शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरपालिकाका नूतन काम

बागलुङ नगरपालिकाका नूतन काम

नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेर एक करोडमा वडा नं. ३ गहतेमा कुकुर होस्टेल बनाइरहेको छ ।सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिजलगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नुपरेको हो ।


  • ढोरपाटन डेक्स
  • भाद्र १ २०८२, आइतबार

कुकुर होस्टेल निर्माण
बागलुङ नगरपालिकाले गरेका धेरै काममध्ये केही नमूनायोग्य काम सम्पन्न गरेको छ । तीमध्ये कुकुर होस्टेलको काम महत्वपुर्ण छ । भुस्याहा कुकुर भनिने सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो । सो नीतिअनुसार नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेर एक करोडमा कुकुर होस्टेल बनाइरहेको छ । बागलुङ नगरापलिका वडा नं. ३ गहतेमा यो होस्टेल बन्दैछ । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिजलगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गर्नु परेको हो । ती कुकुरले टोकेर वर्षमा धेरै जना घाइते भएको, कतिपयलाई रेबिज रोग समेत लागेकोले होस्टेल बनिसकेपछि नागरिकले यसको महत्व बुझ्ने छन् । प्राविधिक कारणले निर्माणमा ढीलाइ भएपनि केही समयभित्रै यो सम्पन्न हुनेछ ।

फोहोरलाई शुन्य बनाउने अभियान
बागलुङ नगरपालिकाले तीन तहका फोहोर संकलन गरेर ‘जिरो वेस्ट’ अर्थात् सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान थालेको छ । डेढ दशकदेखि बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएकोमा अब भने घरघरबाटै कुहिने र नकुहिने फोहोर छुट्ट्याएर व्यवस्थापन गरिनेछ । त्यसका लागि नगरपालिकाले वर्षौ पुरानो डम्पिङ साइटलाई खाली बनाएको छ ।

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्य लगायतका खतरा फोहोरको व्यवस्थापन गरिनेछ । फोहोर व्यवस्थापनका लागि संरचना निर्माण र व्यवस्थापनको काम शुरु भैसकेको छ । कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन भैरहेको छ । अबका दिनमा सडक छेवैको डम्पिङले दुर्गन्ध खेप्नु पर्दैन । डम्पिङ साइट दुर्गन्धरहित हुनेछ । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । वडा नं. १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको हो ।

छोरी जन्मने बित्तिकै ५ हजारको मुद्दती खाता
बागलुङ नगरपालिकाले छोरी बचाउ अभियान शुरु गरेको छ । तेह्रौ नगरसभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ल्याएको नीतिमार्फत ‘नगरको छोरी’ अभियान शुरु भैसकेको छ । त्यसका लागि छोरी जन्मनेबित्तिकै ५ हजारको मुद्दती खाता खोलिदिने व्यवस्था गरिएको हो । अभिभावकले सक्ने भएमा उक्त रकममा थप गर्न लगाउने र कम्तिमा २० वर्ष झिक्न मिल्दैन । त्यतिबेलासम्म यतिबेला जन्मेकी छोरीले उमेर पुग्दा राम्रो बचत गर्न सक्नेछिन् ।

गर्भ परीक्षण गरेर छोरी भए भु्रण हत्या गर्ने प्रवृत्ति अन्त्यका लागि यो नीति अबलम्बन गरिएको हो । नगरपालिकाले यसअघि महिला उपभोक्ता भएको योजनामा लागत सहभागिता पनि थोरै भएपुग्ने नीति लिइरहेको छ । त्यस्तै महिला उद्यमीलाई सम्मान गर्ने, उद्यमका लागि उपकरण, सामाग्री खरिदमा छुट दिने र व्यवसायमा पनि महिला भएमा करको दर घटाउने गरी नीति लिएको छ । साथै, आगामी असोज मसान्तभित्र कर तिर्न चाहनेलाई दश प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।

बागलुङ नगरपालिका बालमैत्री घोषणा
बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । वर्तमान पदाधिकारी निर्वाचित भएर आएपछि नगरप्रमुखको पहिलो एजेण्डाको रुपमा बालमैत्री नगर बनाउने निर्णय भएको थियो । यो निर्णय पुरा गर्न बालमैत्री कार्यान्वयन कार्यविधि २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले तोकेका सबै सूचक पुरा गरेर बागलुङ नगरपालिका बालमैत्री घोषणा भएको छ ।

नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागलुङ नगरपालिकालाई ‘बालमैत्री शासनयुक्त नगर’ घोषणा गरेका थिए । बालमैत्री स्थानीय शासनका लागि स्वास्थ्य, शिक्षा र समुदाय तहमा गरी ५१ वटा सूचकपुरा भएका छन् । यो घोषणासँगै नगरभित्रका झण्डै २७ हजार बालबालिका निकृष्ठ श्रमबाट मुक्त, बालबिवाहरहित र अर्थपूर्ण सहभागिता सहितको बालअधिकार पाएका छन् ।

बालमैत्री घोषणा पछि नगरभित्रका सबैखाले सामाजिक क्षेत्रमा बालबालिकाको सहभागिताको सुनिश्चितता हुनुपर्ने प्रावधान छ । बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि ती सूचकहरु निरन्तर पुरा भएको हुनुपर्ने बाध्यता छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा ५१ प्रकारका सूचक सबै विद्यालय, वडा र समुदायमा पुगेपछि घोषणाका लागि सिफारिस गरेको थियो । २०७९ जेठ ६ गतेको पहिलो कार्यपालिकाको बैठकको निर्णय गत माघ ९ गते यो घोषणा भएको हो । त्यसअघि १४ वटा वडा र १ सय ४ विद्यालयलाई नै बालमैत्री घोणापछि नगर घोषणा भएको हो ।

विश्वबैंकको सहकार्यमा स्तरीय सडक निर्माण
बागलुङ नगरपालिकाले ‘सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम’मार्फत स्तरीय सडक निर्माण गरेको छ । वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी गरी साँढे १२ किमी सडक कालोपत्रे गरेको हो । विश्वबैंकको अनुदान सहयोगमा नगरपालिकाले ४८ करोडमा सडक बनेको हो । यी सडकले पर्यटकलाई छोटो बाटोमा म्याग्दी र मुस्ताङ जिल्ला जान सहयोग पुग्नेछ । साथै, किसानका उत्पादन बजार पठाउन पनि सहज हुनेछ । दाहसँस्कारका लागि ऐतिहासिक निरयघाट जान पनि सहज पहुँच पुगेको छ भने माझी बस्तीलाई स्तरीय सडकले जोडेको छ ।

ब्लुहिल पर्यटकीय क्षेत्र
बगलुङ नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ब्लुहिल पर्यटकीय क्षेत्र बनाउने अभियान शुरु भएको छ । बागलुङ बजार, धौलागिरि हिमालसहितका श्रृंखला देख्न सकिने यो स्थान रमणीय छ । यहाँसम्म जाने सडकमार्ग र पदमार्ग निर्माण गरिनेछ । यहाँ आर्कषक पर्यटकीय स्थलहरु निर्माण गरेर नगरबासीसहित अन्य क्षेत्रका पर्यटकलाई पनि लैजाने योजना छ । यो स्थल पर्यटकीय रुपमा स्थापित भैसकेपछि बाहिरबाट आउने पर्यटकहरु एक दिन जिल्लामै बस्ने वातावरण समेत बन्ने छ । यहाँ हाल पुर्वाधार निर्माणको काम भैरहेको छ । त्यसबाहेक स्थानीयलाई उत्पादनमा जोड्ने र बजारीकरण गर्ने, पर्यटकका लागि होमस्टेहरु संचालन गर्न प्रोत्साहित गर्ने काम पनि शुरु भएको छ । यहाँका किसानले पनि बाँझो भएको जमिनमा ओखर खेती थालेका छन् । कतिपयले सुन्तला खेतीका लागि बिरुवा रोपेका छन् ।

बजारको सौन्दर्यकरण
बागलुङ बजारलाई आर्कषक बनाउन नगरपालिकाले फुटपाथको व्यवस्थापन गरिरहेको छ । पहिलो चरणमा मरेपिपल खण्डमा, दोश्रो चरणमा ट्राफिकचोकदेखि टेलिकमचोक, तेस्रो चरणमा श्रीनगर टोलको सडकमा फुटपाथ बनाइसकेको हो । अब भने मुल सडकमा फुटपाथ बनाइने छ । समीक्षालय चोकदेखि जिपपार्क खण्डमा फुटपाथ बनाएपछि ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने छ । सडकमा हिंड्ने अभ्यास अन्त्य गर्दै सभ्य नागरिकको पहिचान बनाउन यो फुटपाथ उपयोगी भैसकेको छ । सडक दुर्घटना कम गर्न यो काम उपयोगी बनेको छ ।

जथाभावी टाँगिएका तारपोल व्यवस्थापनको काम भैसकेको छ । नगरभित्रका चोक सुधार भएका छन् । भल व्यवस्थापनका लागि डिपिआर गरेर काम शुरु भैसकेको छ । घरको चारैतिर प्लास्टर गर्ने लहर चलेको छ । घरघरमा बगैचा निर्माणमार्फत सौन्दर्य बढाउने काममा पनि बागलुङ नगरपालिकाले पहल गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->