बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा मकै र मकैको बीउ उत्पादन बढाउन ६६ लाख लगानी गर्दै कृषि ज्ञान केन्द्र

पर्वतमा मकै र मकैको बीउ उत्पादन बढाउन ६६ लाख लगानी गर्दै कृषि ज्ञान केन्द्र


  • संजय रेग्मी
  • माघ १३ २०८०, शनिबार

पर्वत/ कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले मकै र मकैको बीउ उत्पादनको लागि विभिन्न कार्यक्रमहरूमार्फत् ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ का वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लामा रहेको कृषि फर्म, कृषक समूह तथा कृषि सहकारी संस्था लगायतलाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजनाका लागि प्राप्त भएको ६६ लाखलाई विभिन्न चारवटा कार्यक्रमहरूमा विभाजन गरेर लगानी गरिने अधिकारीको भनाइ छ ।

मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३० हेक्टर क्षेत्रफलमा मकै खेतीका लागि ३० लाख, बीज वृद्धि कार्यक्रम अन्तर्गत २० हेक्टर क्षेत्रफलमा खेती गर्नका लागि २० लाख, यान्त्रीकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रमअन्तर्गत एक पटकका लागि १० लाख र मकैको उत्पादनोपरान्त व्यवस्थापन बजारीकरण तथा मूल्य अभिवृद्धि सहयोग कार्यक्रम अन्तर्गत एक पटकका लागि ६ लाख रुपैयाँ लगानी हुँदैछ ।

यी कार्यक्रमहरूमा अनुदान दिँदा मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड, २०७९ अनुसार बीउमा बढीमा ७५ प्रतिशत तथा सिँचाइ लगायतका पूर्वाधार निर्माणमा बढीमा ९० प्रतिशत तथा यान्त्रीकरणतर्फ बढीमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । यस्तै बजारीकरणतर्फ बढीमा ५० प्रतिशतसम्म मात्रै अनुदान दिन सकिने कार्यालयले बताएको छ ।

मकै बालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रममा कम्तीमा पनि १० घर परिवार संलग्न समूह वा सहकारीमार्फत कम्तीमा एक सय रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने भनिएको छ । यस्तै बीज वृद्धि कार्यक्रममा सहभागी हुनको लागि कम्तीमा १० घर परिवार संलग्न समूह वा सहकारीमार्फत् कम्तीमा पनि २० रोपनी क्षेत्रफलमा बीउ उत्पादन गर्नुपर्ने, यान्त्रीकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रममा सहभागी हुनको लागि मकैको क्षेत्रफल विस्तार तथा बीज वृद्धि गर्ने कृषि समूह वा सहकारीका लागि बजेट दिइने कार्यालय प्रमुख अधिकारीले बताए ।

मकैको उत्पादनोपरान्त व्यवस्थापन र बजारीकरण तथा मूल्य अभिवृद्धि सहयोग कार्यक्रममा पनि कृषि, फर्म, कृषि सहकारी, कम्पनी, समूहमार्फत आवेदन दिन सकिने छ । एकै प्रकृतिको कार्यक्रमको लागि अघिल्ला दुई आर्थिक वर्षमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे नगरेको हुनुपर्ने, सम्बन्धित स्थानीय तह र वडा कार्यालय वा कृषि शाखाले कार्यक्रमको दोहोरोपन नभएको तथा नहुने प्रमाणित गर्नुपर्ने छ ।

मकैका लागि तोकिएको कार्यक्रमहरू प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि, २०७७ र मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन आयोजना कार्यान्वयन मापदण्ड, २०७९ मा भएका व्यवस्था अनुसार सञ्चालन हुने कार्यालयले बताएको छ । निर्धारित कार्यक्रमहरूमा सहभागी हुन इच्छुक कृषक, फर्म वा कृषि सहकारी लगायतले यही माघको १७ गतेभित्रमा आवेदन गरेको हुनुपर्ने कार्यालय प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->