बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलजलाको लक्षित वर्ग एम्बुलेन्सबाट ६७ जनालाई निःशुल्क सेवा

जलजलाको लक्षित वर्ग एम्बुलेन्सबाट ६७ जनालाई निःशुल्क सेवा


  • संजय रेग्मी
  • कार्तिक १३ २०८१, मंगलबार

पर्वत / पर्वतको जलजला गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सशुल्क सेवा अन्तर्गत तीन महिनाको अवधिमा एक सय ४६ जनाले उपभोग गरेका छन् ।
जलजला गाउँपालिकाको सचिवालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम तीन महिनामा ७९ जनाले निःशुल्क र ६७ जनाले सशुल्क सेवा पाएका छन् । ६७ जनाले सशुल्क सेवामार्फत गाउँपालिकाले कुल दुई लाख ३१ हजार तीन सय ९० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो अवधिमा जलजला गाउँपालिका भन्दा बाहिरका ३१ जना सेवाग्राहीहरूले एम्बुलेन्स सेवा उपभोग गरेका छन् ।

निःशुल्क सेवा लिएका ७९ जनामा ‘क’ वर्गको अपाङ्गता भएका एक जना, ज्येष्ठ नागरिक ३१ जना, सुत्केरी÷गर्भवती १८ जना, गरिब तथा असह्य २० जना र अन्य नौ जना रहेका छन् । सचिवालयका अनुसार काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स सेवा लिने चार जना, चितवनसम्म पुगेका एक जना, पोखराका अस्पतालसम्म पुगेका ८० जना, बागलुङका अस्पतालसम्म पुगेका १९ जना, पर्वत अस्पतालमा पुगेका चार जना, म्याग्दीको बेनी अस्पतालमा पुगेका ३६ जना र जलजला गाउँपालिकाभित्रै एम्बुलेन्स सेवा उपभोग गरेका दुई जना रहेका छन् ।

गत साउन महिनामा लक्षित वर्ग अन्तर्गत १७ जनाले निःशुल्क र शुल्क तिरेर २४ जनाले सेवा पाएका छन् । शुल्क तिरेकाहरूबाट ७७ हजार एक सय २० रुपैयाँ राजश्व सङ्कलन भएको छ । भदौ महिनामा कुल ४९ जनाले सेवा लिँदा २५ जना लक्षित वर्गका नागरिक रहेका छन् भने अन्य २४ जनाबाट ८४ हजार आठ सय रुपैयाँ राजश्व उठेको छ । यस्तै असोज महिनामा ३७ जनाले निःशुल्क सेवा लिँदा शुल्क तिर्नेहरूको सङ्ख्या १९ जना रहेका छन् । उनीहरूबाट ६९ हजार चार सय रुपैयाँ उठेको गाउँपालिकाको सचिवालयले बताएको छ ।

गाउँपालिकावासीहरूको अवस्थाका बारेमा बुझेर अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असह्य र अन्य विशेष अवस्थाका गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाउँदै आएका छन् भने यी बाहेक नागरिकले सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेका गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । नागरिकलाई स्थानीय सरकारको अनुभूति दिनका लागि यो काम महत्त्वपूर्ण भएको र बिरामी भएको बेलामा आर्थिक समस्याले स्वास्थ्य संस्थासम्म जान नसक्नेहरूको लागि मानवीय धर्मको काम पनि भएको उनको भनाइ छ ।

गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउने गरी गाउँपालिकाले अग्रसरता लिएको हो । सबै वडाका गर्भवती र सुत्केरीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा बाहिरी जिल्लाका अस्पतालमा आउजाउ गर्नुपर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि लैजानुपर्ने, घरमा आम्दानी गर्ने व्यक्ति नभएका विपन्न र गरिब तथा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका गाउँपालिकावासीहरूले निःशुल्क एम्बुलेन्स सेवा पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->