक कहिलेसम्म रहला ? जबर्जस्ती शालिक राखेर, जबर्जस्ती शासन गरेर हुँदैन ।’
राजनीतिक विश्लेषक सौरभले शहीद लखन थापाभन्दा नेपाल एकीकरण गरेर ठूलो योगदान पृथ्वीनारायण शाहको रहेको दाबी गरे । ‘लखन थापालाई सम्मान गर्नुपर्छ । निरंकुश संस्कारविरुद्ध लड्ने जनजातिको छोरा शहीद भयो,’ उनले थपे, ‘लखन थापाभन्दा पृथ्वीनारायण शाहको योगदान ठूलो छ । राज्य एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई जातिको हिसाबले हामी किन हेर्छौं ?’
इतिहासविद् हरिप्रसाद सोडारीले सालिक निर्माणले मात्र केही नहुने भएकाले शालिक वरपर दिव्यज्ञान राख्न सुझाव दिए ।





