बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन


  • ढोरपाटन संवाददाता
  • माघ २९ २०८०, सोमबार

पोखरा/ साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ ।
आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए ।

कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ ओटा लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे । अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ थियो ।

कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराए जस्तै भएको धारणा राखे । भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन ।’ २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए । यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्वअध्यक्ष उनी लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन् ।

साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिनालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->