पाेखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नियुक्ती असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ । अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले सभामुख र उपसभामुखले दल त्याग गरिनसकेको अवस्थामा उनीहरुलाई पनि राजनीतिक दलको सदस्य भनेर गणना गर्न नपाइने बताए । ‘उहाँहरुले राजीनामा दिएको भए संख्या पुग्थ्यो होला’ उनले भने, ‘संवैधानिक प्रक्रिया बाहिर गएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । हामी कानुनी उपचारको खोजीमा जान्छौ ।’ उनले प्रदेश प्रमुख कुनै दलको कार्यकर्ता नभइ संविधानको पालक हुनुपर्नेमा त्यस्तो नभएकाले अदालत जाने कुरा स्वभाविक रहेको बताए ।
यसअघि कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न भन्दै प्रदेश प्रमुख समक्ष आग्रह गरेका थिए । तर प्रदेश प्रमुख भट्टले अधिकारीलाई नियक्ति गरेपछि असंवैधानिक कदम भन्दै पाण्डेले कानुन व्यवसायीसंग छलफल गरी सर्बोच्च अदालतमा मुद्धा दायर गर्ने तयारी गरेका हुन ।





