बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत जिल्ला अस्पतालको आफ्नै खानेपानी आयोजना

पर्वत जिल्ला अस्पतालको आफ्नै खानेपानी आयोजना


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८१, बुधबार

कुश्मा / पर्वत जिल्ला अस्पतालले आफ्नै पानी पाएको छ । आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको अभाव समाधान भएको छ । कुनैबेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य उपचारमा नै समस्या व्यहोर्नुपरेको अस्पतालले यतिखेर भने पानीको अभाव झेल्नु परेको छैन ।

अस्पतालको आफ्नै खानेपानी योजना सफल भएपछि अस्पताल हाताभित्र रहेको १ लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की जतिबेलै पनि भरिएको हुन्छ । करिब ५० लाख लागतमा निर्माण गरिएको खानेपानी योजनाको काम थालनी भएको करिव चार महिनामै आधा मात्रै बजेट करीव २५ लाख लगानीमा नै सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार गत चैत महिनाबाट काम सुरु गरी असारमा सम्पन्न भएको खानेपानी योजना केही समय परीक्षण कालमा रहे पनि अहिले भने पानीको प्रवाह नियमित रहेको छ । खानेपानी योजना सम्पन्न गर्नका लागि बजेटको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट गरिएको थियो । सम्भवतः गण्डकी प्रदेशमै पर्वत जिल्ला अस्पताल पहिलो होला जसले आफ्नै खानेपानीको योजना सफल बनाएर पानीको अभाव पूर्ति गरेको छ ।

नियमित पानीको सुविधाकै कारण अस्पतालको सरसफाई सहित स्वास्थ्य सेवा समेत सहज बनेको छ । एकवर्ष अगाडिसम्म अस्पतालले ट्याङकरमार्फत् वार्षिक ५ देखि ६ लाख रकम सम्म पानी खरीदका लागि खर्चिनु पर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.हेमन्त बास्तोला बताउछन । पन्ध्र शैयाको जिल्ला अस्पतालले अहिले ५० शैया राखेर विरामीलाई स्वास्थ्य सेवा दिइरहेको छ ।

पानीको योजना सफल भएसँगै अस्पतालको दैनिक स्वास्थ्य सेवा समेत प्रभावकारी हुने विश्वास व्यक्त गर्दै डा.बास्तोलाले भने,’अस्पतालमा सरसफाई महत्वपूर्ण हुन्छ । सरसफाइका लागि नभई नहुने पानीको अभावले अस्पतालमा रोगको संक्रमण फैलने खतरासँगै र स्वास्थ्य सेवा समेत प्रभावित रहेको अवस्था थियो । अहिले पानी आपूर्ति सहज हुँदा धेरै राम्रो छ । पानीको स्रोतका लागि पहल गर्ने अस्पताल सञ्चालक समितिको नेतृत्व, स्थानीय वडाका जनप्रतिनिधी सहित सरोकारवाला सवैको साथले नै योजना समयमा सफल भएको हो ।’

अस्पतालले गतवर्ष ५८ हजार ६ सय २६ जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा यस आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा स्वास्थ्य सेवा लिने विरामीको संख्या २० हजार ७४ रहेको छ । पानीको सुविधा राम्रो भएसँगै डायालाइसिस सेवा लिने विरामीका लागि समेत धेरै सुविधा भएको अस्पतालको भनाइ छ । अस्पतालमा डायालाइसिस गर्ने विरामीको संख्या अहिले २६ जना रहेको छ । डायालाइसिसका लागि चाहिने शुद्धपानी निकाल्ने रिआरओ प्लान्टका लागि मात्रै दैनिक ८ देखि १० हजार लिटरको आवश्यकता पुरा गरिएको छ ।

कालीगण्डकी किनाराभन्दा केही माथि गोपाङघाटमा रहेको पानीको मूलबाट निस्कने पानीलाई करीव ७ हजार लिटर बराबरको ट्याङकीमा संकलन गरिएको छ । संकलित पानी करीव ८ सय मिटर लम्वाइको पाइप मार्फत् मोटरले तानेर अस्पतालको ट्याङ्कीमा खसालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->