बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमपातले गण्डकीका ४५ मतदान केन्द्रमा निर्वाचन प्रभावित

हिमपातले गण्डकीका ४५ मतदान केन्द्रमा निर्वाचन प्रभावित

निर्वाचनका बेला हिमपात भएमा मनाङ र मुस्ताङका ४५ वटा मतदानस्थल प्रभावित हुनसक्ने सुरक्षा निकायले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०८२, आइतबार

पोखरा/प्रतिनिधिसभा सदस्य निर्वाचनको मितिनजिकिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीहरू जिल्लाहरुमा पठाउन सुरु भइसकेको छ ।

प्रधानमन्त्री सुशीला कार्की अहिले निर्वाचनको आवस्यक तयारीबारे बुझ्न देश दौडाहामा छिन् । यसैक्रममा उनी शुक्रबार गण्डकी प्रदेशमा आइन् । मुस्ताङको मुक्तिनाथ मन्दिर पुगिन्, मुस्ताङ र कास्कीको मात्र होइन, प्रदेशकै निर्वाचन तयारी र अन्य अवस्थाबारे बुझिन् । सुरक्षा अधिकारीहरुले मतदाता, उम्मेदवार, मौसमको अवस्था र हिमाली–पहाडी जिल्लाको सुरक्षाबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।

निर्वाचनका बेला हिमपात भएमा मनाङ र मुस्ताङका ४५ वटा मतदानस्थल प्रभावित हुनसक्ने सुरक्षा निकायले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेका छन् । गण्डकीमा कूल १२९९ मतदानस्थल रहेका छन् । त्यसमा हिमपात भएमा ४५ वटामा मात्रै हिउँ परेको अवस्थामा असहज हुनसक्ने उनीहरुको भनाई थियो ।

उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिमका लागि यसपटक अन्य निर्वाचन सामग्रीबाहेक हाइ अल्टिच्युडमा खाने औषधि र पोर्टेबल औषधि पनि थप गरिएको छ । प्रधानमन्त्री कार्कीले केही व्यक्तिहरू अझै पनि निर्वाचन भाँड्न सकिन्छ कि भनेर लागिरहेको र त्यसमा सबै सुरक्षा निकायहरू चनाखो हुनुपर्ने बताएकी थिइन् ।

गण्डकीमा कुल १८ लाख मतदाता छन भने ३१४ उम्मेदवार चुनावी मैदानमा छन् ।

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन ।

यहाँ हिमपात भएकाले मतदान केन्द्रको अनुगमन गर्न केही समस्या भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विशेष गरी हिमपातका कारण नार्पाभूमि गाउँपालिकामा रहेका मतदान केन्द्रको अनुगमनमा समस्या भएको जानकारी दिए ।

उनले भने, ‘भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाकामा रहेका मतदान केन्द्रको यसअघि नै अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकिएको छैन ।’

मनाङ सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्र पुग्न हिँडेर दुई दिन लाग्छ । नार्पाभूमि गाउँपालिकाका वडा नं १ देखि ३ सम्म नार क्षेत्रमा तीन, वडा नं ४ र ५ को फू क्षेत्रमा दुई गरी पाँच वटा मतदान केन्द्र छन् ।

यहाँ आउजाउ गर्न समस्या भएपछि अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएका र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयामा छलफल भइरहेको बताए ।

जिल्लामा तीन हजार ६२३ महिला र तीन हजार ३७७ पुरुष गरी सात हजार मतदाता रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा छ हजार ७७९ मतदाता रहेकामा यसपटक २२१ मतदाता थपिएका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->