बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अलपेश्वर गुफा प्रवद्र्धनको लागि महायज्ञ

अलपेश्वर गुफा प्रवद्र्धनको लागि महायज्ञ


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८०, बुधबार

पर्वत/ पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल अलपेश्वर गुफाको विकास र प्रवद्र्धनका लागि मंगलबारदेखि श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञानमहायज्ञ सुरु हुँदैछ ।

पण्डित चन्द्रकान्त पौडेल प्रमुख कथावाचकको रूपमा रहने ज्ञानमहायज्ञ कुश्मा नगरपालिका–९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा परिसरमा माघ २९ गतेसम्म सञ्चालन हुनेछ । अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्र एवं मूल आयोजक समितिका अनुसार महायज्ञको पहिलो दिन माघ २२ गते बिहान पूर्वाङ्ग एवं कर्ताहरूका दिवंगत पितृहरूको फोटो कलश स्थापना, तोरण समर्पण एवं ध्वाजारोहणको कार्यक्रम रहेको छ । माघ २३ गते पूजा हवन, कलश शोभा यात्रा परिक्रमा, भजन कीर्तन, दीप प्रज्वलन र उद्घाटनको कार्यक्रम रहेको छ ।

मङ्गलवार नै झाँकीसहित श्रीमदभागवत कथा वाचन तथा दानवीरहरूको सम्मान कार्यक्रम छ । माघ २४ गतेदेखि २९ गतेसम्म हरेक दिन बिहान सातदेखि आठ बजेसम्म रुद्राभिषेक, नित्य हवन पूजा, साढे १२ बजेसम्म पाठ पारायण, चार बजेसम्म सङ्गीतमय झाँकी, कथा प्रवचन र आरती, साँझ छ बजेदेखि राती नौ बजेसम्म कथा वाचन र भजन कीर्तनको कार्यक्रम रहेको छ । माघ २९ गते लक्ष्यवर्ती प्रज्वलन र रातीमा भजन कीर्तन, फागुन एक गते बिहान गङ्गाजीमा फूलपाती विसर्जन तथा क्षमापूजाको कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक केशवदास वैरागीले बताए । गुफाको आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै गएपछि महायज्ञमार्फत् विकास गर्न थालिएको हो ।

झन्डै डेढ दशक पहिले मात्र फेला परेको यो गुफा अलौकिक भए पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन । सुरुवातका केही वर्ष आन्तरिक तथा बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अलपेश्वर गुफा पर्यटकविहीन बनेको छ । एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अलपेश्वर गुफा पहिलो रोजाइ बन्ने सम्भावना भएकाले अलपेश्वर गुफा संरक्षण तथा पर्यटकीय केन्द्रले यही माघ २३ गतेदेखि २९ गते सम्म महायज्ञ गर्न थालेको हो । तीन तलाको यो गुफाको मुख्य प्रवेशद्वार कटुवाचौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ । गुफाभित्र रहेका ताल तलैया र स–साना झरना समेत रहेको गुफामा जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहन्छ । गुफाभित्र बनेका आकृतिमा महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति देख्न सकिन्छ ।

सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अलपेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान नपुगेपछि महायज्ञ मार्फत आर्थिक सङ्कलन गरेर प्रवर्द्धनको प्रयास गरिएको हो ।

विभिन्न जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम लगायत आन्तरिक र बाह्य पर्यटक नजिकै रहेको सदरमुकाम कुश्माका अग्ला पुल, बञ्जिजम्प र जीपलाईन जस्ता क्षेत्रमा भरिभराउ हुने गरे पनि नजिकै रहेको यो गुफासम्म पुग्न सकेका छैनन् । समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरे देउरालीको लेक लगायतका स्थानहरू देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->