बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मिलन समीर र मिलन समीरहरु’ लाई वर्ष पुस्तक पुरस्कार

‘मिलन समीर र मिलन समीरहरु’ लाई वर्ष पुस्तक पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८१, शनिबार

स्याङ्जा/नारी स्रष्टा समाजद्वारा हरेक वर्ष नेपाली भाषामा नेपालभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित साहित्यिक पुस्तकहरुमध्ये नारी स्रष्टा समाजलाई प्राप्त भएका पुस्तकहरुमध्येबाट छनौट गरिएको उत्कृष्ट पुस्तकलाई प्रदान गरिने प्रभुभक्त– छोरीनानी वर्ष पुस्तक पुरस्कार– २०८० पहिलोपटक युवाकवि मिलन समीरको ‘मिलन समीर र मिलन समीरहरु’ (दुई दशकका शृङ्खला कविताहरु २०८० ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नारी स्रष्टा समाजका अध्यक्ष श्री ममता मृदुलको अध्यक्षतामा असोज १० गते बिहीबार काठमाडौंमा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित साहित्यिक पुस्तकहरुमध्येबाट छनौट गरी उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्दै जाने प्रयोजनका लागि स्थापित प्रभुभक्त–छोरीनानी वर्ष पुस्तक पुरस्कार २०८० पहिलोपटक मिलन समीर र मिलन समीरहरू पुस्तकलाई प्रदान गर्ने निर्णय भएको हो ।
२०८० सालभरिमा नेपाली भाषामा नेपालभरिबाट प्रकाशित भएर नारी स्रष्टा समाजलाई प्राप्त भएका विभिन्न विधाकेन्द्रित साहित्यिक पुस्तकहरुमध्येबाट उत्कृष्ट पुस्तकको रूपमा निर्णायक समितिद्वारा सर्वसम्मत रूपमा छनौट भएको मिलन समीर र मिलन समीरहरु पुस्तकमा मिलन समीर र मिलन समीर शीर्षकको पहिलो खण्ड अन्तर्गत १८ वटा, पर्खाइमा शीर्षकको दोस्रो खण्ड अन्तर्गत ४ वटा, यति वेला शीर्षकको तेस्रो खण्ड अन्तर्गत ३२ वटा, दृष्टिभ्रम शीर्षकको चौथो खण्ड अन्तर्गत २ वटा, दुर्भाग्य शीर्षकको पाँचौं खण्ड अन्तर्गत ५ वटा, विडम्बना शीर्षकको छैटौं खण्ड अन्तर्गत १० वटा र केही अपवादबाहेक शीर्षकको सातौं खण्ड अन्तर्गत ५ वटा गरि जम्मा ७६ वटा लामा– छोटा शृङ्खला कविताहरु समावेश गरिएको छ ।
आफ्ना युगसचेत सघन भाव र संवेदनासहित कवितामा अहम् घोषित युवाकवि मिलन समीरका शृङ्खला कविताहरु, जहाँ कविद्वारा नाटकीय रूपमा समाज र राष्ट्रका विविध आयामहरुलाई स्पर्श गरिएको छ । अहम् ब्रह्माष्मिदेखि तत्वमसिसम्मको यात्रा गर्दा कविको रचनाधर्मिताले व्यक्ति, समाज, देश र यावत् विश्वका अवस्थितिलाई समेत सम्बोधन गरिरहेको छ । मिथ्याजगतका सत्यलाई अनुभूत गरी युवाकवि मिलन समीरद्वारा सत्यान्वेषणको लागि आफ्नै अस्तित्वमा समस्ततालाई आरोपण गरि मिलन समीर र मिलन समीरहरु जन्माइएको छ ।
यसरी शृङ्खला कविताहरुको माध्यमबाट आफूलाई पोख्नुको हदसम्म पोखेका समकालीन नेपाली साहित्यका एक अत्यन्तै उर्जाशील, जागरुक, क्रियाशील र सिर्जनशील स्याङ्जाका युवाकवि मिलन समीरलाई पहिलोपटक प्रदान गरिन लागेको प्रभुभक्त– छोरीनानी वर्ष पुस्तक पुरस्कार सहृदयी सिर्जनशील व्यक्तित्व श्री बिन्जु जोशी र सशक्त अग्रज आख्यानकार व्यक्तित्व श्री बिक्रम भक्त जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो र यही वर्षदेखि प्रदान गर्न थालिएको हो ।
आगामी मङ्सिर १ गतेका दिन काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->