पोखरा/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नीतिको प्रश्नमा नभई नेतृत्वको प्रश्नमा बढी चिन्तित हुँदा समस्या आइरहेको बताएका छन् । एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै जिल्लाको अधिवेशन जिल्लाको विकासका लागि नभई नेतृत्वका लागि मात्रै हुने गरेको उनको भनाई छ । जिल्ला अधिवेशन भन्ने वित्तिकै विगतका कामको समिक्षा र आगामी योजनाका लागि सक्षम नेतृत्व निर्माण गर्ने काम रहेपनि नीतिको प्रश्नमा कम र नेतृत्वमा बढी चिन्तीत देखिदाँ आउने नेतृत्वले प्रभावकारी काम गर्न नसकेको पोखरेलको भनाई छ । एमालेले पार्टी अधिवेशन र पार्टी नेतृत्वको निर्वाचनको सन्दर्भका बारेमा केन्द्रिय तहमा एकै समयमा दुवै काम सम्पादन गर्दा नीतिको प्रश्नमा ध्यान पुग्न नसपकेपछि नीतिका लागि अलग र नेतृत्वको लागि अलग अधिवेशनको अभ्यास सुरु गरेको छ ।
‘प्रदेश र जिल्लाको हकमा हामीले अहिलेपनि एकै समयमा दुवै कामहरु गर्दै आइरहेका छौं । जिल्लाको अधिवेनशनहरुमा पनि नीतिको प्रश्नमा समिक्षाको प्रश्नमा, भविष्यको कार्ययोजनाको प्रश्नमा प्रतिनिधिहरुको ध्यान कम जाने र नेतृत्वको प्रश्नमा ज्यादा चिन्तित हुने र त्यसैले समग्र अधिवेशनलाई प्रभावित गर्ने खालको स्थिति बन्ने गरेको छ’ उनले भने, ‘जसलाई नेता बनाएपनि हामीले आफ्नो कामको समिक्षा गर्दैनौ र त्यसका आधारमा भविष्यको राम्रो कार्ययोजना तर्जुमा गर्न सक्दैन भने जतिसुकै योग्य नेतृत्व चुनेपनि त्यसले गर्ने काम चाँहि प्रभावकारी नहुन सक्छ ।’
अधिवेशनले जिल्लाको समग्र विकासको खाका तयार गर्ने र त्यो तयार गर्ने कुरामा जिल्ला अधिवेशन केन्द्रित हुन सके स्वभाविक रुपमा नयाँ नेतृत्वले त्यलाई प्रभावकारी ढंगले सम्पादन गर्ने सामथ्र्य राख्ने उनको भनाई छ ।
पछिल्लो राजनीतिको चर्चा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालको विवादको बिषयमा पनि आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताए । एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै यो कुनै वामपन्थी गठबन्धन पनि नभएको बताए ।
उनले भने, पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा हामीले गठबन्धन भत्काउने तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं। हामीले कांग्रेसका नेताहरुलाई भनि भनेका थियौं तपाईंहरु तयार हुनुस् हामी साथ दिन तयार छौं। हामीले माओवादीलाई पनि भनेका थियौं। कांग्रेस तयार भएन। माओवादी भयो। हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं तर उहाँ पुरानै गठबन्धन फर्किनुभएको थियो। हामी सरकारबाट बाहिरिएर तपाईंले गलत गर्नुभयो भनेर त्यसैले भनेका थियौं । उनले अहिले एउटा बिन्दुमा आइपुग्दा प्रचण्डले फेरि महशुस गरेपछि सहकार्य सुरु भएको बताए । उनले भने, देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा पुग्नुभयो। उहाँले नेकपाकालको विवादको बिषयमा पनि आत्मलोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं । यो कुनै वामपन्थी गठबन्धन पनि होइन । अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन ८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए । उनले एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि प्रष्ट पारे ।
पार्टी स्थाई कमिटी सदस्य तथा कास्की इन्जार्ज थममाया थापाले कास्की कम्युनिष्ट उत्पादन गर्ने जिल्ला रहेको सुनाउँदै कास्कीमा हुने पार्टीका हरेक गतिविधिले सिंगो प्रदेशलाई प्रभावपार्ने बताइन । उनले अधिवेशनले सकरात्मक सन्देश दिनुपर्नेमा जोड दिइन् । मिसन ०८४ लाई पुरा गर्ने हिसाबले एक मन एक साथ नेतृत्व चयन गर्न अनुरोध गरिन् ।
पार्टी सचिव पद्मा अर्याल अधिवेशनसँग जोडेर धेरै चर्चा भइसकेको र जिल्ला अधिवेशनलाई केन्द्रले समेत नियालेको उनले सुनाइन् । असल अभ्यासको सुरुवात गर्ने सन्देश दिन आग्रह गरिन् । निर्वाचनका प्रतिस्पर्धा पार्टीको जिम्मेवारी कस्ले लिने भन्ने मात्र रहेको र पार्टीभित्रको प्रतिस्पर्धा खगराज अधिकारीले नेतृत्व पाइन भन्ने सोच आउने र त्यसले गर्दा सर्वसम्म हुन नसक्ने आशय व्यक्त गरे ।
‘कमरेडहरु कहिले काँहि हुन्छ नेतृत्व निर्माण गर्ने क्रममा सोचे जस्तो नहुन सक्छ, मैले पाइन भन्ने पनि हुन सक्छ । तर, सकिन्छ भने हामी यता बस्नेले भन्दा तपाईँहरुले नै नेतृत्व सर्वसम्म बनाउन सक्नुहुनेछ ।’ उनले भने । बाकीँ कुरा बन्दसत्रमा भन्ने भन्दै उनले फुट र गुट नगर्न भने ।





