पोखरा/ फेवातालको किनारमै बस्ने रवाफिला डिठ्ठा भक्तबहादुर भट्टराई पोखराको हुनेखानेमै गनिन्थे । फेरीफेरी घोडा चढ्थे, सिकार खेल्थे । अहिलेको पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदामको ‘लेकसाइड’ न्वारान गरिएकै थिएन । कोदोबारी रहेको बैदाम क्षेत्रमा ढुकुरहरु प्रसस्त पाइन्थे । सिकार खेल्नेलाई त्यो नै काफी थियो ! डहर नै डहर ( गल्ली) र खरका छाना भएका घरहरु भएको बैदाममा बिस्तारै ‘अनौठा मान्छे’ आउन थाले । उनीहरु तिनै थिए–जो दोस्रो विश्वयुद्धपछि विद्रोही बनेका थिए ! उनीहरु तिनै थिए–जो अमेरिका–भियतनाम युद्धको विरोधी थिए ! अर्थात्,उनीहरु हिप्पी थिए । अमेरिका–फ्रान्स–इटली हुँदै उनीहरु पोखरा आइपुगेका हुन्थे । अफगानिस्तान हुँदै करिब ९ हजार किलोमिटरको सडक यात्रापछि भारत र त्यसपछि पोखरा आइपुगेका उनीहरु मस्तसँग गाँजा तान्थे । फेवातालको कञ्चन पानीमा निर्वस्त्र नुहाउँथे । गाँजाकै तालमा बैदाममा डहर र फेवा किनारमा बरालिन्थे । केही रैथाने युवाहरु ती अनौठा ‘गोरा’सँग लहसिन थालिसकेका थिए । अर्थात् फेवा किनारको बैदाम लेकसाइडमा रुपान्तरण हुन थालिसकेको थियो ।
यो त्यो बेला अर्थात् इस्वी संवत् १९६० ताकाको कुरा हो ।
पुरानै संस्कार बोेकेका डिठ्ठा भक्तबहादुरलाई ती परिवर्तनले छुने कुरै थिएन तर उनका पढेलेखेका छोराहरु भने यी गतिविधिबाट अनभिज्ञ थिएनन् । डिठ्ठाका ५ भाइ छोरामध्ये साहिँला योगेन्द्रबहादुर यसै पनि फरक स्वभावका थिए । लैनचौर हाइस्कूल पढेका र २०१४ सालमा बनारसबाट एसएलसी छिचोलेका योगेन्द्र पढ्न चाहन्थे। पृथ्वीनारायण क्याम्पसको पहिलो ब्याचमा आइए भर्ना भए । तर,उनी नियमित भएनन् । बनारसमै गएर प्राइभेटतर्फ आइएको फाराम पनि भरे तर जाँच दिने अवसर जुरेन । हाल यस संसारमा नरहेका योगेन्द्रले अमेरिका रहेका छोरा महेशलाई लेखेको चिठीमा भनेका छन्,‘बुबालाई आर्थिक मद्धत गर्नुपर्ने स्थिति थियो ।’
२०२२ सालतिर उनी घरबाट निस्के । अम्बोट ( हालको लेकसाइड बसुन्धरा पार्कमाथि, हिमागृह अगाडि ) दुई कोठाको घर बनाएर एक्लै बस्न थाले ।
‘खाना खान बिहान माथि घरमै जान्थेँ, लालटिन बालेर बस्थेँ,’उनले त्यो बेला सम्झँदै पत्रमा लेखेका छन् ।लालटिन बालेर फेवा किनारमा बस्ने उनै योगेन्द्रबहादुरको दुईकोठे घर एकाएक भरियो । भएछ के भने, चैत–वैशाखको एक दिन ठूलो असिना–पानी परेपछि तल बसुन्धरापार्कमा ‘पाल’ टाँगेर बसेका फिरङ्गी’हरु समस्यामा परेछन् । उनीहरु दौडेर योेगेन्द्रको घर (धन्सार)मा ओत लाग्न आइप्ुगेछन् । फिरङ्गीहरुले त्यो रात त्यही गुजारे । निस्केर जानेबेला उनीहरुले योगेन्द्रलाई धन्यवादसहित केही ‘डलर’ पनि छाडिदिएछन् ।
योगेन्द्रको मनमा लालटिनको हैन, बिजुलीको उज्यालौ चम्क्यो ! उनले पर्यटकलाई आतिथ्यता पस्कनु पनि व्यवसाय हुनसक्छ भन्ने मनमनै गमे र होटल लेकसाइड जन्माए ।
जहाज दुर्घटनामा ज्यान गुमाएका योगेन्द्रको स्मृतिमा प्रकाशित ग्रन्थमा स्वर्गीय चेतन कार्कीले लेखेका छन्,‘बजारमा आवासको लागि होटल थिएनन्,एयरपोर्टमा कैसाङको तिब्बती रेष्टुराँ थियो । पछि बसन्त गौचनले ‘ई’ शेपको भुँइतले पाँच सात कोठा भएको अन्नपूर्ण होटल खोल्नुभयो । उता फेवाताल छेउ योगेन्द्र भट्टराईज्यूको रेष्टुराँ र कटेज खुलेपछि एक–एक गरेर सम्पूर्ण बैदाम र ड्यामसाइडमा होटल,लजहरु,क्यूरियो र बुकसपहरु,रेष्टुराँ र बारहरु खुल्दै गए ।’
योगेन्द्रले दुई कोठाबाट जन्माएको त्यही होटल २०२६ सालमा विधिवत् रुपमा ‘होटल लेकसाइड’ को रुपमा स्थापित भएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीको भनाइ छ । योगेन्द्रले आफूले जन्माएको होटलमा हरेक वर्ष कोठा थप्दै लगेको पनि उनले स्मरण गरे । पछि होटल लेकसाइडसँगै होटल लेक भ्यू पनि जन्मियो । त्यसो त, पोखरामै पहिलो दर्ता भएको होटल भने हरिध्वज तुलाचनले ड्यामसाइडमा स्थापना गरेको ‘होटल ड्रागन’ थियो ।
योगेन्द्रबहादुरले आफूकहाँ आउने पाहुनालाई एकरात सुतेबापत् कति शुल्क लगाउँथे ? प्रश्नात्मक नबनौं । सत्य के हो भने,त्यो बेला पोखरामा ह्वार्रह्वार्ती आउने पर्यटकहरुलाई बास पु¥याउनै हम्मे पथ्र्यो । भनेजस्तो ओढ्ने–ओच्छ्याउने थिएनन् । रैथानेहरुले पुराना घरलाई होटल बनाउँदा परालको डसना बनाएर त्यहीमाथि पर्यटकलाई सुताउने गरेको अहिले यो धर्तीमा नरहेका कालीबहादुर अधिकारी बताउँथे ।
हिप्पी युग सकिएको छ । युरोपबाट अफगानिस्तान हुँदै स्थलमार्गबाट गरिने यात्रा लगभग सकिएको छ । तर,अहिले पोखरामा पर्यटकलाई लक्षित गरी पोखरामा मात्रै करिब ७ सयवटा होटल बनेका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार ४२५ वटा पर्यटकीय होटल त संघमै आवद्ध छन् । त्यसबाहेक वरपर ५ सय होटल रहेको उनको भनाइ छ ।
‘हरेक दिन ४० हजार पर्यटकलाईलाई आतिथ्यता प्रदान गर्ने पोखरामा ५ तारेदेखि सामान्य गेष्ट हाउसम्म रहेका छन्,’उनले भने,‘यहाँको होटलमा मात्र ५ खर्ब रुपैयाँ लगानी भएको छ । यहाँ आफ्नो हैसियत अनुसार एक रातको एक हजारदेखि एक लाखसम्म पर्ने कोठाहरु रहेका छन् ।’
उनका अनुसार हिजो परालका डसनाबाट सुरु भएको आतिथ्यता अहिले ‘सुपर डिलक्स’ मा पुगेको छ । उनको भनाइ मान्ने हो भने, पोखरा आउने पर्यटकले हैसियत अनुसार एक हजार रुपैयाँदेखि एक लाखसम्मको कोठा रोज्न पाउने भएको छ । होटल एडम्स संचालन गर्दै आएका अगुवा पर्यटन व्यवसायी बासु त्रिपाठी आतिथ्यताको क्षेत्रमा आएको यो बदलावलाई गुणस्तरीय पर्यटक भित्र्याउन निजी क्षेत्रले गरेको प्रयासको रुपमा अथ्र्याउँछन् ।
‘पर्यटकलाई क्वालिटी सर्भिस दिने हो, सेवा थप्दै जाने हो,पोखराले त्यही गरिरहेको छ,’उनले भने,‘ होटल र रिसोर्ट भनेका फरक प्रकृतिका सेवा दिने आवास हुन् । रिसोर्टहरुमा आरामदायी सेवा प्रदान गरिन्छ र पोखरामा बनेका रिसोर्टहरु अहिले विश्वस्तरका छन् ।’
त्यसो त,सन् १९६० को दशकमै फेवाको पल्लो पाखोमा राजपरिवारको लगानीमा फिस्टेल लज निर्माण गरिएको थियो । तर, फिस्टेल नै पोखराको सवैभन्दा पहिलो रिसोर्ट हो, जसले विश्वका मै हुँ भन्नेलाई आतिथ्यता प्रदान गरेको छ । कतिसम्म भने,राजा महेन्द्रले भारतीय चर्चित अभिनेता देव आनन्द ( देवानन्द)लाई ‘हरेराम हरेकृष्णको स्क्रिप्ट लेख्नको लागि फिस्टेल लज जान सुझाएका थिए । देवाननले फिस्टेलमै बसेर तयार पारेको ‘हरेराम हरेकृष्ण’ सन् १९७१ मा रिलिज भएको थियो । हिप्पीहरुको कथामा आधकारित सो सिनेमा भारतको सर्वाधिक रुचाइएकोमध्ये एक हो । जसका गीत आज पनि उत्तिकै चर्चित छन् ।
त्रिपाठीका अनुसार अहिले भने यहाँ पाँचतारे पोखरा ग्राण्डदेखि स्तरीय सेवा दिने होटल सारा,बेगनास रिसोर्ट, बाराही लज,माउण्ट कैलाश, दोर्जेज रिसोर्ट,रुपाकोट रिसोर्ट, होटल क्राउन हिमालयाज,टेम्पल ट्रीलगायका कयौं होटलहरुले आफ्ना डिलक्स कोठा र सेवाहरु एक लाख रुपैयाँसम्म बेचिरहेका छन् ।
पोखराको सेदीमा संचालनमा ल्याइएको दोर्जेज रिसोर्टको कुरा गर्ने हो भने, यो एउटान मौलिक नेपाली गाउँजस्तो छ । जहाँ सवैजसो घरहरु नेपालीपनमा छन् भने कोठा–चोटाहरु चाक्ला छन् । आधुनिकताको फ्युजन गरिएका ती कोठा वातानुकूलितमात्र छैनन्, सबैखाले सुविधाले लैस छन् । हरेक कोठाको झ्यालबाट चियाउँदा फेवाताल देखिनु रिसोर्टको विशेषता हो । दोर्जेका अनुसार रिर्सोटमा जिमखाना, बैठक हल, स्वीमिङ पुल, स्पा, ज्याकुजीलगायत सबैखाले सुविधाहरु उपलब्ध छन् । एक रात सुतेको एक लाख रुपैयाँसम्म लाग्ने ‘स्वीट रुम’ घरभन्दा पनि सुन्दर, शान्त अनि अनेकौं स्ुविधासहितको भएको संचालन दोर्ज लामाको दाबी छ । दोर्जे रिसोर्टले हाल आफ्नो स्वीट रुमको मूल्य प्रतिरात ४ सय अमेरिकी डलर तोकेको छ । पछि प्रति रात एक लाख नै लिने दोर्जेको योजना छ ।





