पर्वत/दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पु¥याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू राति नौ बजेभित्र शान्तिपूर्वक रूपमा मात्रै सञ्चालन गर्न भनिएको छ । चाडपर्वहरू मनाउने क्रममा कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय देखिने कार्य नगरी स्वतन्त्र र खुसीयाली पूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न प्रशासनले अनुरोध गरेको छ ।
चाडबाडको बहानामा जुवा तास खेल्ने खेलाउने काम नगर्न, आतिसबाजी, भुईचम्पा, पटका जस्ता विस्फोटक पदार्थ प्रयोग तथा ओसारपसार नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झै–झगडा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ । त्यस्तो गरे वा गराएको पाइएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई खबर गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा जारी सूचनामा भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गा रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्यपदार्थहरूको विक्री वितरण र उपभोग नगर्न र नगराउनुहुन पनि अनुरोध गरिएको छ ।
प्रशासनले प्रतिबन्ध लगाएका कुराहरूमा अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप भए गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ ।





