मनाङ/ मनाङको नासों गाउँपालिका १, तालडाँडामा शुक्रबार बिहान ठूला २ वटा ढुङ्गासहित पहिरो जाँदा बेंसीसहर चामे सडक अवरुद्व भएको छ । शुक्रबार बिहान करिब ७ बजेतिर पहिरो झरेको र साढे ९ बजेतिर एकतर्फी खुलाएकोमा ठूलो ढुङ्गा झरेपछि सडक अवरुद्व भएको हो ।
सडकको ठूलो ढुङ्गा पन्छाउने क्रममा माथिबाट अर्को ठूलो ढुङ्गा झरेको र थप पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनका अनुसार अहिले मनाङ मर्स्याङ्दी हाइड्रोपावरको एउटा एक्स्काभेटर र ब्ल्याकहो लोडरले काम गरिरहेको छ ।
२ वटा मेसिनले पहिरो पन्छाउन नसकेपछि लालुपाते हाइड्रोपावरबाट थप एउटा एक्स्काभेटर ल्याएर बाटो खुलाउने तयारी गरिएको उनले बताए । सडकमा अवरुद्व भएपछि चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी तथा स्वदेशी पर्यटक रोकिएका छन् ।





