बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८०, सोमबार

पोखरा/ साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् ।
मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले सो पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए ।

प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्तको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए ।
प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै शेरचनको परिचयसमेत दिएका थिए । शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ ।

उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) गरी २ कविता सङ्ग्रह, तेस्रो रङ (कथा सङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो… बोलको लोकप्रिय गीतकी रचनाकार शेरचनका अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन र आकाश छुने रहर गरी ५ साङ्गीतिक एल्बम बजारमा आएका थिए । २०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छन् ।

कार्यक्रममा बोल्दै शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने गरेको अनुभव सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->