बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा वृद्व दम्पती मृत भेटिएपछि प्रदेश प्रहरीको विज्ञ टोलीले अनुसन्धान थाल्यो

पर्वतमा वृद्व दम्पती मृत भेटिएपछि प्रदेश प्रहरीको विज्ञ टोलीले अनुसन्धान थाल्यो


  • संजय रेग्मी
  • चैत्र २० २०८०, मंगलबार

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती घरभित्रै मृत भेटिएपछि प्रहरीले कुकुर सहितको विशेष टोली परिचालन गरेर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान थालेको हो । घटनाको अवस्था हेर्दा हत्या हुन सक्ने देखिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट विशेषज्ञ चिकित्सक र तालिम प्राप्त कुकुर सहितको विज्ञ टोली आई अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताए ।
सोमबार राती करिब नौ बजेसम्म उनीहरू घरभित्रै कुराकानी गरिरहेको भए पनि मंगलबार बिहान भने हत्या गरिएको जस्तो अवस्थामा मृत भेटिएका थिए । एउटा शव घोप्टो र अर्को शव खाटमाथि पल्टिएको अवस्थामा भेटिएपछि हत्या नै भएको हुनसक्ने वडाध्यक्ष प्रकाश जिसीले बताए । उनका अनुसार ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षत्री बिहान अबेरसम्म पनि घरमा चहलपहल गरेको नदेखिएपछि गाउँलेहरूले खोजी थालेका थिए ।
घटनाको बारेमा अनुसन्धान चलिरहेको र प्रमाणहरू खोज्ने काम भइरहेकोले तत्कालै नै शव नउठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुसालले बताए । घटनाको खबरलगत्तै घटनास्थलमा पुगेको पर्वत प्रहरीको टोलीले अनुसन्धान थालेको थियो । अब गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर र विशेषज्ञसहित पुगेको टोलीले अनुसन्धान गरेपछि घटनाको विषयमा थप विवरणहरू प्राप्त हुने उनको भनाई छ ।
पातलो बस्तीमा रहेको सूर्यबहादुरको घर वरवर छिमेकीका दुई वटा मात्रै घर रहेको बस्ती सुनसान नै रहने गरेको स्थानीयले बताएका छन् । मृत दम्पतीका तीन छोरामध्ये दुई जना रोजगारीको लागि दक्षिण कोरियामा रहँदै आएका छन् भने एक जनाले म्याग्दी सदरमुकाम बेनी बजारमा व्यवसाय गर्दै आइरहेका छन् । गाउँमा एक्लै रहेका बाबुआमाले म्याग्दीमा रहेका छोरा बुहारीहरूसँग दैनिकजसो फोन सम्पर्क गर्ने गरेको भए पनि मंगलबार बिहान भने घरमा फोन नउठेपछि बेनीबाट गाउँ पुगेका थिए । उनीहरू पुग्दा बुबाआमा दुवै जना घरभित्र मृत भेटिएका थिए ।
घटनास्थल बेनी बजारको केही पर रहेको गलेश्वर मन्दिरबाट पारी र पूर्वपट्टी रहेको राम मन्दिरभन्दा केही मिटर माथि हो । उक्त स्थान मल्लाज जाने ‘ट्रेकिङ रुट’ मा पर्छ । दम्पती भित्र मृत रहेको भए पनि ढोकाको बाहिरबाट ताला लगाइएको अवस्था रहेकोले कसैले लुटपाट गरेर हत्या गरेको र ताला लगाएर भागेको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->