गाउँसभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु ।
१. रघुगंगा गाउँपालिकाको १७ औं गाउँसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई प्राप्त जिम्मेवारी बोध गर्दै आगामी आर्थिक बर्ष २०८१।८२ को बजेट यस गरीमामय सभा समक्ष प्रस्तुत गर्न गईरहेको छु ।
२. यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जनताको शासन व्यवस्था स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दशवर्षे जनयुद्ध, राजनैतिक क्रान्ति एवं संघर्षका ऐतिहासिक तथा महान सहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । साथै राष्ट्रहित, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग, बलिदान र विभिन्न जनजीविकाका आन्दोलनहरूको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् बेपत्ता र पीडित नागरिकहरू प्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
३. संघीय लोकातान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीले यस गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी ग्रहण गरेको दोस्रो बर्ष पुरा भईसकेको छ । यस अवधिमा गाउँपालिकाबासीहरुप्रति पूर्ण उत्तरदायी बनेर कार्य गरेका छौं र सबै गाउँपालिकाबासीहरुबाट पाएको आत्मीय माया तथा प्राप्त उचित सल्लाह, सुझाव र स्वच्छ आलोचनाका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दछु ।
४. विश्वव्यापी कोभिड संक्रमण र यसबाट सृजित आर्थिक मन्दीले देश विदेशमा गहिरो प्रभाव पारिरहेको र अर्थतन्त्र संकुचित भएको वर्तमान अवस्थामा स्थानीय अर्थतन्त्र पनि मन्दीको मारबाट अछुतो रहन सकेन । यो अवस्थामा पनि सन्तुलित एवं समावेशी विकास, आर्थिक वृद्धि, सुशासन, दिगो पूर्वाधार विकास, रोजगारी तथा सीपमूलक तालिम, पर्यटन विकास र सामाजिक विकासको कार्यमा बजेटलाई लक्षित गर्ने अधिकतम प्रयास गरेको छु ।
५. मानव जीवनको रक्षा गर्नु, सामाजिक आर्थिक क्रियाकलापहरु सञ्चालनको व्यवस्था, सहजीकरण तथा नियमन गर्नु स्थानीय सरकारको न्यूनतम दायित्व हो भन्ने कुरालाई आत्मसात गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि प्रतिबद्ध भई आगामी आ. व. २०८१।८२ को बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।
६. नेपालको संविधान, नेपाल सरकारका प्रचलित कानूनहरु, नेपालको दीर्घकालीन विकास लक्ष्य, पन्धौँ योजना, नेपाल सरकारको नीति तथा कार्यक्रम, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र आवधिक योजना, रघुगंगा गाउँपालिकाको दोस्रो आवधिक विकास योजना (मस्यौदा) सहित स्थानीय राजनैतिक दलहरु, स्थानीय विज्ञ, नागरिक क्षेत्रका अगुवा, विषयगत समिति लगायत सरोकारवाला संघ–संस्थाहरुको सुझावलाई बजेट तर्जुमाको मार्गदर्शनको रुपमा लिएको छु । साथै यस गरीमामय सभामा गाउँपालिका अध्यक्षज्यूबाट प्रस्तुत आ. व. २०८१।८२ को नीति तथा कार्यक्रमलाई प्रमुख आधार बनाएको छु ।
७. दीगो विकास लक्ष्यका महान उद्देश्यहरू प्राप्त गर्नका लागि समपूरक तथा परिपूरक भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोध गरी दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न प्रयत्न गरेको छु । साथै, नेपालको दीर्घकालिन सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई ‘समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी’का रूपमा आन्तरिकीकरण गर्न जोड दिएको छु ।
८. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पूँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । कार्यान्वयन योग्यता, विकासको आवश्यकता, नागरिकका अपेक्षा र विषय विज्ञहरूको सुझावलाई मध्यनजर गरी बजेट तयार गरेको छु ।
सभाका अध्यक्षज्यू, सभाका सदस्यज्यूहरु
९. उपलब्ध स्रोत र साधनको न्यायोचित वितरण तथा दिगो र समावेशी विकासमार्फत आर्थिक, सामाजिक असमानताको अन्त्य गर्दै आत्मनिर्भर उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने संघ तथा प्रदेशको सिद्धान्तमा ऐक्यबद्धता रहने गरी आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटका उद्देश्य तथा प्राथमिकता निर्धारण गरिएको छ । प्रस्तावित बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।
–गाउँपालिकाको अर्थतन्त्रलाई चलायमान बनाई उच्च एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्ने,
–शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता नागरिकका अत्यावश्यकीय सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा सहज रुपमा पु¥याउने,
–सुशासन र नागरिकमैत्री सेवा प्रवाह गर्ने,
–योजना निर्माण, विकास र समृद्धिमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको साझेदारी गर्ने,
–हरेक जीवन अमूल्य हुने भएकोले बिभिन्न रोगहरू र विपद्वाट जीवनरक्षा गर्ने,
–उपलब्ध साधन स्रोत र क्षमताको आदर्शतम् प्रयोग मार्फत सर्वाङ्गीण विकासलाई निरन्तरता दिने,
–लोकतन्त्रका लाभहरूको समानुपातिक, समावेशी र न्यायोचित वितरण गर्दै लोककल्याणकारी भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने,
–सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने,
–स्थानीय नेतृत्वको विकास र सेवा प्रवाहमा सरल, सहज र समावेशी पहुँच सुनिश्चित गर्ने‚
–स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूहरु,
अब म रघुगंगा गाउँपालिकाको गत आर्थिक बर्ष २०७९।८० को यथार्थ आर्थिक आवस्थालाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
१०. गत आर्थिक वर्ष २०७९।८० मा आन्तरिक आय १ करोड २७ लाख ७५ हजार ७२ रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएकोमा १ करोड १२द्द लाख १४ हजार ३ सय ७३ रुपैयाँ ५४ पैसा प्राप्त भएको छ भने गत आ.व.मा खर्च नभई अ. ल्या. रहेको रकम ६ करोड २३ लाख ४८ हजार ६ सय २३ रुपैयाँसहित आन्तरिक आयतर्फ कुल रकम ७ करोड ३५ लाख ६२ हजार ९ सय ९६ रुपैयाँ ५४ पैसा वास्तविक आम्दानी भएको छ । जुन रकम अनुमानित आन्तरिक आयको प्रक्षेपणभन्दा १५ लाख ६० हजार ६ सय ९९ रुपैयाँ कम सङ्कलन भएको हो । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबापत ८ करोड ९३ लाख रुपैयाँको आय अनुमान गरिएकोमा ८ करोड २६ लाख २ हजार ५ सय रुपैयाँ वास्तविक आय प्राप्त भएको छ । त्यसैगरी सङ्घीय राजस्व बाँडफाँडबाट ८ करोड ८५ लाख ९५ हजार रुपैयाँको आय अनुमान गरिएकोमा ७ करोड २७ लाख ३३ हजार १८ रुपैयाँ ४९ पैसा वास्तविक आम्दानी भएको छ ।
११. गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबापत ९४ लाख ८२ हजार रुपैयाँ आय अनुमान गरिएकोमा ८२ लाख ९६ हजार ७ सय ५० रुपैयाँ वास्तविक आय प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँडबाट ६७ लाख १९ हजार रुपैयाँ आय अनुमान गरिएकोमा ६९ लाख ३५ हजार ९ सय ६० रुपैयाँ वास्तविक आय प्राप्त हुन आएको छ ।
१२. गत आर्थिक वर्षको सशर्त अनुदान सङ्घीय सरकारतर्फ २२ करोड ७२ लाख ८६ हजार ९ सय ६८ रुपैयाँ आय अनुमान गरिएकोमा २० करोड ७६ लाख ८ सय ४३ रुपैयाँ २९ पैसा तथा विशेष अनुदानतर्फ २ करोड ६० लाख आय अनुमान गरिएकोमा ६३ लाख ९५ हजार ५ सय ५७ रुपैयाँ ४१ पैसा यथार्थ आय भएको छ । साथै, संघीय सरकारको समपुरक अनुदानतर्फ ७४ लाख आय अनुमान गरिएकोमा ३३ लाख १६ हजार ९ सय २ यथार्थ आय प्राप्त हुन आएको छ । प्रदेश समपुरक अनुदान २५ लाख प्राप्त भएको छ ।
१३. गत आर्थिक वर्षको सशर्त अनुदान गण्डकी प्रदेश सरकारतर्फ ५० लाख रुपैयाँ आय अनुमान गरिएकोमा ४२ लाख ५५ हजार रुपैयाँ आय प्राप्त भएको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको समपुरक अनुदानतर्फ ५० लाख आय अनुमान गरिएकोमा ५० लाख रुपैयाँ नै यथार्थ आय भएको छ ।
१४. यसरी गत आर्थिक वर्षमा ५३ करोड ९९ लाख ५ हजार ७ सय ९३ रुपैयाँ आय प्रक्षेपण गरिएकोमा वास्तविक आम्दानी ४७ करोड ६ लाख ९९ हजार ५ सय २७ रुपैयाँ ७३ पैसा वास्तविक आय प्राप्त हुन आएको छ । जुन कुल बजेट प्रक्षेपणको ८७ दशमलव १८ प्रतिशत वास्तविक आम्दानी प्राप्त हुन आएको छ ।
१५. त्यसैगरी सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत रू. ११ करोड ४६ लाख २६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ११ करोड २९ लाख ४१ हजार ६ सय १० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
१६. गरिबसँग विश्वेश्वर कार्यक्रमतर्फ रु. ४ लाख ५३ हजार प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन।
१७. गत आर्थिक वर्ष २०७९।८० मा आन्तरिक राजश्वतर्फ ५ करोड ४ लाख ११ हजार ७ सय ४८ रुपैयाँ ४६ पैसा वास्तविक खर्च भएको छ । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ६ करोड ७७ लाख ४५ हजार १ सय २० रुपैयाँ ६२ पैसा वास्तविक खर्च भएको छ भने सङ्घीय राजस्व बाँडफाँडतर्फ ७ करोड ७ लाख ९२ हजार २३ रुपैयाँ ८० पैसा वास्तविक खर्च भएको छ ।
१८. गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ५७ लाख ९३ हजार ३ सय ५८ रुपैयाँ वास्तविक खर्च भएको छ । प्रदेश राजस्व बाँडफाँडतर्फ ३२ लाख ६५ हजार ५१ रुपैयाँ १५ पैसा वास्तविक खर्च भएको छ ।
१९. सोही आर्थिक वर्षमा सशर्त अनुदान सङ्घीय सरकारतर्फ २० करोड ७६ लाख ८ सय ४३ रुपैयाँ २९ पैसा तथा विशेष अनुदानतर्फ ६३ लाख ९५ हजार ५ सय ५७ रुपैयाँ ४१ पैसा र संघीय सरकारको समपुरक अनुदानतर्फ ३३ लाख १६ हजार ९ सय २ रुपैयाँ यथार्थ खर्च भएको छ ।
२०. त्यसैगरी सशर्त अनुदान गण्डकी प्रदेश सरकारतर्फ ४२ लाख ५५ हजार रुपैयाँ र गण्डकी प्रदेश सरकारको समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ यथार्थ खर्च भएको छ ।
२१. यसरी गत आर्थिक वर्षको बजेटबाट कुल रकम ४२ करोड ४५ लाख ७५ हजार ६ सय ४ रुपैयाँ ७३ पैसा खर्च भएको छ, जुन कुल विनियोजनको ७८ दशमलव ६४ प्रतिशत वित्तीय प्रगती हासिल भएको हो । जसमध्ये चालु खर्चतर्फ २९ करोड ६७ लाख ३८ हजार ९ सय रुपैयाँ र ७० पैसा खर्च भएको छ, जुन कुल चालु खर्च विनियोजनको ८४ दशमलव ४१ प्रतिशत चालु खर्चतर्फ वित्तीय प्रगति हासिल हुन आएको हो भने पूँजीगत खर्चतर्फ १२ करोड ७८ लाख ३६ हजार ७ सय ४ रुपैयाँ ३ पैसा खर्च भएको छ, जुन कुल पूँजीगत खर्च विनियोजनको ६७ दशमलव ८७ प्रतिशत पूँजीगत वित्तीय प्रगती हासिल हुन आएको हो ।
२२. प्रस्तुत वित्तीय उपलब्धी अघिल्लो आ. व. को तुलनामा ० दशमलव १७ प्रतिशत कम हो । जहाँ अघिल्लो आ. व. २०७८।७९ मा ७८ दशमलव ८१ प्रतिशत वित्तीय प्रगती हासिल हुन आएको थियो ।
गाउँ सभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यहरु,
अब म चालु आर्थिक वर्ष २०८०।८१ को आय, व्ययको जेठ मसान्तसम्मको यथार्थ स्थिति प्रस्तुत गर्दछु ।
२३. चालु आर्थिक वर्षमा आन्तरिक आय १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेकोमा २०८१ जेठ मसान्तसम्म ५९ लाख ६ हजार २ सय ८० रुपैयाँ ८८ पैसा प्राप्त भएको छ भने गत आ. व. को बैंक मौज्दात ४ करोड ९५ लाख ५१ हजार ८ सय २६ रुपैयाँ समेत आन्तरिक स्रोतको बजेट ६ करोड २५ लाख ५१ हजार ८ सय २६ रुपैयाँ भएकोमा सो मितिसम्म ५ करोड ५४ लाख ५८ हजार १ सय ६ रुपैयाँ प्राप्त भई ३ करोड २४ लाख ८३ हजार अठ्सठ्ठी रुपैयाँ १२ पैसा खर्च भएको छ । त्यसैगरी नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत ७ करोड ९१ लाख रुपैयाँको बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म ५ करोड ८५ लाख ३४ हजार रुपैयाँ प्राप्त भई ३ करोड २२ लाख ५६ हजार ६ सय ५३ रुपैयाँ खर्च भएको छ । साथै, सङ्घीय राजस्व बाँडफाँडतर्फ ८ करोड ६८ लाख ११ हजार ६ सय रुपैयाँको बजेट प्राप्त भएकोमा ६ करोड ५२ लाख ७ हजार ५ सय १० रुपैयाँ १६ पैसा आम्दानी प्राप्त भई ५ करोड चार लाख २१ हजार ५ सय ४३ रुपैयाँ ३३ पैसा खर्च भएको छ ।
२४. त्यसैगरी गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ९५ लाख ११ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म ७१ लाख १६ हजार ३ सय रुपैयाँ वास्तविक आय प्राप्त भई ३५ लाख ३१ हजार ८ सय ४८ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँडतर्फ ७४ लाख ६५ हजार रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म ७४ लाख १६ हजार ३ सय रुपैयाँ वास्तविक आय प्राप्त भई २६ लाख ५६ हजार ४ सय ३४ रुपैयाँ खर्च भएको छ ।
२५. चालु आर्थिक वर्षको सशर्त अनुदान सङ्घीय सरकारतर्फ २१ करोड ६९ लाख रुपैयाँ बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म २१ करोड ६ लाख ३३ हजार १ सय ७० रुपैयाँ वास्तविक आम्दानी भई १४ करोड ५० लाख ३० हजार ६ सय २७ रुपैयाँ खर्च भएको छ भने सङ्घीय सरकार विशेष अनुदानतर्फ ७० लाख रुपैयाँ बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म २५ लाख ७३ हजार ९ सय ६७ रुपैयाँ आम्दानी प्राप्त भई आम्दानी बराबर नै खर्च भएको छ । त्यस्तै सङ्घीय सरकार समपुरक अनुदानतर्फ ५० लाख बजेट भएकोमा ७ लाख ९२ हजार २ सय ४२ रुपैयाँ वास्तविक आम्दानी भएको छ ।
२६. गण्डकी प्रदेश सरकारको समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँको बजेट प्राप्त भई जेठ मसान्तसम्म २८ लाख रुपैयाँ आम्दानी भई २८ लाख रुपैयाँ नै खर्च भएको छ ।
२७. संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत ११ करोड ३१ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा तेस्रो त्रैमासिकसम्मको रकम निकासा भई ८ करोड ६० लाख ६५ हजार ९ सय २७ रुपैयाँ वितरण गरी सकिएको छ भने चौँथो त्रैमासिक लाभग्राहिको बैंक खातामा प्रविष्ट हुने अन्तिम चरणमा पुगेको छ ।
२८. गरिबसँग विश्वेश्वर कार्यक्रमतर्फको कार्यक्रम सम्पन्न भइसकेको छ जसको जेठ महिनासम्ममा ४ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।
२९. यसरी चालु आ. व. को जेठ मसान्तसम्म ४१ करोड तीन लाख ३७ हजार ६ सय तीस रुपैयाँ ४ पैसा वास्तविक आम्दानी भई २७ करोड १७ लाख ५४ हजार १ सय ४० रुपैयाँ ४५ पैसा खर्च भएको छ ।
३०. चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म चालु खर्च २२ करोड २५ लाख ९५ हजार १ सय ६५ रुपैयाँ ६६ पैसा अर्थात ६१ दशमलव ८८ प्रतिशत खर्च भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ७१ प्रतिशत कम खर्च भएको छ । पूँजीगत खर्च ४ करोड ९१ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ १३ पैसा अर्थात ३९ दशमलव १३ प्रतिशत भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ४२ प्रतिशत कम रहेको छ । चालु र पूँजिगत बजेटको औसत खर्च कुल बजेटमा ५५ दशमलव ९९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९।८० को आय र व्ययको यथार्थ विवरण, आर्थिक वर्ष २०८०।८१ को आय व्ययको संशोधित अनुमान र जेठ मसान्तसम्मको खर्च तथा आर्थिक वर्ष २०८१।८२ को अनुमानित आय व्ययको विवरण अनुसूचीहरू १, २ र ३ मा उल्लेख गरेको छु ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म गाउँपालिकाको विकासका चुनौती तथा अवसरहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
३१. माथि प्रस्तुत गरिएको चालु आ. व. को २०८१ जेष्ठ मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगती विवरणको आधारमा तयार गरिएको संक्षिप्त समिक्षाको प्रवृत्ति विश्लेषण गर्दा आ. व. २०८१।८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न केहि चुनौती तथा अवसरहरु रहेको देखिएको छ । गाउँपालिकाको विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै गर्दा देखा परेका केहि चुनौतीहरुलाई समेत यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
चुनौतीहरुः
–नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित) बमोजिमका व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
–सीमित स्रोत र साधनबाट असीमित जनचाहना तथा सबै तर्फका आवश्यकताहरुलाई एकमुष्ट रुपमा तत्कालै सम्बोधन गर्ने,
–विभिन्न सात तहसम्मको योजना प्रक्रिया पूरा गरी योजना माग, छनौट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरुपको उत्तरदायित्त्व पूरा गर्न स–साना योजनाहरुलाई वडा तहबाट सम्बोधन गर्न लगाई मझौला आकारका योजनामा गाउँपालिकाको बजेटलाई केन्द्रित गर्ने,
–उपभोक्ता समितिको काम कारवाहिमा पारदर्शिता, जवाफदेहिता र अर्थपूर्ण जनसहभागीता कायम राख्ने,
–ठेक्का तथा उपभोक्ता समिति मार्फत गरिने कार्य समयमा सम्पन्न गर्ने,
–गैर सरकारी संस्था क्षेत्रको बजेट, कार्यक्रमलाई गाउँपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने,
–दीगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरुलाई स्थानीयकरण गर्ने,
–आन्तरिक राजश्व संकलनको लक्ष्यलाई हासिल गर्न स्थानीय नागरिक तथा स्थानीय सरकारप्रति एक अर्काका पूरकका रुपमा रहेको आभाष दिलाउँदै घरदैलोको सरकारका रुपमा आशा र भरोषाको सञ्चार गर्ने,
–आर्थिक संकटका कारण नेपाल सरकार तथा प्रदेश सरकारबाट अनुमान गरिएको राजश्व तथा अनुदानको रकम सबै प्राप्त हुने अवस्थाको सुनिश्चितता नहुँदा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनमा द्विविधा हुने गरेको ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
माथि उल्लिखित चुनौतीहरु विद्यमान हुँदाहुँदै पनि यस गाउँपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताका कारण अवसर र सम्भावनालाई समेत नकार्न वा नजरअन्दाज गर्न सकिँदैन; जसलाई संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
अवसर तथा सम्भावनाहरुः
–जिल्लाको सदरमुकामबाट दोस्रो नजिकको स्थानीय सरकारको रुपमा रहेको स्थानीय तह भएको,
–हावापानी तथा जलवायुको दृष्टिबाट उचित वातवरण भएको ।
–विभिन्न स्थानीय स्रोत र साधनहरुको परिचालन गरी स्थानीयस्तरमा उद्योग, पर्यटन तथा अन्य व्यवसाय सञ्चालनमा सहजता देखिएको,
–गाउँपालिका र वरिपरिका क्षेत्रलाई प्याकेजको रुपमा धार्मिक, ऐतिहासिक सम्पदा एवम् उष्णदेखि शितोष्ण जलवायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्यका स्थानहरु जस्तैः आइसफल, धवलागिरी सेन्चुरीमार्ग, झीँ, टोड्के, रुईसे, मालिका मन्दिर, वेगखोलाको लामो पुल, भगवती मन्दिर, रानीपौवा, दर्मिजा तातोपानी कुण्ड, मण्डलीथान, रिखार मन्दिर लगायतका उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने,
–स्थानीय स्तरमा उपलब्ध भएका खनिज तथा नदीजन्य पदार्थको व्यवस्थित उत्खनन् र उपयोग गरी गाउँपालिकाको विकास निर्माण तथा आयस्रोत बढाउन सकिने ।
सभाका अध्यक्ष महोदय, सभाका सदस्यहरु
अब म आगामी आ. व. २०८१।८२ को क्षेत्रगत र विषयगत रुपमा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकास
कृषि तथा पशुपंक्षी विकास
३२. ‘कृषिलाई उद्यम, कृषकलाई उद्यमी’ भन्ने अभियानकासाथ गाउँपालिका क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्ने गरी बजेटको विनियोजन गरेको छु ।
३३. स्थानीय स्तरमा उत्पादन तथा उपयोग हुने रैथाने बालीहरुलाई प्रवर्द्धन गर्न “रैथाने (स्थानीय) बाली प्रवर्द्धन कार्यक्रम” सञ्चालन गर्न रु. १० लाख बजेट विनियोजन गरेको छु ।
३४. कृषि उत्पादनमा वृद्धि गर्नका लागि समूह मार्फत कृषि गर्ने कार्यलाई बढावा दिन कृषक समूह गठन गर्ने तथा समूहमा कार्य गर्ने परिपाटीको विकास गर्न नीतिगत व्यवस्था गरेको छु ।
३५. पशुपंक्षीहरुलाई विभिन्न रोग, किटाणु तथा परजीवि र चोटपटकबाट संरक्षण प्रदान गर्ने उद्देश्यले “पशुपंक्षीको औषधि तथा औषधिजन्य सामग्री खरिद”का लगि रु. १० लाख बजेट विनियोजन गरेको छु ।
३६. युवा पलायन रोक्न तथा वैदेशिक रोजगारबाट फर्किएकालाई कृषि कर्ममा उत्प्रेरित गर्न बजेटमा “युवा लक्षित कृषि अनुदान” सम्बन्धी कार्यक्रम समावेश गरी रु. ४ लाख बजेटको व्यवस्थापन गरेको छु ।
३७. कृषकहरुलाई अति आवश्यक कृषि सामग्रीहरु तथा कृषि औजारहरु सहुलियतमा वा ५० प्रतिशत अनुदानका रुपमा कृषि सेवा केन्द्र मार्फत वितरण गर्ने गरी बजेटको व्यवस्था मिलाएको छु ।
३८. बजारमा उच्च मूल्य भएका कृषि उपज तथा वस्तुहरु, मौरी तथा च्याउको उत्पादन प्रवर्द्धन गर्न कृषकलाई आवश्यक तालिमका साथै आधुनिक प्रविधि हस्तान्तरण गर्नका लागि रु. ८ लाख बजेट विनियोजन गरेको छु ।
३९. कृषि उत्पादकत्त्व बढाउन हरेक वडामा “माटो परीक्षणका लागि घुम्ती शिविर सञ्चालन” गर्न तथा माटोको उर्वराशक्तिसमेत वृद्धि हुने गरी तथा बाली रोग र किरा पहिचान तथा बाली संरक्षण सेवा दिनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४०. “निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर” तथा “पशुपंक्षीलाई निःशुल्क खोप कार्यक्रम” का लागि रु. ६ लाख बजेट विनियोजन गरेको छु ।
४१. “५०% अनुदानमा भकारो सुधार कार्यक्रम” का लागि रु. ६ लाख बजेट विनियोजन गरेको छु ।
४२. पशु प्राविधिकहरुको तालिम सञ्चालन, प्राविधिकहरुको मासिक बैठक तथा प्राविधिकहरुको लजिस्टिक सपोर्टका लागि कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४३. कृषकहरुको माग र वास्तविक आवश्यकता पहिचान गरी स्थलगत रुपमा कृषकहरु समक्ष नै पुगी कृषि सम्बन्धी विभिन्न सिपमूलक तालिमहरु प्रदान गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४४. कृषकहरुको मनोबल बढाउन र कृषि सम्बन्धी बाह्य अनुभव दिलाउन अगुवा कृषक समूहलाई कृषि भ्रमण गराउन रु. २ लाख बजेटको सुनिश्चित गरेको छु ।
४५. कृषि दिवसहरु मनाउने तथा कृषि मेला प्रदर्शनी, अन्तरसमूह कृषक प्रतियोगिता सञ्चालन गर्ने, उत्कृष्ट कृषक तथा कृषक समूहलाई पुरस्कृत गर्नेगरी बजेटको व्यवस्था गरेको छु ।
४६. कृषकहरुलाई मागको आधारमा कृषकहरुको समेत सहभागिता रहने गरी आवश्यक “साना सिँचाई, प्लास्टिक टनेल, कृषि औजारहरु ५०% अनुदानमा वितरण” गर्ने प्रयोजनका लागि रु. ३ लाख बजेटको व्यवस्था गरेको छु ।
४७. कृषि बजारीकरणलाई प्रवर्द्धन गर्न, कृषकले आफ्नो उत्पादित कृषि वस्तु तथा उपज उचित मूल्यमा बजारसम्म पु¥याउने कार्यमा सहयोग गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
४८. व्यावसायिक एवम् नमुना कृषि फर्म सञ्चालनमा प्रोत्साहन गरी स्थानीय कृषि उत्पादनको वृद्धि गर्ने उद्देश्यले “सार्वजनिक नीजि साझेदारी (एएए ःयमभ)ि मा नमुना कृषि फर्म स्थापना” गर्न उपयुक्त साझेदार संस्थाको खोजी गरी “नमुना कृषि फर्म स्थापना” गर्ने कार्यका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
४९. व्यावासयिक पशुपालन र मौसमी तथा बेमौसमी तरकारी खेती प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५०. कृषि उत्पादनको प्रोत्साहन गर्न, कृषि व्यवसायमा सहकार्य र साझेदारी जुटाउन र कृषक, उपभोक्ता मिलन गराउन “रघुगंगा कृषि मेला प्रदर्शनी“ आयोजना गर्नका लागि बजेटको व्यवस्था गरेको छु ।
५१. परम्परागत पशुपालनलाई व्यावसायीकरण गर्नको लागि प्रोत्साहन गरिने छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित साझेदारी व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
५२. हिउँदे तथा वर्षे घाँसको बिउ तथा बेर्ना वितरणका लागि रु. घ लाख बजेट विनियोजन गरेको छु ।
५३. कृषकहरुलाई पशुपंक्षीको बीमा गर्न प्रोत्साहन गर्ने र पशुपंक्षी बीमाको प्रिमियिम रकमको ५० प्रतिशत रकम अनुदान दिने गरी रु. १ लाख ५० हजार बजेटको व्यवस्था गरेको छु ।
५४. बाख्रा तथा गाई भैंसी नश्ल सुधार गरी उन्नत जातमा परिणत गराउनका लागि पशु नश्ल सुधार कार्यक्रमलाई समूह परिचालनका माध्यमबाट सबै वडामा विस्तार गरिनेछ । पशुधनको नश्ल सुधार गर्न कृत्रिम गर्भाधारण कार्यक्रमको व्यवस्था मिलाएको छु । सो कार्यक्रमको लागि रु. ५ लाख बजेट व्यवस्था गरेको छु ।
५५. पशुपंक्षी रोग अन्वेशण तथा तथा नमुना संकलन कार्यलाई अगाडी बढाईने छ । सो को लागी आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५६. घुम्ती गोठका भेडा बाख्रामा आन्तरिक तथा बाह्य परजीविको नियन्त्रण गर्ने उद्देश्यले औषधि वितरणका लागि रु. २ लाख बजेट विनियोजन गरेको छु ।
सहकारी
५७. सहकारी संस्थाहरुको उचित प्रवर्द्धन र नियमन गरिनेछ । गाउँपालिका, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघ र प्रारम्भिक सहकारी संस्था समेतको लागत साझेदारीमा सहकारी सचेतना, सहकारी व्यवस्थापन, सहकारी लेखा, सहकारी प्रविधि जस्ता विषयहरुको तालिम सञ्चालन गर्न बजेटको व्यवस्था विनियोजन गरेको छु ।
५८. सबै सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस –ऋइएइःक्ष्क्) मा आबद्ध गर्न पहल गरिनुका साथै समान उद्देश्य भएका सहकारी संस्था एकिकरण गर्न प्रोत्साहन गरिनेछ । निष्क्रिय सहकारीको दर्ता खारेजी तथा परिसमापन (ीष्त्रगष्मबतष्यल) कार्य अगाडि बढाउन आवश्यक व्यवस्था गरेको छु ।
५९. गैर–सदस्य कारोबार, एउटै विषयका बहुसंस्था सदस्यता, कार्यक्षेत्र बाहिरको कारोबार लगायतका सहकारीको वित्तीय सुशासन प्रतिकुल कार्यलाई कडाईका साथ नियन्त्रण गरिने तथा सहकारी संस्था अनुगमन र नियमनमा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुलाई जिम्मेवार बनाउन पहल गर्नेगरी व्यवस्था मिलाएको छु ।
पर्यटन तथा सँस्कृति
६०. गाउँपालिका भित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्द्धन एवम् प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्ने वातावरण सिर्जना गरिनेछ ।
६१. सरोकारवाला निकायसँग समन्वय गरी रघुगंगा गाउँपालिका क्षेत्रभित्रका होटल व्यवसायलाई मर्यादित र पर्यटनमैत्री बनाउन आवश्यक प्रोत्साहन तथा पहल गरिनेछ ।
६२. उच्च आर्थिक वृद्धि, रोजगारी र आयको वितरणलाई तत्काल टेवा पुर्याउने प्रतिस्पर्धी क्षेत्रको रुपमा अथाह सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई विशेष ध्यान दिएको छु । रघुगंगा गाउँपालिकालाई आकर्षक, मनोरम र शाहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान स्थापित गराउने धवलागिरी आइसफल, धवलागिरी सेन्चुरीमार्ग, झीँ, टोड्के, रुईसे, मालिका मन्दिर, वेगखोलाको लामो पुल, भगवती मन्दिर, रानीपौवा, दर्मिजा तातोपानी कुण्ड, मण्डलीथान, रिखार मन्दिर लगायतको पर्यटन गन्तव्य नम्बर (त्यगचष्कm म्भकतष्लबतष्यल ल्गmदभच) प्रदान गरी व्यापक प्रचारप्रसार तथा व्यवस्थापन गरिनेछ ।
६३. पर्यटन व्यवसायको बजारीकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गर्ने तथा होमस्टे पदयात्रामार्ग संरक्षण, सम्बर्द्धन, सौन्दर्यीकरण र विकास गर्दै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने नीति अनुरुप गाउँपालिकालाई पर्यटकीय हिसाबबाट परिचित गराउनका लागि परिस्थिति सहज एवम् अनुकुल भएको अवस्थामा रघुगंगा पर्यटन महोत्सव सञ्चालन गरिने छ ।
६४. गाउँपालिका क्षेत्रभित्र रहेका “बर, पिपल, शमी लगायतका वृक्षहरु र परम्परागत चौतारी, पोखरीको संरक्षण तथा सम्बर्द्धन” गर्नका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
६५. रिखार मन्दिर जाने तिर्थयात्रीहरुको सुविधाको वडा नं. ८ पात्लेखर्कमा ठाँटी मर्मत गर्ने कार्य गरिनेछ । जसका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
उद्यमशिलता विकास, श्रम तथा रोजगार र गरिबी निवारण
६६. गाउँपालिकाका सम्पूर्ण कार्यक्रमहरूले गरिबी निवारणमा टेवा पु¥याउने विश्वास लिएको छु । गरिबी निवारण कोष अन्तर्गतका सामुदायिक संस्थासँग साझेदारी गर्दै आय आर्जन वृद्धिका क्रियाकलापहरू सञ्चालन गरिनेछ । गरिब परिचयपत्र वितरण कार्यक्रमलाई विशेष कार्यक्रमका रुपमा लिएको छु ।
६७. भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोवासी पहिचान र अभिलेख व्यवस्थापन भईसकेकाले सुकुम्बासी सम्बन्धी जिवीकोपार्जन र बसोबास व्यवस्थापन गर्ने कार्यमा संघ सरकारसँग समन्वय गरिनेछ ।
६८. गरिबी निवारणका लागि नयाँ उद्यमीहरु सिर्जना गर्ने, उच्च प्रविधियुक्त तालिम प्रदान गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
६९. प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ रू. ४९ लाख ९६ हजार बराबरको योजना सम्पन्न गर्ने तथा रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाएको छु । जसका लागि गाउँपालिकाबाट रु. ८ लाख साझेदारी गर्न बजेटको व्यवस्था गरेको छु ।
७०. गाउँपालिकाको वडा नं. ७ चिमखोलालाई बहुआयामिक नमुना ग्रामको रुपमा घोषणा भई कार्यान्वयनको चरणमा समेत प्रवेश गरिसकेकाले विगतका आ. व. मा जस्तै आगामी आ. व. मा पनि बालबालिका, जेष्ठ नागरिक, महिला, युवायुवती, किशोर किशोरी, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाती, सीमान्तकृत, उत्पिडित, पिछडा वर्ग अल्पसंख्यक लगायत लक्षित वर्ग÷समुदायका प्रतिनिधीलाई सिपमूलक र लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
७१. अपाङ्ग‚ एकल‚ विधवा वञ्चितिकरणमा परेका महिलाहरूको आय आर्जन वृद्धि र क्षमता विकासका लागि “उपाध्यक्षसँग महिला सशक्तीकरण कार्यक्रम” सञ्चालन गरिनेछ । जसको लागी रु. ५ लाख विनियोजन गरेको छु ।
७२. प्रतिस्पर्धामा छनौट भएका सेवा प्रदायक संस्थामार्फत् नयाँ लघुउद्यमी सिर्जना गर्ने कार्यको लागि लघुउद्यम विकासमा प्राप्त रकम रु. १३ लाख उद्यम विकासका क्षेत्रमा कुशलतापूर्वक खर्च हुने व्यवस्था मिलाएको छु ।
७३. बालश्रमुक्त गाउँपालिका घोषणा भईसकेको छ । उक्त कर्यक्रमलाई थप सफल बनाउन बजेट प्रबन्ध गरेको छु ।
सामाजिक विकास क्षेत्र
शिक्षा, युवा तथा खेलकुद
७४. आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रुपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । शिक्षालाई प्राविधिक, व्यवसायिक तथा रोजगारमूलक बनाउँदै सक्षम, नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति निर्माण गर्न आवश्यक बजेट मिलाएको छु ।
७५. कोरोना भाइरसको कारणले उत्पन्न वर्तमान जटिल परिस्थितिमा वैकल्पिक माध्यमबाट शिक्षण सहजीकरणका लागि कुनै न कुनै रुपबाट प्रोत्साहन गर्नु पर्ने महशुस गरी शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।
७६. यस गाउँपालिकाभित्र माध्यमिक शिक्षा संचालन भएका तर माध्यमिक तहको शून्य दरबन्दी भएका विद्यालयहरू ज्ञानोदय माध्यमिक विद्यालय‚ रघुगंगा माध्यमिक विद्यालय‚ जनता माध्यमिक विद्यालय‚ कालिका माध्यामिक विद्यालय र रितुङ माध्यामिक विद्यालय मा एक÷एक जना माध्यमिक शिक्षकको लागि तलब भत्ताको व्यवस्था गरिएकोलाई निरन्तरता दिइएको छ ।रघुगंगा आधारभुत विद्यालय, जनसुन्दर आधारभूत विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, बालविकास केन्द्र माझखर्कमा बालविकास सहजकर्ता तथा मुक्तिधाम माध्यामिक विद्यालयमा सहयोगी कर्मचारीको व्यवस्था गरिएकोमा सो लाई निरन्तरता दिइएको छ । साथै ज्ञानोदय माध्यमिक विद्यालय‚ रघुगंगा माध्यमिक विद्यालय‚ जनता माध्यमिक विद्यालय‚ कालिका माध्यामिक विद्यालय, रितुङ माध्यामिक विद्यालय, मुक्तिधाम माध्यमिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, अमर माध्यमिक विद्यालय, पाखापानी, अमर माध्यमिक विद्यालय, चिमखोला, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालय र मालिका आधारभूत विद्यालयमा कम्प्युटर शिक्षक वा विद्यालयको आवश्यकता अनुसार नियुक्त हुने गरी नि.मा.वि. तह सरहको एक एकजना थप शिक्षकको व्यवस्था गरिएकोमा केहि पुनरावलोकन गरी निरन्तरता दिन आवश्यक पर्ने बजेट व्यवस्था गरेको छु ।
७७. आधारभूत तहका प्रधानाध्यापकहरूको प्रोत्साहनको लागि मासिक रू. ७५०‚ माध्यमिक तहका प्रधानाध्यापहरूको प्रोत्साहनको लागि मासिक रू. १००० का दरले हुने रकम रु. ३ लाख ४० हजार बजेट विनियोजन गरेको छु ।
७८. विद्यालयको व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित बनाउन गाउँपालकाभित्रका सम्पूर्ण विद्यालयहरुका लागि सञ्चालन अनुदान बापत कक्षा १ देखि ३ सम्म सञ्चालितको लागि रु. १० हजार, कक्षा १ देखि ५ सम्म सञ्चालितको लागि रु. १२ हजार, कक्षा १ देखि ८ सम्म सञ्चालितको लागि रु. १५ हजार, कक्षा १ देखि १० सम्म सञ्चालितको लागि रु. २० हजार, कक्षा १ देखि १२ सम्म सञ्चालितको लागि रु. ३० हजारका दरले उपलब्ध गराइनेछ । जसका लागि रु. ५ लाख बजेट व्यवस्थापन गरेको छु ।
७९. विद्यालयको कार्यालय व्यवस्थापनका लागि श्री रितुङ माध्यमिक विद्यालय, श्री अमर माध्यमिक विद्यालय चिमखोला, श्री महेन्द्र माध्यमिक विद्यालय र श्री रघुगंगा माध्यमिक विद्यालयलाई ५० प्रतिशत लागत साझेदारीमा कार्यसम्पादन गर्नेगरी एकमुष्ट रु. १२ लाख बजेट विनियोजन गरेको छु । साथै प्रारम्भिक बालविकास र शिक्षाको कक्षाकोठा व्यवस्थानका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
८०. गाउँपालिकाको दोस्रो आवधिक विकास योजनासँग तादम्यता कायम हुनेगरी “पञ्चवर्षीय शिक्षा योजना निर्माण”का लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
८१. सामुदायिक विद्यालयमा अध्यापनरत बालबिकास सहजकर्ता, दृष्टिविहिन स्रोत कक्षाको आया तथा विद्यालय सहयोगीहरूको तलब भत्ताका सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मासिक तलबमा आवश्यक रकम थप गरी रु. १७ हजार २ सय ५० पु¥याइएको छ । माध्यमिक विद्यालयमा कार्यरत लेखा कर्मचारीको लागि नेपाल सरकारले निर्धारण गरेको मासिक तलबमा गाउँपालिकबाट थप गरी मासिक तलब रु. २२ हजार बनाउने व्यवस्थालाई निरन्तरता दिएको छु ।
८२. विद्यालय तहमा उत्थानशीलता सम्बन्धी शिक्षण सिकाइ प्रक्रियालाई जोड दिइनेछ । खेल, अतिरिक्त क्रियाकलाप प्रदर्शनीमार्फत यसको ज्ञान दिइनेछ । सुरक्षित सिकाइलाई प्राथमिकतामा राखिनेछ ।
८३. गाउँपालिकाभित्र “नमुना विद्यालय विकास कार्यक्रम”लाई निरन्तरता दिई रु. २ लाख बजेट विनियोजन गरेको छु ।
८४. इ. सि. डी. आधारभुत शिक्षक तालिम‚ विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका प्रतिनिधिहरुलाई तालिम र सूचना प्रविधि सम्बन्धी तालिम सञ्चालन गरी विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न “आधारभूत तहको शैक्षिक उन्नयन” शिर्षकमा लर्न (ीभ्ब्च्ल्) संस्थासँग सम्झौता गरिएको छ । यसका लागि रु. १३ लाख बजेट विनियोजन गरेको छु । साथै सोही संस्थाबाट बराबर साझेदारी हुने व्यवस्था मिलाएको छु ।
८५. विद्यालय समायोजन भई अन्य विद्यालयमा पढ्न जाने विद्यार्थीहरुका लागि तथा वर्षायाममा बाढी पहिरोको जोखिमको कारण नियमित रुपमा विद्यालय जान कठिनाई हुने विद्यार्थीहरुका लागि विद्यालयमै बसि अध्ययन गर्नका लागि आवश्यक हुने बजेटको प्रबन्ध गरेको छु ।
८६. गाउँपालिका भित्रको विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थीले नियमित अध्ययनको अतिरिक्त विज्ञान‚ सामाजिक‚ सूचना प्रविधि‚ कला‚ संस्कृति लगायत अन्य कुनै क्षेत्रमा आविष्कार वा नयाँ प्रतिभा प्रस्तुत गरेमा सो विद्यार्थीलाई प्रोत्साहन र उक्त कार्यलाई प्रवर्द्धन गरिनेछ ।यसको लागि “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” का लागि रु. २ लाख बजेट विनियोजन गरेको छु ।
८७. विद्यार्थीहरूमा खेलकुदको विकास गर्नको लागि “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा रू. १० लाख विनियोजन गरेको छु । उक्त प्रतियोगितामा कबड्डी खेल खेल्नका लागि आवश्यक पर्ने “म्याट खरिद” गर्न रु. ३ लाख बजेटको व्यवस्था गरेको छु ।
८८. विद्यार्थीहरुको सिकाइमा अभिभावकहरुको समेत अपनत्व हुनेगरी सिकाइमा जिम्मेवार बनाउनका लागि “अभिभावक शिक्षा कार्यक्रम” सञ्चालन गरिनेछ ।
८९. “शैक्षिक क्यालेण्डर” तथा “विद्यालयको नियमित अनुगमन तथा सुपरीवेक्षण”मार्फत भौतिक, शैक्षिक, व्यवस्थापकीय सुधारका लागि सुझाव प्रदान गरिनेछ । गाउँपालिकास्तरीय उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी प्रोत्साहन गर्नका लागि कार्यविधी बनाईनेछ । यसबाट शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।
९०. विद्यालयहरुको प्रशासन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९१. आधारभूत तह कक्षा ५ र ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९२. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले निर्देश गरेबमोजिम प्रत्येक विद्यालयहरुमा स्वास्थ्यकर्मीहरु मार्फत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक परामर्श गरिनेछ ।
९३. सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापन, आवासीय तथा गैरआवासीय छात्रवृत्ती, निशुल्क पाठ्यपुस्तक, तोकिएका विद्यार्थीहरूको दिवा खाजा तथा शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता समेत गरी आवश्यक बजेट रकम उपलब्ध गराउने व्यवस्था गरेको छु । यसरी शिक्षा क्षेत्रमा विनियोजित बजेटबाट यस गाउँपालिकाको शिक्षा क्षेत्रमा गुणस्तर रुपमा शैक्षिक सुधार तथा परिवर्तन हुनेमा विश्वास गरेको छु ।
स्वास्थ्य तथा आयुर्वेद
९४. गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण, मर्मत सम्भार तथा उपकरण व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीहरुको क्षमता विकास तालिम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९५. सामुदायिक स्वास्थ्य इकाई तथा प्रसुती सेवा केन्द्रका कर्मचारीहरुको पारिश्रमिकका लागि रु. ७० लाख बजेट विनियोजन गरेको छु ।
९६. गाउँपालिका भित्रका बिरामीहरूका लागि स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुने औषधि खरिद गर्न रु. ११ लाख सशर्त अनुदान प्राप्त भएकोमा औषधि तथा सर्जिकल सामग्री खरिदका लागि रु. १५ लाख बजेट थप गरी उपचारात्मक सेवा कार्यक्रमलाई निरन्तरता दिएको छु ।
९७. गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्नका लागि “स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई सुत्केरी पोषण भत्ता” को व्यवस्था गरेको छु । नजिकको स्वास्थ्यकर्मीको रुपमा परिचित महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान र प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
९८. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सञ्चार खर्च, पुनर्ताजगी तालिम प्राथमिक उपचार किटबक्स तथा झोला वितरणका लागि रु. ४ लाख बजेटको व्यवस्थापन गरेको छु ।
९९. यस गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको मासिक प्रतिवेदनका आधारमा आँखा, दाँत लगायतका रोगको समस्या अत्याधिक मात्रामा देखा परेकाले उक्त समस्या समाधान सहित नेलम्बो नेपाल र अन्य साझेदार संघ संस्थाहरुसँगको सहकार्यमा गाउँपालिकाको २ ठाउँमा बालबालिका, जेष्ठ नागरिक, महिला, युवायुवती, किशोर किशोरी, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाती, सीमान्तकृत, उत्पिडित, पिछडा वर्ग अल्पसंख्यक लगायत लक्षित वर्ग ÷ समुदायका व्यक्तिहरु लगायत आम नागरिकहरुका लागि निःशुल्क रुपमा “एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर“ सञ्चालन गरिनेछ । जसका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
१००. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, अर्धवार्षिक तथा वार्षिक समीक्षाको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१०१. बिरामीहरुका लागि उपचार खर्च महँगो भई दीर्घरोगी, गरिब तथा विपन्न नागरिकहरुले उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएकाले निजहरुको उपचारको लागि गाउँपालिकाका ८ वटै वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका र गरिब तथा विपन्न वर्गहरुको तथ्याङ्क सङ्कलन गरी अधिकतम संख्यालाई प्रत्यक्ष लाभ पुग्ने गरी ’गाउँपालिका अध्यक्ष नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
१०२. रघुगंगा गाउँपालिका वडा नं. ६ रायखोर र वडा नं. ७ चिमखोला बस्तीमा गर्भवती महिलाहरु घरमा सुत्केरी भएको तथ्याङ्क प्राप्त भएकोले ’समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी’ भन्ने गाउँपालिकाको मूल मन्त्र ओझेलमा परेकोले उक्त ठाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाई र स्वास्थ्य चौकीलाई क्रमशः बर्थिङ्ग सेन्टर सहित सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने र आवश्यक जनशक्तिको परिचालन गर्ने व्यवस्था गरेको छु ।
१०३. खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी नियमित खोप सुदृढीकरण, अनुगमन, पूर्ण खोप सुनिश्चितता र दीगोपना, वडा÷पालिका घोषणा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१०४. हरेक नागरिकको जन्मदेखि मृत्युसम्म विभिन्न कालखण्डमा बिरामी हुँदा गरिएको उपचार सेवालाई ई. एम. आर. (भ्ःच् – भ्भिअतचयलष्अ ःभमष्अब िच्भअयचम) राख्न अपरिहार्य भएकाले हरेक नागरिकहरुको स्वास्थ्य प्रोफाइल तयार गरी कार्यकम सञ्चालनका लागि ’स्वास्थ्य प्रोफाइल निर्माण’ अन्तर्गत रु. ६ लाख बजेटको व्यवस्थापन गरेको छु ।
१०५. रघुगंगा गाउँपालिकामा भौगोलिक विकटताका कारण रुख÷भिरबाट बढी दुर्घटनाहरु हुने तथा अक्सिजनको अभावमा मानिसको अकाल मृत्यु हुने भएकाले र जटिल प्रकृतिका बिरामीहरुका लागि अक्सिजनको कमीले हुन सक्ने क्षति न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य इकाईहरुमा अक्सिजन व्यवस्थापन र स्वास्थ्यकर्मी तालिमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१०६. गाउँपालिका अन्तर्गत रहेका १८ वटा स्वास्थ्य संस्थाहरुको लागि प्रशासनिक तथा अन्य विविध भैपरी आउने खर्चका लागि उचित प्रबन्ध गरेको छु ।
१०७. नेपाल सरकारको दीगो विकास लक्ष्य अनुसार २०३० सम्म आमा र बच्चामा हुने कुपोषण घटाउने प्रयोजनका लागि गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण प्रवर्द्धन गर्ने उद्देश्यले “सुत्केरी महिलाहरुका लागि स्वास्थ्यकर्मी सहित उपाध्यक्ष उपहार कार्यक्रम ‘पोषिलो खाना, कोशेली झोला’ अभियानका साथ रु. ६ लाख बजेट विनियोजन गरेको छु ।
१०८. विश्वमा नसर्ने तथा मानसिक रोग र आत्माहत्या जस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गएकाले ‘अध्यक्षसँग जेष्ठ नागरिक तथा नसर्ने रोग तथा मनोसामाजिक परामर्श’ अभियानका साथ नसर्ने रोग (मुटुरोग, मुधुमेह, क्यान्सर, मृगौला, उच्च रक्तचाप, छारे, मानसिक रोग, आत्महत्या) जस्ता घटनाहरुलाई कम गर्न जनचेतना कार्यक्रम सञ्चालन तथा उक्त रोगहरुको स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गर्ने र जेष्ठ नागरिकको घरमा महिनाको एक पटक स्वास्थ्यकर्मी परिचालन गर्न रु. ६ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छु ।
१०९. नेपाल सरकारको दीगो विकास लक्ष्य अनुसार वि. सं. २०८७ सम्म हरेक स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने कार्यकम रहेकाले ८ वटै वडामा रहेका सुनौलो हजार दिनका आमा र नागरिकहरुको पोषण सुधार कार्यकम सञ्चालनका लागि कृषि, भेटेरिनरी र पिसकोरसँग समन्वय गरी पोषण प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । जसका लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
११०. आयुर्वेद सेवालाई प्रभावकारी बनाउन आयुर्वेद स्वास्थ्य, योग तथा आयुर्वेद प्रवर्द्धन कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम तथा गाउँघर क्लिनिक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ ।
धर्म संस्कृति
१११. गाउँपालिका भित्र रहेका प्राचीनकला, साहित्य र संस्कृति विशिष्ट पहिचानका रुपमा रहेका छन् । यसर्थ सामाजिक र सांस्कृतिक रुपले हाम्रो समाज जीवित संग्रहालय हो । त्यसैले संस्कृतिको साझा सुन्दर फुलबारीको रुपमा रहेको हाम्रो समाजको तस्विर झल्काउन र अन्तर संस्कृतिको सम्मान गर्न गाउँपालिका केन्द्रमा सांस्कृतिक संग्राहलय स्थापना गरिनेछ । जहाँबाट सबैभाषी, धर्म, भूगोल र जनजातिका मानिसलले आफ्नोपन र सहायताको अनुभूति समेत गर्न सक्नेछन् ।
११२. यस गाउँपालिकाभित्र मानिँदै आएका धर्म‚ परम्परा‚ चालचलनको सम्बर्द्धन तथा धार्मिक संस्थाहरूको सञ्चालनका लागि आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था छु ।
लैङ्गिक समानता‚ सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा
११३. महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैंङ्गिक तथा यौनिक हिंसा लगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
११४. बालिकाहरूको रेखदेख संरक्षण पालनपोषण र शिक्षाको आधारका रुपमा प्रत्येक बालिकाहरूको हितको लागि छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसका लागि छोरी पेवा बचत कार्यक्रम अन्तर्गत २ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।
११५. “हाम्रो समाज, राम्रो समाज” अभियानमार्फत लैङ्गिक हिंसा‚ महिला हिंसा‚ सामाजिक कुरीतिहरू‚ लागु पदार्थ दुर्व्यसन विरुद्ध र धुम्रपान, मद्यपान तथा सूर्तीजन्य पदार्थको निरुत्साहनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । बालविवाह, बहुविवाह, बोक्सी, छुवाछुत जस्ता कुप्रथा तथा लागूपदार्थ दुर्व्यसनी, जुवातास जस्ता विकृती एवम् विसंगतीहरूको अन्त्य गरी हाम्रो समाजलाई सभ्य र सुसंस्कृत बनाइनेछ भने समाजमा हुने गरेका राम्रा र असल अभ्यासहरुको उजागर गर्नका लागि टोल विकास संस्था, सुरक्षा निकाय, महिला बालिकाको क्षेत्रमा कार्यरत निकायहरूसँग समन्वय गरी यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रु. २ लाख बजेट विनियोजन गरेको छु ।
११६. महिला, बालवालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु । साथै, नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई प्रभावकारी बनाउन बैङ्किङ प्रणालीमा आबद्ध गराउने व्यवस्थालाई निरन्तरता दिएको छु ।
११७. महिला जागृति एवम् आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक सशक्तिकरण का लागि “उपाध्यक्षसँग महिला शसक्तीकरण“ कार्यक्रम सञ्चालन गर्न रु. ५ लाख बजेटको व्यवस्था गरेको छु ।
११८. अपाङ्गता भएका व्यक्तिहरूको लागि आवश्यक उपकरणहरू उपलब्ध गराइनेछ । अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, प्रवर्द्धन सशक्तिकरणका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम साथै स्वरोजगारमूलक तालिम सञ्चालन गर्न “अपाङ्गता लक्षित कार्यक्रम” का लागि रु. ४ लाख बजेटको व्यवस्था गरेको छु ।
११९. गैर सरकारी संघ–संस्थासँगको समन्वय र सहकार्यमा हिंसा पीडित महिला, एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, सीमान्तकृत तथा लोपोन्मुख जातिको अधिकार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।
पूर्वाधार विकास क्षेत्र
सडक तथा पुल
१२०. सहज आवागमनका साथै कृषि तथा उद्योग व्यवसायको लागि वजारको पहुँच पु¥याउन अन्य पूर्वाधार विकासको लागि आधारशिला सिर्जना गर्न र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी सडक क्षेत्रमा नियमित सडक मर्मत, सम्भार तथा सञ्चालन गर्नका लागि रु. ४० लाख बजेट विनियोजन गरेको छु ।
१२१. गाउँपालिकाको गौरवको योजनाको रुपमा पाखापानी रायखोर घ्यासीखर्क सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट समपुरक अनुदानमा रु. ६० लाख बजेट प्राप्त हुन आएकाले गाउँपालिकाबाट रु. ४० लाख सहलगानी गर्ने व्यवस्था मिलाएको छु ।
१२२. गाउँपालिका जाने चोकबाट गाउँपालिकासम्मको ढलान निर्माण, वडा नं. ६ ठाडाखानी मालिका सडक निर्माण, आवश्यकता बमोजिम विभिन्न गोरेटोबाटो निर्माण तथा मर्मत लगायतका कार्यका लागि बजेट विनियोजनको व्यवस्था गरेको छु ।
खानेपानी तथा सरसफाई
१२३. गाउँपालिकाभित्र शुद्ध खानेपानीको व्यवस्थाका लागि खानेपानीका मुहानहरुको गुणस्तर परीक्षण, निर्मलीकरण र सरसफाई गर्ने कार्यको निरन्तरताका लागि रु. २ लाख बजेट विनियोजन गरेको छु ।
जलविद्युत विकास
१२४. पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जल विद्युत तथा वायोग्यास वायोमास शौर्य उर्जा लगायतका वैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिइएको छ । उज्यालो गाउँपालिका बनाउने हाम्रो सरकारको प्रतिवद्धतालाई पूरा गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सह–लगानीमा ऊर्जाको उत्पादन, वितरण र व्यवस्थापनमा जोड दिईनेछ ।
भवन निर्माण
१२५. गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वयमा व्यवस्थित एवम् सुविधा सम्पन्न “प्रशासकीय भवनको निर्माण” कार्यको थालनी गरिनेछ; यस कार्यका लागि रु. २ करोड बजेट विनियोजन गरेको छु ।
१२६. निर्माण कार्य सम्पन्न गर्ने उच्च प्राथमिकताका साथ निर्माणाधिन वडा कार्यालयहरुको निर्माण तथा घेराबारका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छु ।
वन, वातावरण, विपद् व्यवस्थापन र भूमिव्यवस्था
१२७. गाउँपालिकाको लागि खोज, राहत तथा उद्दारका सामाग्रीहरू व्यवस्थापन गर्न रकम विनियोजन गरेको छु ।
१२८. गाउँपालिकामा विभिन्न प्राकृतिक प्रकोपहरूको उच्च जोखिम रहेकोले तत्काल खोज उद्दार र राहतका लागि गाउँपालिकाको विपद् कोष तथा वडा विपद् व्यवस्थापन योजनामा रू. ४० लाख बजेट विनियोजन गरेको छु ।
१२९. विपद् पीडित विपन्न नागरिकलाई आर्थिक तथा वस्तुगत सहायता वितरण, तत्कालको राहत उद्दारका लागि सहयोग सामाजिक कुसंस्कार र हिंसाको सिकार भएका पीडित व्यक्तिहरूका लागि सहयोग लगायतका कार्यहरू गरी राहत र उद्दारको क्षेत्रमा गाउँपालिकाले सक्रियता देखाउने छ ।
१३०. सार्वजनिक जग्गा संरक्षण वर्ष अभियान अन्तर्गत गाउँपालिकाभित्र रहेका सम्पूर्ण सार्वजनिक÷सरकारी जग्गाहरूको लगत सङ्कलन अभियानलाई निरन्तर अगाडी बढाउन आवश्यक प्रबन्ध गरेको छु ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
सूचना प्रविधि र संचार
१३१. सूचना, संचार र प्रविधिको विकास मार्फत विद्युतीय शासनको दिशामा अगाडि बढ्न आवश्यक पर्ने बजेटको प्रबन्ध गरेको छु । शिक्षण सिकाइमा नवप्रवर्तन कार्यक्रममार्फत गाउँपालिकाका बाँकी विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने छ । साथै टोल बस्ती स्तरमा समेत इन्टरनेट सेवा विस्तार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
सुशासन र सार्वजनिक सेवा प्रवाह
१३२. सेवा प्रवाहमा निष्पक्षता, तटस्थता, पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व, मितव्यीता र नवप्रवर्तन सिद्दान्त अवलम्बन गर्दै सरल, सहज र समावेशी पहुँच सुनिश्चित गरिनेछ । कर्मचारी तथा शिक्षकहरूको गाउँपालिका भित्र सरुवा, पुरस्कार, सजाय, वृत्ती विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ । न्युनतम कार्य सम्पादनलाई अनिवार्य गरी उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई रू. १० हजार बराबरको गाउँपालिका उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गर्ने व्यवस्थालाई निरन्तरता दिएको छु ।
१३३. गाउँपालिकाभित्र सम्पन्न हुने सम्पूर्ण योजनाहरूको मितव्ययी रुपमा सम्पन्न गर्नको लागि सम्पूर्ण उपभोक्ता समितिका प्रमुख पदाधिकारीहरूलाई अभिमुखिकरण गर्ने व्यवस्था गरेको छु । जसको लागि रू. २ लाख बजेट छुट्याएको छु ।
१३४. सार्वजनिक सेवा प्रवाहलाई सुचना प्रविधि मैत्री बनाउने नितिलाई प्रथामिकतामा राखिने छ । राजश्व व्यवस्थापन प्रणाली, योजना व्यवस्थापन प्रणाली, डिजिटल नागरिक वडापत्रको प्रयोग गरिएको छ । साथै सार्वजनिक सम्पत्ती व्यवस्थापन प्रणाली एब्ःक् को पूर्ण प्रयोग गरी जिन्सी व्यवस्थापन गरिएको छ । गाउँकार्यपालिका कार्यालयबाट हुने सम्पूर्ण भुक्तानीलाई विद्युतीय प्रणाली (भ्ँत्) मार्फत भुक्तानी गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
संस्थागत व्यक्तिगत र मानव संशाधन विकास
१३५. गाउँपालिकामा आवश्यक पर्ने क्षेत्रगत जनशक्तिको प्रक्षेपण, प्राप्ति, क्षमता विकास र प्रभावकारी उपयोग गर्न जनशक्ति विकास योजना तयार गर्ने व्यवस्था मिलाएको छु ।
१३६. सार्वजनिक पदाधिकारीहरूको जवाफदेहिता सुनिश्चित हुने वातावरण सिर्जना गर्न विषयगत समिति र जनप्रतिनिधीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको न्यायिक कार्य सम्पादनलाई प्रभावकारी ढंगबाट अगाडी बढाउनका लागि न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता विकास गर्ने तथा न्यायिक समिति व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३७. जनप्रतिनिधि तथा कर्मचारीहरूमा व्यक्तित्व विकास क्षमता विकास र सामाजिकिकरणका साथै परिवर्तित प्रविधिसँग अद्यावधिक गर्न जनप्रतिनिधि तथा कर्मचारी क्षमता विकास तालिमको व्यवस्था गर्न रू. ५ लाख विनियोजन गरेको छु ।
१३८. सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाई विद्युतीय सुशासन गर्न आवश्यक व्यवस्था मिलाएको छु । सार्वजनिक सेवामा सुशासनको प्रत्याभूति गराउन भ्राष्ट्राचारविरूद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्ने व्यवस्था मिलाएको छु ।
कर्मचारी प्रोत्साहन तथा पुरस्कार
१३९. विषम् परिस्थितिमा समेत सेवामा खटिने स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन गरिने छ ।
कार्यालय संचालन तथा प्रशासनिक खर्च
१४०. हाम्रो सरकारको दुर दृष्टि, नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने संयन्त्रका रुपमा रहेको कर्मचारीतन्त्रको सञ्चालन व्यवस्थापन र कार्यालय सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१४१. कर्मचारीहरुको पारिश्रमिक तथा सुविधाको लागि स्वीकृत दरबन्दी बमोजिमको आवश्यक रकम विनियोजन गरेको छु ।
१४२. पदाधिकारीहरूको सेवा सुविधाको लागि आवश्यक बजेट प्रबन्ध गरेको छु ।यसको लागि रू. १ करोड रकम विनियोजन गरेको छु ।
१४३ कर्मचारी कल्याण कोषको स्थापना गरी बजेटको सुनिश्चितता गर्दै लगिनेछ । आगामी आर्थिक वर्षका लागि कर्मचारी कल्याण कोषका लागि रू. २५ लाख बजेट विनियोजन गरेको छु ।
सभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यहरु
अब म आर्थिक बर्ष २०८१।८२ का लागि प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्नका लागि लिईएको राजश्व सङ्कलनका आधारहरु प्रस्तुत गर्दछु ।
–रघुगंगा गाउँपालिकाले स्वीकृत गरेका मौजुदा करका श्रोतहरुका आधारमा स्वीकृत राजश्व असुली प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
–कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिनेछ । कर तथा गैरकरका दरलाई प्रगतिशील बनाई राजस्व परिचालन गर्ने व्यवस्था मिलाएको छु ।
–रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी विभाज्य कोष खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
–प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी सम्भावित बगरक्षेत्रहरूबाट दहत्तर बहत्तर संकलन गरी आन्तरिक आय वृद्धी गर्ने लक्ष्य लिएको छु ।
–गाउँपालिका भित्रमा सम्पत्ति करलाई थप व्यवस्थित बनाई संकलन गरिनेछ ।
–गाउँपालिकाका विभिन्न वडामा रहेका स्थानीय श्रोतहरुको अध्ययन गरी अवस्था र आवश्यकता अनुसार कानून निर्माण गरी सम्भाव्य श्रोतहरुको समुचित उपयोगको नीति लिईएको छ ।
–गाउँपालिका भित्र सञ्चालित ठूला आयोजनाको निर्माणका कारण सडक जीर्ण हुने अवस्था आएमा त्यस्तो जीर्ण अवस्थाको मुल्यांकनका आधारमा स्थानीय सडक उपयोग सम्बन्धी शुल्क लगाउन आवश्यक नीति निर्माण गरिने छ ।
खष्ष्ष्. रघुगंगा खोलाको प्रारम्भिक वातावरणीय अध्ययन गरी प्रतिवेदनका आधारमा नदी खोलाको पर्यवरणीय सन्तुलन नबिग्रने गरी नदी जन्य पदार्थको उत्खनन गरी आन्तरिक श्रोत वृद्धि गरिने छ ।
–स्थानीय कर राजश्व विज्ञ परामर्शदाताको माध्यामबाट स्थानीय कर राजश्व सम्बन्धी अध्ययन गराई प्राप्त तथ्यका आधारमा सरोकारवालाहरुको सहभागितामा प्रशिक्षण गराई स्थानीय करको पहिचान तथा करलाई परिभाषित गरी स्थानीय कर राजश्वको स्थायीत्वमा आम गाउँपालिकाबासीहरुको उत्तरदायित्व वृद्धि गरिने छ ।
–राजस्व सम्बन्धमा व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधेयक, २०८१ लाई यसैसाथ प्रस्तुत गरेको छु । उक्त प्रस्ताव २०८१ श्रावण १ गतेबाट लागू हुने व्यवस्था मिलाएको छु ।
अब म बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
१४४ नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्फ ७ करोड ८२ लाख रुपैयाँ, सङ्घीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ करोड २२ लाख रुपैयाँ, सङ्घीय सरकार सशर्त अनुदानतर्फ २१ करोड ६८ लाख रुपैयाँ, सङ्घीय सरकार विशेष अनुदानतर्फ १ करोड २५ लाख रुपैयाँ गरी सङ्घीय सरकारबाट प्राप्त हुने गरी ३९ करोड ९७ लाख रुपैयाँको बजेट प्राप्त हुन आएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ९४ लाख ५७ हजार रुपैयाँ, राजश्व बाँडफाँडतर्फ १ करोड १४ लाख ३८ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ गरी गण्डकी प्रदेश सरकारबाट जम्मा ३ करोड ८ लाख ९५ हजार रुपैयाँको बजेट प्राप्त हुन आएको छ । त्यसैगरी आगामी आ. व. का लागि आन्तरिक राजश्वतर्फ १ करोड ४५ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ भने यस आ. व. मा खर्च नभई बाँकी रहने रकम ४ करोड रुपैयाँ हुने अनुमान गरी आन्तरिक आयतर्फ जम्मा रु. ५ करोड ४५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र आन्तरिक राजश्व (आगामी आ. व. को अनुमान र यस आ. व. मा खर्च नभई बाँकी रहने रकम) समेत गरी जम्मा ४८ करोड ५० लाख ९५ हजार कुल आय प्राप्त हुने अनुमान गरी सोहि बमोजिम व्ययको व्यवस्था मिलाएको छु ।
सभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यहरु
–यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतिबद्ध छ ।
–यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष, गाउँसभाका सदस्यहरू, विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारी क्षेत्र र विद्वत वर्ग‚ नागरिक समाजका तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।
–यो बजेटको सफल कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु । साथै, मुलुक भित्र र बाहिर रहनु भएका सबै नेपालीलाई “समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी” निर्माणको हाम्रो सरकारको महान यात्रामा सहभागी हुन आव्हान गर्दछु । धन्यवाद !





