दशकदेखि व्यवसायिक कृषि उत्पादनमा लागेकी यहाँकी शिवकला खत्री पछिल्लो समय उत्पादनसँगै कृषि उपज व्यवस्थापनमा पनि लागेकी छिन् । कृषि प्राविधिकको प्रमाणपत्र पाइसकेकी उनले छिमेकी किसानलाई प्राविधिक ज्ञान पनि दिन्छिन् । त्यतिमात्र हैन उनले आवस्यक बीउ, मल र प्रविधिको सहयोग जुटाउँछिन् । छिमेकी किसानको बारीमा पुगेर उनले निशुल्क सेवा गरेकी छिन् भने अन्यत्र शुल्क लिएर पनि जाने गर्छिन् । गौमुखी कृषि सहकारीकी अध्यक्ष खत्रीको अगुवाईमा गलकोटका किसानको तरकारी र कृषि फलसको बजारीकरण अभियान शुरु भएको छ ।
गलकोट नगरपालिका ३ का अर्का मेहेनती किसान गुमानसिं खत्रीले गलकोटबाट म्याग्दीसम्म पुगेर कृषि उत्पादनको काम गरेका छन् । गलकोटमा अब्बल किसानको परिचय बनाएका खत्रीले बागलुङका अर्का अगुवा किसान गंगाबहादुर थापाको सहकार्यमा म्याग्दीको भकिम्लीमा समेत जग्गा किनेर किवी खेती लगाएका छन् । ठूलो परिणाममा तरकारी फलाएपछि बजारीकरण समेत गर्ने लक्ष उनको छ ।
यी प्रतिनिधि पात्र किसानले सिकाएको पाठबाट गलकोट क्षेत्रमा अहिले दर्जनौं व्यवसायिक कृषि फर्म खुलेका छन् । दुइ दर्जनबढी बाख्राका व्यवसायिक फर्म खुलेका छन् भने बंगुर र माछापालनजस्ता क्षेत्रमा पनि व्यवसायिकीकरण बढेको छ । मध्यपहाडी लोकमार्ग र नगरपालिकाको केन्द्रको कारण बढीरहेको बजारीकरणले गलकोटको हटिया, हरिचौर, मल्म र कांडेवास तर्फका बस्तीमा होटल तथा अन्य व्यवसाय फस्टाएको छ । त्यसका लागि कृषि उपज अत्यावस्यक भैसकेको छ ।
किसानले घर घरमा फलाउने कृषि उपजको एकीकृत बजारीकरण स्थल नभएपछि नगरपालिकाले गतबर्षको नीति तथा कार्यक्रममा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना अगाडि सा¥यो । उक्त योजना अनुसार काम पनि शुरु गरिसकेको छ ।
पहिलो चरणमा किसानको उत्पादन बजारीकरणका लागि हाटबजार शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत थम्मन सिंह गौतमले बताए । गलकोट ३ को हटिया बजारमा गत असोजदेखि बजारीकरणका लागि हाटबजार संचालनमा आएको छ ।
गलकोटमै स्थानीय व्यवसायिक किसानले कोल्ड स्टोर समेत स्थापना गरेका छन् । झण्डै ५ सय टनसम्म स्टोर गर्न सकिने कोल्डस्टोरले किसानको उत्पादन सुरक्षित राख्ने लक्षलाई पनि सहयोग पुगेको छ । कृषि ज्ञान केन्द्रले पनि गलकोट नगरपालिकामा अर्को स्टोरको तयारी गरेको छ ।
स्थानीय गौमुखी कृषि सहकारी संस्थाको सहकार्यमा हटियामा ११ वटा स्टल भएको कृषि हाटबजार बनाएर संचालनमा ल्याइएको हो । हाटबजारमा शनिबार भए किसानले आफ्नो उत्पादन आँफै लगेर बेञ्न पाउने व्यवस्था छ । अरु दिन बजारमा लगेर छाडेपछि बिक्री भएको रकम किसानले पाउँछन् । त्यतिमात्र हैन कसले कति तरकारी बिक्री गरेको छ भन्ने तथ्यांक राख्ने गरिएको छ । उक्त तथ्यांकको आधारमा १ सय केजीभन्दा बढी तरकारी बेच्ने किसानलाई उत्पादनमा आधारित अनुदान दिने व्यवस्था रहेको कृषि शाखाका प्रमुख हरिदत्त सुवेदीले बताए ।
तरकारी कति उत्पादन भएको छ भन्ने कुरा किसानले फोन गरेर सोध्न सक्छन् । सोही अनुसार हाटबजारमा राख्ने व्यवस्थापनमा नगरपालिकाले साथ दिने सुवेदीको भनाइ छ । १ सय केजी बिक्री भएपछि प्रतिकेजी ५ रुपैयाँको दरले अनुदान समेत पाउने व्यवस्था भएको हो । कात्तिकदेखि यता नगरपालिकाले २ हजार केजी तरकारीको प्रोत्साहन बितरण गरिसकेको सुवेदीले जानकारी दिए ।
गलकोट नगरपालिकाले १० लाख लगानीमा व्यवसायिक स्टल निर्माण गरिदिएको सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुृर भण्डारीले बताए । पछिल्लो समय व्यवसायिक कृषिमा लाग्नेहरु बढेका छन् । गलकोट माबिको कृषि विज्ञान शाखाले समेत प्लाष्टिक टनेलमा तरकारी र अन्नबाली खेती गरिरहेको छ । उत्पादन भएको तरकारी बिद्यार्थीले समेत बजारमा लगेर बेच्छन् ।
बिशेषगरी व्यवसायिक तरकारी खेती गरेका किसानले बजार व्यवस्थापनको माग गर्दै आएका थिए । ‘किसानको माग अनुसार पहिलो चरणमा हाटबजार बनाएर बिक्रीको अवसर दिन सकेका छौं’ गौैमुखी कृषि सहकारीकी अध्यक्ष शिवकला खत्रीले भनिन्, ‘यो अवसरले गलकोट क्षेत्रमा कृषि उत्पादन बढाउन योगदान हुनेछ ।’ नगरपालिकाले पनि पहिलो चरणमा तरकारी उत्पादनबाट अनुदानको कार्यक्रम थालेको हो ।
त्यसबाहेक फलफूल, पशुपालन लगायतका अन्य उत्पादनमा पनि नगरपालिकाले अनुदान दिने व्यवस्था गर्ने नगरको लक्ष छ । नगरपालिकामा कर्मचारीको संख्या न्युन छ । त्यसैले कृषि र पशुविकास शाखाका कर्मचारी बाँडेर एकजनाले दुवै क्षेत्र हेर्ने व्यवस्था छ । अत्यावस्यक परेमा कृषि र पशु प्राविधिकको छुट्टाछुट्टै व्यवस्थापन गरेपनि वडा तहमा एउटै कर्मचारीले दुवै क्षेत्र हेर्नुपरेको गौतमको भनाइ छ । तर उत्पादनमा जोड दिने, सामान्य समस्या दुवै तर्फको एउटै प्राविधिकले हेर्ने काम भएको उले जानकारी दिए । तरपनि किसानको कृषि फसल उत्पादनमा भने गुनासो नआउने गरी सेवा दिइएको गौतमको दाबी छ ।
४ सयसम्म बाख्रापालन गरेका पशुपालन फर्म, दैनिक तीनदेखि चारसय केजीसम्म तरकारी बेच्ने प्लाष्टिकका टनेल र हाइटेक समेत गलकोट क्षेत्रमा स्थापित छन् । यहाँका किसानले गलकोट बजारबाहेक बडिगाडको खरवाङ र गुल्मीसम्म लगेर तरकारी बेच्ने गरेका छन् । दूध भने स्थानीय रुपमै खपत भैरहेको छ । गलकोटले थालेको यो अभियान अन्य पालिकालाई पनि सिकाइको बिषय बनेको छ ।

मुख्यमन्त्री कार्यक्रम पनि किसानकै पक्षमा
गलकोट नगरपालिका ७ मल्ममा मुख्यमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम समेत शुरु भएको छ । गण्डकी प्रदेश सरकार र कृषि ज्ञान केन्द्रले किसानलाई व्यवसायिक बनाउन लगानी गर्नेछन् । प्राविधिक सहयोग केन्द्रले र समुदायमा कृषि उत्पादन बढाउन १९ लाख २० हजार रुपैयाँ केन्द्रले व्यहोर्ने गरी गतबर्षदेखिनै कार्यक्रम लागू भएको छ । सानो पूँजिको कार्यक्रमले किसान व्यवसायिक बन्न नसकेपछि ठूलो रकमबाट एकैपटक ४० देखि ५० जना किसान सहभागि बनाउन यो कार्यक्रम ल्याइएको हो । गलकोट ७ को सिरबारे, आरनटोल र सुन्तलाबारीमा यो कार्यक्रम संचालन भएको छ ।
कार्यक्रम संचालनका लागि किसानलाई बाख्रा, भैसीपालन, तरकारी खेती तथा फलफूल खेतीमा केन्द्रले अनुदान दिनेछ । अनुदानको सदुपयोग गरेर किसानले उत्पादनमा जोड दिएमा आगामी बर्ष अनुदान बढाएर लैजान सक्ने गरी कार्यक्रम संचालन भैरहेको वडा अध्यक्ष राजबहादुर थापाले जानकारी दिए । ‘पहिलो चरणमा बीउपूजि दिएर किसानलाई मेहेनत गर्न सिकाइएको छ’ थापाले भने, ‘प्राविधिक रुपमा भने केन्द्रले साथ दिएको छ ।’ किसानले फलाउने कृषि उत्पादनको बजारीकरणमा केन्द्रले सघाउने आश्वासन दिएको उनले बताए । कृषि उपज संकलन केन्द्र बनाएर बजारीकणमा नगरले स्थापना गरेको संकलन केन्द्रले पनि सहयोग पुगेको छ ।
बढी कमाइ गर्न सक्ने गरी किसानलाई उन्नत जातका बाख्रा, पाडापाडी र बंगुरका छाउरा दिने योजना कार्यक्रममा समावेश छ । किसानले उत्पादन गर्ने मासु दूध र अन्य परिकारको बजारीकरणमा पनि केन्द्रले पहल गर्नेछ । दूध लगायतका पशुजन्य वस्तु संकलन केन्द्र निर्माण तथा ढुवानीमा पनि केन्द्रले पहल गर्ने भएको हो ।





