पर्वत/ आजभोलिको हाम्रो भान्सामा पुराना रैथाने बाली र उत्पादनहरूको प्रयोग निकै कम हुने गरेको छ । कुनै बेला कोदोकै ढिँडोको भरमा पेट पालिएको बताउने अहिलेको पाको पुस्ता नै चामलमा निर्भर छ । ढिँडोको ठाउँ भातले लिएको छ ।
गाउँघरका खेतबारीका कान्ला र खोल्साखोल्सीमा पाइने परम्परागत तरकारीलाई पनि आयातित तरकारीले नै विस्थापित गरेको छ । कुनै बेला गाउँको उत्पादन बिक्रीका लागि बजार झार्ने गरिएकोमा अहिले गाउँका मान्छे बजार आउँदा तरकारी किनेर गाउँ लैजान्छन् ।
मानव शरीरका लागि आवश्यक विभिन्न पदार्थले भरिपूर्ण परम्परागत र रैथाने बालीको सट्टामा आयातित र विषादीको प्रयोग गरिएका खाद्यान्नको उपभोगको मानिसको स्वास्थ्य नै जोखिममा पर्दै गाएको छ । बर्सौँ पहिलेका व्यक्तिले गर्न सक्ने काम र सहन सक्ने क्षमता अहिलेका व्यक्तिमा नहुनुको कारण पनि आधुनिक र सोखिन जीवनशैली भएको यससँग सरोकार राख्नेहरू बताउँछन् ।
अव अवस्थालाई परिवर्तन गर्दै हरेक व्यक्तिले आहारको शैली फेर्ने सन्देश दिनका लागि कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले भने कार्यालयमा नै रैथाने बालीका परिकारहरू बनाएर जिल्लामा रहेका कार्यालय प्रमुखहरूलाई खुवाएको छ । परम्परागत रैथाने बाली लोप हुँदै गएको र त्यसका उपभोक्ता पनि घट्दै गएपछि मानिसको स्वास्थ्य र रैथाने बाली संरक्षणको अभियानका लागि बर्सौँ पहिलेदेखि भान्सामा पाक्दै आएका बालीको परिकारहरू तयार गरेर खुवाइएको हो ।
कोदो, फापर, कागुनो तरुल, सखरखण्ड, पिँडालु, लप्सी, अमला, सिमी, चिनो, लट्टे, स्थानीय जातको मकै, जौलगायतका बालीबाट कार्यालयमा नै परिकारहरू तयार परेर जिल्लामा रहेका कार्यालय प्रमुखहरूलाई खुवाएर यसको प्रयोगमा प्रोत्साहन गरिएको कार्यालय प्रमुख परशुराम अधिकारी बताउँछन् । ‘हामीले हाम्रा परम्परागत खाद्यबालीहरुलाई बिर्सिँदै गएका छौँ । हाम्रा भान्सामा पाक्ने रैथाने परिकार हराए, अहिले बाहिरबाट खरिद गरेर ल्याएका बालीहरू मात्रै पाक्छन् । यसले हाम्रो धन नाश गरेको छ भने स्वास्थ्य पनि कमजोर बनाएको छ’, उनले भने, ‘अबको पुस्तालाई रैथाने बालीको उपभोगको बारेमा सन्देश दिनु आवश्यक छ । शरीरलाई चाहिने हरेक प्रकारको तत्त्व रहेका बाली छाडेर विषादी छर्किएका कुराहरू किन खाने ?’
रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले यिनको संरक्षण हुनुपर्ने कार्यालयले बताउँदै आएको छ ।





