गाउँसभाका सदस्यहरू ।
१. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु ।
२. यस अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र देशभक्तिपूर्ण आन्दोलनमा देश र जनताको लागि प्राण उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस क्रममा घाइते हुनुभएका राष्ट्रप्रेमी व्यक्तित्व तथा उहाँहरूको परिवारजनप्रति उच्च सम्मान प्रकट गर्दछु ।
३. हाम्रो सरकारले अवलम्बन गरेको “समृद्ध बरेङ सुखी बरेङवासी” को दीर्घकालीन सोच प्राप्तिका लागि समर्पित सम्पूर्ण जनप्रतिनिधीहरू, पूर्व जनप्रतिनिधिहरू, राजनैतिक दलहरू, कर्मचारीहरू, नागरिक समाज, संघसंस्थाहरू, पत्रकारहरू, सुरक्षाकर्मी लगायत सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु र आगामी दिनहरूमा समेत सोही प्रकारको सहयोगको अपेक्षा गर्दछु । साथै हाम्रो सरकारको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा विभिन्न तह र तप्काबाट अमूल्य सुझाव प्रदान गर्नुहुने सम्पूर्ण बरेङवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सबैप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद व्यक्त गर्दछु ।
सभाका सदस्यहरू,
म अब गाउँपालिकाको दीर्घकालीन विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण प्रयास, अवसर र चुनौतीहरू उल्लेख गर्न चाहन्छु ।
चालिएका कदम तथा महत्वपूर्ण प्रयासहरू
१. हाम्रो सरकारको अन्तिम गन्तव्य बरेङवासी नागरिकहरूको सुख र समृद्धि हासिल गर्नका लागि उपलब्ध सीमित स्रोत साधनको अत्यन्तै विवेकपूर्ण प्राथमिकीकरण, कुशल विनियोजन र दक्षतापूर्ण कार्यान्वयनमा जोड दिइएको छ ।
२. गाउँपालिकाको न्यून आन्तरिक आयका कारण ठूला पूर्वाधारजन्य योजनाहरूको निर्माणमा संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा जोड दिइएको छ ।
३. मानव विकास तथा सामाजिक विकासलाई केन्द्रविन्दुमा राख्दै “शिक्षामा प्रविधि बरेङमा समृद्धि’’ भन्ने नाराको कार्यान्वयनका लागि बालविकास केन्द्रबाट नै प्रविधिमैत्री शिक्षण विधिको थालनी गरिएको छ ।
४. गाउँपालिकाको तत्कालीन र दीर्घकालीन योजनाहरूबीच सम्बन्ध कायम गर्नका लागि गाउँपालिकाको आवधिक योजना, वार्षिक योजना र मध्यमकालीन खर्च संरचनाबीच अन्तरसम्बन्ध स्थापित गरिएको छ ।
५. तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वय कायम गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप संघ र प्रदेश सरकारका वार्षिक नीति तथा कार्यक्रम, आवधिक योजनासँग गाउँपालिकाको नीति कार्यक्रम र बजेटबीच तादात्म्यता कायम गरिएको छ ।
६. सन्तुलित विकासको अवधारणा अवलम्बन गर्दै उपलब्ध प्रतिफल सबै बरेङवासी नागरिकाहरूमा पु¥याउँदै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणको प्रयास गरिएको छ ।
७. निर्वाहमुखी र परम्परागत कृषि प्रणालीलाई क्रमशः आधुनिकीकरण र व्यावसायीकरणमार्फत आर्थिक विकास र समुन्नतिको प्रयास गरिएको छ ।
विकास र समृद्धिका अवसरहरू
१. भौगोलिक हिसाबले कम क्षेत्रफल र कम जनसंख्या भएकाले तुलनात्मक रूपमा विकास गर्न सहज,
२. मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसम्म सडकको पहुँच विस्तार,
३. पाल्पा, बुटवल, बागलुङ, पोखरा, काठमाडौँलगायतका महत्वपूर्ण सहरहरूसँग सडकको सहज पहुँच,
४. पर्याप्त कृषियोग्य जमिन र वर्षभरि बग्ने खोला नालाका कारण सिँचाइ व्यवस्था सहज,
५. पर्याप्त मात्रामा वनजंगलका कारण पर्यापर्यटन तथा वनपैदावार, जडीबुटी र वनजन्य व्यवसायको सम्भावना,
६. प्रसिद्ध साग्दी सत्यवती मन्दिर, भैँसेखोला झरना, बरेङ फनपार्कसहित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू, स्वच्छ हावापानीका कारण आन्तरिक पर्यटनको सम्भावना,
७. सूचना प्रविधिको तीव्रतर विकास र त्यसको अभ्यास,
८. प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना,
९. बरेङको विकासप्रति नगारिकमा रहेको तीव्र चाहना, उत्साह एवम् राजनीति र प्रशासनबिचको सुमधुर सम्बन्ध ।
चुनौतीहरू
१. भौगोलिक जटिलताका कारण पूर्वाधार विकासमा दिगोपन कायम गर्नु,
२. तीव्र रूपमा बढिरहेको बसाइसराइ न्यूनीकरण गर्नु,
३. स्थानीय बासिन्दाहरूको अनुदानमुखी र उपभोगवादी प्रवृत्तिलाई निरुत्साहित गर्नु,
४. एकमुस्ट बजेट अभावका कारण हुने पटके विकास कार्य र लगानीको न्यून प्रतिफलको प्रतिकूल अवस्था,
५. खेतीयोग्य जमिनको बढ्दो बाँझोपना र न्यून उपयोगितालाई रोक्नु,
६. गाउँपालिकाको आन्तरिक आय न्यून हुनु,
७. दक्ष जनशक्तिको प्राप्ति र सम्भार,
८. संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय हस्तान्तरणको आकार घट्दै जानु ।
सभाका सदस्यहरू,
आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा लिइएका प्रमुख आधारहरू प्रस्तुत गर्दछु,
–नेपालको संविधान,
–स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधित)
–राष्ट्रिय योजना आयोगको मार्गदर्शन,
–नेपाल सरकारको सोह्रौँ योजनाले परिलक्षित गरेका अवधारणाहरू,
–स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०७४ (परिमार्जित)
–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
–अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
–संघ तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन,
–बरेङ गाउँपालिकाको आवधिक योजना,
–राजनैतिक दल, संघ संस्था, नागरिक समाज र बुद्धिजीविबाट प्राप्त सुझावहरू ।
सभाका सदस्यहरू,
म अब चालु आ.व २०८२।०८३ मा हालसम्म गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममा निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्ति र वार्षिक बजेट तथा योजना कार्यान्वयनलाई अन्तिम चरणमा पुर्याएको छ । चालु आ.व २०८२÷०८३ मा हालसम्म गाउँपालिकाले सम्पादन गरेका केही महत्वपूर्ण कार्यहरू र उपलब्धिहरू यस गरिमामय सभामार्फत बरेङवासी नागरिकलाई जानकारी गराउन चाहन्छु ।
क. भौतिक उपलब्धि
प्रदेश र संघीय सरकारबाट हस्तान्तरित सबै योजनाहरू कार्यान्वयन गरिएको छ । जसमध्ये केही ठूला र महत्वपूर्ण योजनाहरू यहाँहरूको बीचमा प्रस्तुत गर्न चाहन्छु ।
१. हुग्दिशिर घट्ट नयाँबजार सडक र सबै वडाहरूमा गरी १ एक हजार ७ सय ५० मिटर सडक ढलान कार्य भएको छ । अन्य सडक निर्माणको अन्तिम चरणामा रहेका छन् ।
२. सबै वडाहरूमा गरी ४ वटा सामुदायिक भवन नयाँ निर्माण गरिएको साथै ३ वटा मर्मत संहार गरिएको छ ।
३. ९ सय ५० मिटर पक्की सिँचाइ कुलो निर्माण भएको छ ।
४. संघीय विशेष अनुदानअन्तर्गत बर्थिङ सेन्टर सुदृढीकरणतर्फ प्राप्त अनुदानबाट सबै वडाका स्वास्थ्य चौकीहरूको मर्मत संहार भएको छ ।
५. रोजगार सेवा केन्द्रबाट सञ्चालित राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत १ हजार ३ सय ७२ मिटर पक्की नाली, २ सय ७५ मिटर मोटरबाटो ढलान, ग्रावेल १ सय मिटर, ९ सय ४२ मिटर पक्की पदमार्ग, ३ सय ४५ मिटर पक्की सिँचाइ कुलो, ६ वटा प्रतिक्षालय, ४ वटा खानेपानी मुहान संरक्षण, २ वटा भवनमा प्लाष्टर तथा रङरोगनको काम भएको छ । जसमध्ये राष्ट्रिय रोजगार कार्यक्रमबाट ९२ जनालाई र वडाको लागत साझेदारीबाट ५२ गरी जम्मा १ सय ४४ जनालाई औषतमा ५० दिन बराबरको रोजगार प्रदान गरिएको छ ।
६. विभिन्न देशमा जाने ६९ जनाको श्रम स्वीकृतिमा सहजीकरण गरिएको छ । त्यस्तै वैदेशिक रोजगार सम्बन्धी बिरामी वा अङ्गभङ्ग भएकालाई आर्थिक सहायता, कामदारको परिवारका सदस्यलाई औषधी उपचार सहयोग, मृत्यु क्षतिपूर्ति, उद्दार तथा खोजतलास, शव ढुवानीमा सहजीकरण गरिएको छ ।
७. रोजगार सेवा केन्द्र र वडा नं. ५ सुखौराको साझेदारीमा ४ रोपनी जग्गामा १५ क्विन्टल आलु फलाएर १ लाख राजस्व सङ्कलन भएको छ ।
ख. आर्थिक तथा सामाजिक उपलब्धि
समृद्धिको प्रमुख आधार आर्थिक विकास र बरेङको आर्थिक विकासको मेरुदण्ड कृषि तथा पशुपन्छी विकास भएकाले यस क्षेत्रलाई प्राथमिकता दिदै गरिएका प्रमुख उपलब्धिहरू निम्नानुसार छन् ।
८. ३८ जना व्यवसायिक कृषकहरूलाई हिउँदे घाँसको बिउ वितरण गरिएको छ । १९ जना कृषकलाई १९ वटा जमुनापारी र बोयर क्रस वितरण गरिएको छ । १ सय २५ जना नागरिकलाई महिमदानी वितरण गरिएको छ ।
९. १९ जना कृषकलाई माछाका भुरा वितरण गरिएको छ । १ सय जना कृषकलाई बङ्गुरका विर तथा भुनी वितरण गरिएको, ९५ वटा कुकुरलाई रेबिज खोप लगाईएको र ९ सय घरधुरीका कृषकलाई पशु स्वास्थ्य उपचारको लागि औषधी वितरण गरिएको छ ।
१०. ८ सय ५० जनालाई करेसाबारीका लागि निःशुल्क बिउ, ६१ जनालाई सिपाउलिन प्लाष्टिक वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा १ हजार ४ सय सुन्तला, १ हजार २ सय कागती र ५० वटा कलमी सुन्तलाका बोट वितरण गरिएको छ ।
११. १५ जना मौरीपालक कृषकहरूलाई तालिम दिई घार, जाली, झोला जस्ता सामग्री समेत वितरण गरिएको छ ।
१२. ४ सय ९८ जनालाई जैविक विषादी वितरण गरिएको छ । व्यवसायिक फर्ममा हाते स्पेयर सिकेचर गरी ९० वटा प्रदान गरिएको छ । ५० प्रतिशत अनुदानमा २८ जनालाई कुटानी पिसानी मेसिन, २८ जनालाई मिनिटेलर मेसिन वितरण गरिएको छ । ५७ वटा तरकारी पकेट र ७ वटा च्याउ पकेटका लागि टनेल निर्माण सामग्री उपलब्ध गराइएको छ ।
स्वच्छ बरेङ स्वस्थ बरेङवासी अभियान मार्फत् बरेङवासी नागरिकहरूलाई पर्याप्त आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउनका लागि सधैँ सचेत रहदै यस क्षेत्रमा गरिएका प्रमुख उपलब्धिहरूलाई यहाँ प्रस्तुत गर्न चाहन्छु,
१३. बरेङको अभियान, स्वयम्सेविकालाई सम्मान भन्ने नारालाई सार्थक पार्दै महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको छ । चालु आ.व को वैशाख मसान्तसम्म २ हजार ४३ जना नागरिकहरूलाई प्रत्यक्ष सेवा प्रदान गर्ने सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
१४. समुदायस्तरमा ३० वर्ष नाघेका १ हजार ४ सय ४५ जनाको नसर्ने रोग सम्बन्धी अवस्थाको स्क्रिनिङ गर्दा ९८ जनामा उच्च रक्तचाप, २७ जनामा मधुमेह र १ सय १८ जनामा मोटोपनाको समस्या देखिएकोले आवश्यक व्यवस्थापन गरिएको छ ।
१५. “बरेङको रहर, शून्य मातृ शिशु मृत्युदर” भन्ने नारासहित तालिम प्राप्त नर्सिङ कर्मचारीद्वारा ७३ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ । चालु आर्थिक वर्षमा पनि घरमा सुत्केरी हुने महिलाको संख्या शून्यमा कायम राख्न सफलता प्राप्त भएको छ । यसको लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
१६. २२ जना क्यान्सर तथा मृगौला रोगीहरूको लागि मासिक ५ हजारका दरले ९ लाख २० हजार रुपियाँ औषधी उपचार खर्च उपलब्ध गराउनुका साथै १४ जना घातक रोगबाट पीडित नागरिकहरूलाई १ लाख रुपैयाँ बराबरको औषधी उपचार सहुलियत लिनका लागि सिफारिस गरिएको छ ।
१७. ३ सय ५० जना नागरिकहरूलाई मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको छ ।
१८. तालिम प्राप्त स्थानीय स्वास्थ्य कर्मचारी परिचालन गरी ७७ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा शंकास्पद २ जनालाई सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको छ ।
१९. पाँच वर्ष मुनिका ५ सय ७७ जना बालबालिकालाई भिटामिन ए र ५ सय २० जना बालबालिकालाई जुकाको औषधी वितरण गरिनुका साथै विद्यालय जाने सबै विद्यार्थीहरूलाई जुकाको औषधी र सबै किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की वितरण गरिएको छ । चालु आ.व. को वैशाख मसान्त सम्ममा १४ हजार १ सय ७८ जना नागरिकलाई सेवा प्रदान गर्ने सबै स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्य कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
२०. कक्षा ६ मा अध्ययन गर्ने ७३ जना छात्राहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप प्रदान गरिएको छ ।
२१. सुनौला हजार दिन सम्मका आमाहरूको पोषण अवस्था पत्ता लगाउन ५ सय ८९ जना आमा तथा बालबालिकाहरूको पोषण लेखाजोखा गरिनुका साथै पोषण अवस्था कमजोर भएका आमा तथा बालबालिकाहरूको आवश्यक व्यवस्थापन गरिएको छ ।
२२. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । जससम्बन्धी ७१ प्रतिशत काम भएको प्रतिवेदन प्राप्त भएको छ ।
२३. लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम, लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।
२४. १ सय २५ जना ८४ पुगेका वृद्धहरूलाई सम्मान गरिएको छ ।
२५. ५२ जना अपाङ्गता भएका ग र घ वर्गका लागि २ हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको छ ।
संविधानतः स्थानीय सरकारको जिम्मेवारीका रूपमा रहेको माध्यमिक शिक्षाको विकासका लागि गरिएको प्रयासका कारण प्राप्त केही प्रमुख उपलब्धिहरू यस प्रकार रहेका छन् ः
२६. सर्वोदय मा.वि बरेङमा अति विपन्न बालबालिकाहरूका लागि निःशुल्क रूपमा आवासीय सुविधासहित अध्ययनको व्यवस्थापन गरिएकोमा यसवर्ष ९ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।
२७. गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रममार्फत १७ ओटा विद्यालयहरूमा शैक्षिक तथा खेलकुद सामग्री, स्मार्टबोर्ड व्यवस्थापन, विद्यालय व्यवस्थापन तथा रङरोगन जस्ता कार्य गरी विद्यालयको भौतिक पक्षसहित शैक्षिक पक्षमा जोड दिई प्रविधिमैत्री शिक्षण सिकाइमा टेवा पुगेको छ ।
२८. आधारभूत र माध्यमिक गरी जम्मा ९ ओटा विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म विद्यालयको साझेदारीमा २ महिना गणित, विज्ञान र अङ्ग्रेजी विषयको अतिरिक्त कक्षा सञ्चालन गरिएको जसले गर्दा शैक्षिक सत्र २०८२ को कक्षा १० परीक्षा एसईईको नतिजामा गत वर्षको भन्दा ६.६८ प्रतिशत वृद्धि भएको छ ।
२९. प्राविधिक शिक्षा अध्ययन छात्रवृत्तिमार्फत यसवर्ष सिभिल इन्जिनियरिङ र सामान्य चिकित्सा तर्फका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
३०. जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी जम्मा १३ पदक प्राप्त गरेको साथै प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डमा २ कास्य पदक प्राप्त गरेको छ, जसले गाउँपालिकाको गौरव बढाएको छ ।
३१. बरेङ गाउँपालिका स्तरीय सिकाइ उपलब्धि मापन परीक्षा, आधारभूत तह उत्तीर्ण परीक्षा र कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने शिक्षक, अभिभावक तथा विद्यालय गरी जम्मा ७९ जनालाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
ग. संस्थागत उपलब्धि
३२. विकास र सेवा प्रवाहलाई सुदृढ, प्रभावकारी बनाउन कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।
३३. कानुन निर्माणतर्फ कार्यविधि, मापदण्ड र निर्देशिकाहरू गरी जम्मा ११ वटा निर्माण गरिएको छ ।
३४. न्यायिक समितिमार्फत स्थानीय विवाद मेलमिलाप तथा निरूपण सम्बन्धी कार्य सम्पन्न गरिएको छ ।
३५. गाउँपालिकाको न्यून आन्तरिक आयको समस्या समाधान गर्नका लागि करदाता शिक्षाको व्यवस्था गर्नुका साथै घरदैलो कर सङ्कलन अभियान सञ्चालन गरी चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको आन्तरिक आय प्राप्ति गरिएको छ ।
३६. सरकारी सम्पत्तिको संरक्षण, सदुपयोग र अभिलेखाङ्कनलाई व्यवस्थित गर्न पाम्स भि टु लाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ ।
३७. गाउँपालिकाभित्र विभिन्न समयमा हुन सक्ने विपद्जन्य घट्नाहरूलाई मध्यनजर गर्दै वडा नं. ३ मा गाउँपालिकास्तरीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी सञ्चालनमा रहेको छ ।
३८. मनसुनजन्य विपद् बाट प्रभावित नागरिकहरूको निजी आवास पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको छ । जसअन्तर्गत ४ घरपरिवार लाभान्वित भएका छन् ।
सभाका सदस्यहरू,
अब म आ.व. २०८३।०८४ को क्षेत्रगत प्रमुख नीति र प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
बरेङको विकासको साधन र साध्य दुवै बरेङवासी नागरिक भएको तथ्यलाई मध्यनजर गरी बरेङको विकासमा स्वयम् बरेङबासीहरूको संलग्नता र प्राप्त विकासको प्रतिफल वितरणमा समन्यायिकता कायम गर्ने गरी वार्षिक नीति तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारण गरिएको छ ।
नेपालको संविधानमा उल्लिखित एकल र साझा अधिकारसूची, स्थानीय सरकारको जिम्मेवारी, संघ तथा प्रदेश सरकारको आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रमलाई समेत मध्यनजर गर्दै आर्थिक वर्ष २०८३।०८४ का लागि आत्मसात गरिएका केही प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
क) आर्थिक क्षेत्र
कृषि तथा पशुपन्छी विकास
३९. कृषि उत्पादन लागत घटाई उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकरण र यान्त्रिकीकरणलाई प्रोत्साहन गरिनेछ ।
४०. कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न प्राविधिक तालिम तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
४१. कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि बिमा (बाली तथा पशुपन्छी बिमा) सम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ ।
४२. बरेङ गाउँपालिकाको पहिचानका रूपमा रहेको स्थानीय डल्ले खुर्सानीको संरक्षण, प्रवद्र्धन तथा व्यवसायीकरण गरिनेछ ।
४३. “मौरीपालनको विस्तार, किसानको आयमा सुधार” भन्ने नारासहित मौरीपालन व्यवसायलाई आयआर्जन, स्वरोजगार तथा कृषि उत्पादन वृद्धिको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न मौरी पकेटक्षेत्र घोषणा गरी आधुनिक घार, प्राविधिक सहयोग, तालिम, रोग नियन्त्रण र बजारीकरणमा सहजीकरण गरिनेछ ।
४४. निर्माणको अन्तिम चरणमा रहेको हाटबजारलाई सञ्चालन र व्यवस्थित गरी किसानको उत्पादनलाई बिक्री वितरण गर्न प्रोत्साहित गरिनेछ ।
४५. स्थानीय प्रमुख बाली संरक्षण तथा प्रवर्धन कार्यक्रमअन्तर्गत प्रत्येक वडाको हावापानी, भू–बनोट तथा बजार सम्भावनाका आधारमा एक प्रमुख बाली छनोट गरी व्यवसायिक उत्पादन प्रवद्र्धन गरिनेछ ।
४६. पशु वस्तुलाई बाह्रै महिना हरियो र पोषिलो घाँस लगाई दुध तथा मासुमा वृद्धि गर्न उन्नत जातका हिउँदे बर्खे तथा डाले घाँसका बिउ तथा विरुवा वितरण गरिनेछ ।
४७. स्थानीय भूगोल र माटो अनुसारको वाली तथा बिरुवाहरू लगाउनको निमित्त बृहत माटो परीक्षण शिविर सञ्चालन गरिनेछ ।
४८. नियमित पशु स्वास्थ्य शिविर सञ्चचालन गरी गाउँघरमा पशुमा देखिने रोग नियन्त्रण गरिनेछ ।
४९. “स्वस्थ मासु स्वस्थ दुध आफ्नै आयु बढ्छ खुद” नाराका साथ पशु बट मानिसमा र मानिसबाट पशुमा सर्ने सक्रामक सरुवा रोग नियन्त्रणका लागि खोप सेवा सञ्चालन गरिनेछ ।
पर्यटन
५०. “बरेङको सान, आन्तरिक पर्यटन’’को मूल नारालाई निरन्तरता दिँदै पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रूपमा विकास गरिनेछ ।
५१. सञ्चार माध्यमसँगको सहकार्यमा गाउँपालिकाभित्रका साग्दी सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे डाँडा, छहरेखोला (भैंसेखोला) झरना, बरेङ फनपार्क, भित्रीवन देउराली, तमुखोला हरितपार्क, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र आवश्यकतानुसार पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ ।
५२. गाउँपालिकाभित्र रहेका हरिया वनजङ्गल र जीवजन्तुहरूको प्रचुरतालाई मध्यनजर गरी सामुदायिक वन उपभोक्ता समितिहरूलाई जैविक पर्यटन विकास तथा जडीबुटी संरक्षण र प्रवर्धनको लागि प्रोत्साहन गरिनेछ ।
५३. गाउँपालिकामा आउने पर्यटकहरूलाई शत प्रतिशत स्थानीय उत्पादनमा आधारित परिकार, स्थानीय स्तरमै उत्पादित मायाको चिनो व्यवस्था गर्दै स्थानीय उत्पादनलाई पर्यटन प्रवर्धन र प्रचारप्रसार गरी आर्थिक विकाससँग जोडिनेछ ।
रोजगार, सीप तथा उद्यमशीलता
५४. “सीप र उद्यमको साथ, सुरक्षित रोजगारतर्फ युवाको हात” भन्ने नारासहित युवाहरूको बढ्दो वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित बनाइनेछ । रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवाप्रवाह कार्यविधि लागु गरी विद्यमान रोजगार सेवा केन्द्रलाई “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’’का रूपमा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
५५. विगतका वर्षहरूमा गाउँपालिकाद्वारा तालिम प्रदान गरी सञ्चालन गरिएका होजियारी, आलु चिप्स, अचार व्यवसाय आदिलाई आवश्यक सहयोग प्रदान गरी थप व्यावसायिक र व्यवस्थित बनाउन सहयोग गरिनेछ ।
५६. निरन्तर नियमन र निगरानी गरी बालबालिकाहरूमाथि हुने श्रम शोषणको अन्त्यका लागि बालश्रममुक्त स्थानीय तह कायम राखिनेछ ।
५७. श्रमको सम्मान राष्ट्रको अभियान, रोजगार संवाद मञ्च कार्यक्रमलाई निरन्तरता दिँदै सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ । निजी संघ संस्था र निर्माण व्यवसायीसँग समन्वय गर्नुका साथै रोजगार सिर्जना गरी सूचीकृत बेरोजगारलाई प्राथमिकता दिइनेछ ।
५८. वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको श्रम स्वीकृतिमा सहजीकरण गर्ने साथै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका, अलपत्र परेका व्यक्तिहरूलाई राहत, उद्दार गरी आर्थिक सहायतामा गरिने सहजीकरणलाई निरन्तरता दिइनेछ ।
५९. वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्यालाई न्यूनिकरण गर्न मनोसामाजिक परामर्श कर्मचारीमार्फत समुदायस्तरमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ ।
६०. गाउँपालिकाभित्र रहेका सहकारीहरूलाई नियमित रूपमा नियमन गर्नुका साथै सहकारी शिक्षा र सहायताका माध्यमबाट बरेङको अर्थतन्त्रमा योगदान गर्न सक्ने गरी सबल र सक्षम गराइनेछ ।
ख) सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
६१. “खेलकुदको निरन्तरता, प्रतिभाको प्रोत्साहन’’ गर्न गत वर्षदेखि सञ्चालन हुँदै आएको गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ । उक्त प्रतियोगितामार्फत खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्दै खेलकुद संस्कृतिको सुदृढीकरण गरिनेछ ।
६२. “स्वस्थ खाजा, सशक्त शिक्षा’’मार्फत सामुदायिक विद्यालयका कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ । उक्त कार्यक्रममार्फत विद्यार्थीहरूको पोषण सुधार, विद्यालय उपस्थितिमा वृद्धि तथा सिकाइ उपलब्धि सुदृढ गरिनेछ ।
६३. विद्यालय र अभिभावकको लागत साझेदारीमा कक्षा ८ देखि १० सम्म गणित, विज्ञान र अङ्ग्रेजी विषयमा कम्तीमा दुई महिना अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गरिनेछ । नतिजाका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइनेछ ।
६४. विद्यार्थीहरूलाई वित्तिय साक्षरता, मनोसामाजिक परामर्श, संस्कार सहितको शिक्षा आत्मसुरक्षा, महिनावारी शिक्षा जस्ता जीवनउपयोगी हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
६५. “विद्यालय टाढा भए पनि शिक्षा नटाढियोस्’’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गरी विपन्न, बेसहारा, अभिभावकबिहिन तथा विद्यालय समायोजन हुँदाका बखत विद्यालयको दुरी टाढा भै विद्यालय जान कठिन भएका बालबालिकाहरूका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्न निःशुल्क आवासीय विद्यालयमा अध्ययनको अवसरलाई निरन्तरता दिइनेछ ।
६६. “मेहनतको कदर, उत्कृष्टताको सम्मान’’ भन्ने मूल नारासहित शिक्षण सिकाइमा उत्कृष्टता प्रवद्र्धन गर्न तथा प्रतिस्पर्धी, सिर्जनशील र उपलब्धिमूलक शैक्षिक वातावरण निर्माण गर्न उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक, विद्यार्थी तथा विद्यालयलाई गरिँदै आएको सम्मान कार्यलाई निरन्तरता दिइनेछ ।
६७. “प्रतिभाको सम्मान, उज्ज्वल भविष्यको निर्माण’’ भन्ने मान्यतालाई आत्मसात् गरी प्रतिभावान् विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र प्रोत्साहित गरिनेछ ।
६८. “आफ्नै गाउँको पाठ, आफ्नै पहिचानको साथ’’ भन्ने भनाइलाई आत्मसात् गरी यस आर्थिक वर्षभित्र कक्षा ५ का लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो बरेङ’ तयार गरी सबै विद्यालयहरूमा उपलब्ध गराइनुका साथै स्थानीय ज्ञान, संस्कृति र पहिचानमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गरिनेछ ।
६९. “स्मार्ट कक्षा, स्मार्ट शिक्षाः उज्ज्वल भविष्यको अबको दिशा’ भन्ने आजको बदलिँदो भनाइलाई आत्मसात् गरी शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउन सबै सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका सबै कक्षामा स्मार्टबोर्ड जडान गरी प्रविधिमा आधारित शिक्षण प्रणालीलाई सुदृढ गरिनेछ ।
७०. “शिक्षामा शून्य बहिष्कार, बरेङमा शतप्रतिशत पहुँच’’को लक्ष्य पुरा गर्न सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्दै ४ वर्षदेखि १३ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी विद्यालय बाहिर कुनै पनि बालबालिका नरहेको गाउँपालिका घोषणा गरिनेछ ।
७१. सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई शैक्षिक सामग्रीसहित कक्षाकोठामा सहज रूपमा प्रवेश गरी शिक्षण सिकाइलाई प्रभावकारी तथा दीगो बनाउन प्रत्येकलाई एक थान झोला उपलब्ध गराई उक्त अभ्यासलाई निरन्तरता दिइनेछ ।
७२. विद्यालय तथा समुदायस्तरमा खेलकुद संस्कृतिको विकास, खेल प्रतिभाको पहिचान र प्रोत्साहनका लागि विभिन्न खेलकुद विकास कार्यक्रम सञ्चालन गरी उत्कृष्ट खेलाडीहरूलाई सम्मान तथा पुरस्कृत गरी प्रोत्साहन गरिनेछ ।
७३. “ज्ञानसँगै सीप, सीपसँगै आत्मनिर्भरता’’ भन्ने यथार्थतालाई ग्रहण गर्दै स्थानीय आवश्यकता अनुरूप दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्न विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि प्राविधिक शिक्षातर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी सीप विकास र रोजगारीका अवसरहरूमा पहुँच अभिवृद्धि गरिनेछ ।
७४. विद्यार्थीको सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न सडक तथा सवारीसाधनको उच्च चापका कारण जोखिमयुक्त स्थानमा रहेको विद्यालयलाई औचित्यका आधारमा सुरक्षित र उपयुक्त स्थानमा स्थानान्तरण गर्न बजेट विनियोजन तथा कार्यान्वयन गरिनेछ ।
स्वास्थ्य क्षेत्र
७५. गाउँपालिकाभर कार्यरत सम्पूर्ण महिला स्वास्थ्य स्वयम्सेविकाहरूको सेवाको उच्च सम्मान गर्दै “बरेङको शान, स्वयम्सेविकालाई सम्मान” कार्यक्रमअन्तर्गत मोबाइल स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, तालिम कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।
७६. “सुरक्षित मातृत्व, सबैको दायित्व” भन्ने नारासहित घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्दै “पूर्ण संस्थागत सुत्केरी कार्यक्रम”लाई निरन्तरता दिइनेछ । बर्थिङ सेन्टरहरूमा सञ्चालित आमा प्रतिक्षा घरलाई थप व्यवस्थित गरिनेछ । गर्भवती महिलाहरूको लागि क्याल्सियम चक्कीको उपलब्धता सुनिश्चित गरिनेछ ।
७७. नसर्ने रोगको अवस्था पत्ता लगाउन गाउँ गाउँमा नसर्ने रोगको स्कृनिङ गरी समयमै उपचार तथा प्रेषण गर्न प्रयोगशाला सञ्चालनमा रहेका स्वास्थ्यचौकीहरूबाट दैनिक र अन्य स्वास्थ्यचौकीहरूबाट महिनाको १ दिन प्रयोगशाला परीक्षण गर्ने गरी “प्रयोगशाला परीक्षण अभियान” कार्यक्रम सञ्चालन गरिनुका साथै ४० वर्ष नाघेका सबै बरेङवासीहरूको निःशुल्क मृगौला परीक्षण गरिनेछ ।
७८. सबै वडाहरूमा नागरिक आरोग्य कार्यक्रम र विद्यालयहरूमा योग शिक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
७९. गाउँघर क्लिनिक, खोप क्लिनिक तथा विद्यालय स्वास्थ्य शिक्षा र विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमलई नियमित र व्यवस्थित गरिनेछ र यसरी खटिने स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन गरिनेछ ।
८०. बालबालिकाको मस्तिष्कको ८० प्रतिशत विकास सुनौला हजार दिनभित्र हुने भएकोले बालबालिकाको पोषण अवस्था पत्ता लगाई समयमा नै उपचार, व्यवस्थापन र प्रेषण गर्नको लागि “बाल पोषण कार्यक्रम” लाई निरन्तरता दिइनेछ ।
८१. डर, लाज र विपन्नताको कारण लामो समयदेखि पीडित भै उपचार हुन नसकेका पाठेघर खसेका महिलाहरू र हाईड्रोसिल भएका पुरुषहरूको शल्यक्रिया र उपचारको लागि आवश्यक व्यवस्था गरिनेछ ।
८२. “बरेङवासीको बानी शुद्ध पिउने पानी” नारालाई सार्थक तुल्याउन गाउँपालिकाभित्रै खानेपानी परीक्षण केन्द्र स्थापना गरी सबै मुहानहरूको खानेपानीको नमुना परीक्षण र खानेपानी शुद्धीकरणको लागि आवश्यक व्यवस्था गरिनेछ ।
८३. स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकी प्रेषण भएका गर्भवती महिला र सडक दुर्घटनामा परी प्रेषण गर्नुपर्ने अवस्थाका अति विपन्न नागरिकहरूलाई यातायात खर्चको व्यवस्था गरिनेछ । अति विपन्न मानसिक रोगीहरूको लागि निःशुल्क रूपमा औषधी उपलब्ध गराउन पहल गरिनेछ ।
८४. सुत्केरी महिला र नवशिशुको स्वास्थ्य परीक्षण गर्नको लागि नर्सिङ कर्मचारीद्वारा घरमा नै पुगी भेटघाट गर्नको लागि उत्तर प्रसूति स्वास्थ्य परीक्षण (Post Natal Care PNC Home Visit) कार्यलाई व्यवस्थित र नतिजामुखी बनाइनेछ ।
८५. मातृ तथा नवशिशु मृत्यु दरमा कमी ल्याउनको लागि प्रत्येक वडामा प्रत्येक ३ महिनामा गर्भवती महिलाहरूको भिडियो एक्सरे र निःशुल्क प्रयोगशाला परीक्षणको व्यवस्था गरिनेछ ।
८६. समयमा नै रोग पत्ता लगाई “स्वस्थ बरेङ सुखी वरेङवासी” भन्ने नारालाई सार्थक तुल्याउन स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने शिविर, विद्यार्थी स्वास्थ्य परीक्षण, पत्रु खाना नियन्त्रण, महामारी पूर्वतयारी तथा VPD Surveillances, विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिनेछ ।
८७. स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेखन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित र निरन्तर गरिनेछ, पारिवारिक स्वास्थ्य प्रोफाइल अध्यावधिक गरिनेछ ।
८८. एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले निर्धारण गरेको लक्षित जनसंख्या र वास्तविक जनसंख्या पत्ता लगाउन पोषण प्रोफाइल तयार गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिनेछ ।
८९. एकिकृत स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरी जेष्ठ नागरिक, दीर्घरोगीहरूलाई निःशुल्क स्वास्थ्य जाँच, तथा उपचारको प्रबन्ध मिलाइनेछ ।
भाषा संस्कृती ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
९०. मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर संस्कृति र अन्य जातजातिका समेत परम्परागत भेषभूषा, बाजा, भाँडाकुँडा आदिलाई संरक्षण गर्न एक सांस्कृतिक संग्राहलयको स्थापनाको लागि पहल गरिनेछ ।
९१. प्रथा र परम्पराका रूपमा स्थापित सामाजिक कुसंस्कार र सबै किसिमका जातीय तथा लैङ्गिक विभेदको न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
९२. गाउँपालिकाभित्रका एकल महिलाहरूलाई मध्यनजर गर्दै सिपमूलक तालिम तथा सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
९३. “लोक परम्परा, नाचगान र जात्रा, सामाजिक÷साँस्कृतिक रुपान्तरणमा बरेङको यात्रा’’ अभियानअन्तर्गत गाउँपालिकाभित्रका विभिन्न स्थानीय मौलिक गीत संस्कृति, चाडपर्व, जात्रा, मेला, भेषभूषा लगायत परम्परागत जीवनशैलीलाई जीवन्त राख्न संस्कृति प्रवद्र्धन कार्यक्रम गरिनेछ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
९४. “समता र समानता बरेङको प्रतिबद्धता”को नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक दलित अपाङ्गता भएका व्यक्ति लगायत सबै लक्षित समूह र आर्थिक सामाजिक रूपमा पिछडीएका समुदायलाई राज्यको मूलधारमा ल्याउनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थाका अतिरिक्त लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
९५. समाजको प्रमुख समस्याको रूपमा बढ्दै गइरहेको लागुपदार्थ दुव्र्यसनलाई न्यूनीकरण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम, घरेलु हिंसालाई निरुत्साहित गर्न लैङ्गिक हिंसा सम्बन्धी चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९६. उमेर चौरासी सम्मान कार्यक्रम निरन्तरता दिँदै घरदैलोमा पुगी ज्येष्ठ नागरिकका अनुभव भोगाइ र विगतका पुराना असल प्रथा एवम् प्रचलनहरूको सङ्कलन तथा संरक्षण गरिनेछ ।
९७. उज्यालो बालबचत कार्यक्रमलाई निरन्तरता दिँदै बालमैत्री गाउँपालिकाका रूपमा रुपान्तरण गर्न बालमैत्री स्थानीय शासनका सम्पूर्ण चरण पूरा गरी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिनेछ ।
९८. ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि वितरण गरिदै आएको अपाङ्गता भत्ता व्यक्तिको हातहातमा पुर्याइनेछ ।
९९. गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा तथा बचाउ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
(ग) पूर्वाधार विकास
१००. “सेवा प्रवाहको आधार सबल पूर्वाधार” भन्ने मान्यतालई आत्मसात् गरी गण्डकी प्रदेशको साझेदारीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई सम्पन्न गरी नवनिर्मित भवनबाट सेवा सुचारू गरिनेछ ।
१०१. बरेङ गाउँपालिकाको केन्द्रदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्रसम्म जोड्ने रणनैतिक महत्वको घट्ट मान्द्रेढुङ्गा सडक र मध्यपहाडीदेखि कालीगण्डकी करिडोरसम्म जोड्ने पेरिवाङ–बरेङ–उर्लेनी सडक संघीय सरकारको साझेदारीमा स्तरोन्नति तथा कालोपत्रे गरिनेछ ।
१०२. लिग्दी धनमुढा बाटाकाचौर खानेपानी आयोजनाको लागि प्रदेशको साझेदारीमा बाँकी काम गरिनेछ ।
१०३. दश शैयाको अस्पताल भवन निर्माणको लागि प्रदेश सरकार र संघीय सरकार समक्ष बजेट व्यवस्थापनको लागि आवश्यक पहलकदमीलाई निरन्तरता दिइनेछ ।
१०४. “मजबुत सुरक्षित पूर्वाधार, दिगो विकासको आधार”को मान्यतासहित गाउँपालिकाभित्रका सबै संरचनाहरूको गुणस्तर, दिगोपना र मजबुतीमा विशेष जोड दिँदै ठूला र दीर्घकालीन महत्वका पूर्वाधारजन्य योजना, निर्माण कार्य तथा संरचनाहरूको गुणस्तर परीक्षण (ल्याब टेस्ट) गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१०५. “हाम्रो पूर्वाधार सबैलाई बराबर”को नारासहित सार्वजनिक संरचनाहरूलाई बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र लैङ्गिकमैत्री बनाउँदै लगिनेछ ।
१०६. विगतका वर्षहरूमा निर्माण सम्पन्न भइसकेका योजनाहरूको नियमित मर्मत सम्भार र सञ्चालनका लागि स्थानीय सरोकारवालाहरूलाई जिम्मेवार बनाइनुका साथै तुरुन्तै मर्मत सम्भार गरी थप क्षति हुन नदिनका लागि मर्मत सम्भार कोषको परिचालनलाई थप व्यवस्थित बनाइनेछ ।
१०७. फोहोरमैला व्यवस्थापनको लागि विगतका वर्षहरूमा निर्माण गरिएका डम्पिङ साइट, इन्सिनिरेटरलाई थप व्यवस्थित गरिनेछ ।
१०८. सडकमा ढलान कार्य गर्दा दिगो हुने गरी डिजाइन, इस्टिमेट गर्ने तथा सोही अनुरुप गुणस्तर कायम गरी निर्माण कार्य गरिनेछ । जटिल प्रविधिको प्रयोग गर्नुपर्ने तथा उपभोक्ता समितिबाट कार्यान्वयन गराउँदा लागतप्रभावी नहुने प्रकृतिका योजनाहरू ठेक्कापट्टा विधिमार्फत कार्यान्वयन गरिनेछ ।
१०९. उच्च ग्रेडका सडकमा नालीविना लुज ग्रावेल बिच्छाउने कार्यलाई बन्द गरी नाली निर्माण र ग्रावेलिङ गर्ने नीति अवलम्बन गरिनेछ ।
११०. स्थानीय स्तरमा जनसहभागिता अभिवृद्धि गर्न, दुर्गम क्षेत्रमा निर्माण व्यवसायीको न्यून सहभागिताबाट सिर्जित समस्या समाधान गर्न, साना तथा मध्यम प्रकृतिका विकास आयोजनाको समयमै कार्यान्वयन सुनिश्चित गर्न सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ९७ बमोजिम प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही उपभोक्ता समितिबाट १० लाखभन्दा माथिका उपयुक्त आयोजना सञ्चालन तथा कार्यान्वयन गरिनेछ ।
१११. योजना सञ्चालन कार्यलाई सहज, व्यवस्थित र गुणस्तरीय बनाउन उपभोक्ता समितिका पदाधिकारी एवम् जनप्रतिनिधिलाई गरिने अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
(घ) वन, वातावरण तथा विपद व्यवस्थापन
११२. वन संरक्षणमा सवैको सहभागिता जुटाइनुका साथै सामुदायिक वन उपभोक्ता समितिसँग साझेदारी गरी वन तथा वातावरण संरक्षण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
११३. जलाधार संरक्षणको कार्यलाई समुदाय स्तरबाटै व्यवस्थापन गर्नको लागि मुहान संरक्षण समिति गठन र दर्ता गर्ने कार्यलाई तीव्रता दिइनेछ ।
११४. विपद् प्रतिकार्य योजना बनाउने, साथै सरोकारवालाहरूसँग समन्वय गरी विपद् सम्बन्धी सचेतनामूलक कार्यक्रम र तालिम सञ्चालन गरिनेछ । वर्षात पछिको सडक सरसफाइ कार्यलाई (Road maintance Groups Guideling) कार्यविधि बनाएर व्यवस्थित गरिनेछ ।
११५. हरियाली प्रवद्र्धन गर्नका लागि सडक छेउ, नाङ्गा र खाली डाँडाकाँडामा वृक्षारोपण गरिनेछ ।
११६. प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त खानेपानी, सडक, तथा भैतिक संरचना पुनः निर्माणलाई उच्च प्राथमिकतामा राखिनेछ ।
११७. विपद् व्यवस्थापनामा शीघ्र र विश्वसनीय सूचनाप्रवाह र प्रभावकारी प्रतिकार्यको सञ्चालन ीभ्इऋ लाई सक्रिय बनाइनेछ ।
११८. गाउँपालिकामा विपद् कोषको निरन्तरता गरी प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधि
११९. गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोगमार्फत सेवाप्रवाह गरिनेछ । गाउँपालिकाका हरेक सूचना, कार्यक्रम, प्रगति विवरण, ऐन, कानुन, निर्देशिका, सम्पर्क विवरण अध्यावधिक गर्नुका साथै वेबसाइटमार्फत प्रकाशन गरिनेछ ।
१२०. विद्यालयकाको थप निगरानीका लागि इ–हाजिरी प्रणाली जडान गरिनेछ । सूचना अधिकारीहरूको लागि एआई सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१२१. गाउँपालिकाको साप्ताहिक गतिविधि, सूचना, सन्देश प्रवाहका लागि रेडियो कार्यक्रम सञ्चालनमा ल्याइने छ । गाउँपालिकाभित्र सञ्चालित एफएम रेडियो लगायत छापा माध्यमबाट सूचना प्रसारण गर्नेलाई आवश्यकतानुसार सहयोग गरिनेछ ।
१२२. गाउँपालिकाको जरुरी दस्तावेज तथा रिपोर्टहरू स्क्यान गरी विद्युतीय प्रतिलिपि तयार गरी सुरक्षित गरिनेछ ।
ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
१२३. गाउँपालिकाको संस्थागत सुदृढिकरणको लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (इ ७ ः) प्रतिवेदन पुनरवलोकन गरी कर्मचारी दरबन्दी संख्या कायम गर्ने र पद भर्नाका लागि आवश्यक कार्य गरिनेछ ।
१२४. कर्मचारीहरूसँग लक्ष्य तथा नतिजामा आधारित कार्यसम्पादन सम्झौताको सुरुवात गरिनेछ । पछिल्लो चार वर्षदेखि तलब वृद्धि नभएको र आगामी आर्थिक वर्षमा कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिँदै १० प्रतिशत र कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्तासहित करिब २१ प्रतिशत खुद वृद्धि गर्ने नेपाल सरकारको निर्णयलाई अनुसरण गर्दै कर्मचारी प्रोत्साहन व्यवस्था दोहोरो हुन नदिन यस गाउँपालिकामा विद्यमान अन्य सबै प्रकारका प्रोत्साहनमूलक मापदण्ड र भत्ता खारेज गरिएको छ ।
१२५. जनप्रतिनिधि कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन क्षेत्रगत रुपमा विशिष्टिकृत तालिमको व्यवस्था मिलाइनेछ ।
१२६. खरिद प्रक्रियालाई व्यवस्थित बनाउनका लागि गाउँपालिकामा सञ्चालन रहेको सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) लाई थप व्यवस्थित गरिनेछ र गाउँपालिकामा रहेको सार्वजनिक सम्पत्ति खोजी गरी संरक्षण गरिनेछ ।
१२७. उपभोक्ता हित संरक्षण र प्रवद्र्धनको लागि बजार अनुगमन कार्यलाई आवधिक रुपमा सञ्चालन गरी थप व्यवस्थित बनाइनेछ ।
१२८. स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आर्थिक सुरक्षाका लागि कर्मचारीको योगदान रहने गरी सञ्चालन भएको कर्मचारी कल्याण कोषलाई निरन्तरता दिइनेछ ।
१२९. “गाउँवासीलाई टेवा घर दैलोमै सेवा’’अन्तर्गत वडाहरूमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिनेछ ।
१३०. गाउँपालिकाको वित्तीय लेखाङ्कन प्रणालीलाई पारदर्शी र सुदृढ बनाउने, आन्तरिक र अन्तिम लेखापरीक्षणबाट औँल्याइएका कैफियत तथा सुझावहरूको कार्यान्वयन स्तरबाटै सुधार गर्दै बेरुजु फछ्र्यौट कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
१३१. गाउँपालिका र वडाहरूबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको पारदर्शिता तथा सामाजिक जवाफदेहिता सुनिश्चित गर्न विद्युतीय माध्यम, सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई अनिवार्य र वस्तुनिष्ठ बनाइनेछ ।
१३२. वार्षिक नीति तथा कार्यक्रमलाई गाउँपालिकाको आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटसँग तालमेल मिलाइनेछ ।
१३३. गाउँपालिकाको विकासका लागि अन्य स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै भगिनी सम्बन्ध कायम गरी आर्थिक, सामाजिक तथा साँस्कृतिक सम्बन्ध विस्तार गरिनेछ ।
१३४. गाउँपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ ।
सभाका सदस्यहरू,
अब म आर्थिक वर्ष २०८३/०८४ को लागि राजस्व नीति प्रस्तुत गर्न चाहन्छु,
१३५. “राजस्वको दर होइन दायरा बढाउँ” भन्ने प्रमुख नीतिका साथ चालु आर्थिक वर्षको करको दरलाई यथावत राखी करको थप क्षेत्रको पहिचान गरी दायरा विस्तारमा जोड दिइनेछ ।
१३६. सामुदायिक वन साझेदारी कार्यक्रममार्फत बरेङ गाउँपालिका अन्तर्गतका सामुदायिक वनहरूसँगको सहकार्यमा उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा जोड दिई गाउँपालिकाको कर प्रणालीमा आबद्ध गरिनेछ ।
१३७. राजस्व प्रशासनअन्तर्गत कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्न सुत्रमा आधारित विशिष्टिकृत क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१३८. सम्पत्ति र भूमिकर (मालपोत)को लागि पौष मसान्तसम्म कर बुझाएमा १० प्रतिशत कर छुटको व्यवस्थालाई निरन्तरता दिइनेछ । लामो समयदेखि कर नतिरी अटेर गर्ने करदाताको पहिचान गरी थप जरिवानासहित गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधा रोक्का गरिनेछ ।
१३९. राजस्व सङ्कलन कार्यलाई थप व्यवस्थित बनाउन र राजस्व चुहावट नियन्त्रणको लागि अनुगमन गर्न जिम्मेवारीसहितको कार्यदल गठन गरी परिचालन गरिनेछ ।
१४०. बरेङ गाउँपालिकाको लगानीमा लिज वा निःशुल्क जग्गामा सञ्चालन भएका योजना तथा कार्यक्रममार्फत उत्पादन भएका कृषि उपज तथा फलफुलहरूको बिक्री गरी प्राप्त भएको आयलाई गाउँपालिकाको राजस्वको रुपमा सङ्कलन गर्ने कार्यलाई व्यवस्थित गरिनेछ ।
१४१. गाउँपालिकाभित्रका नदिनालाहरूबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खननको लागि सम्भाव्यता अध्ययन गरी आय ठेक्का सञ्चालन गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
१४२. सम्पत्ति कर, मालपोत, व्यवसाय कर लगायतका सम्पूर्ण स्थानीय कर तथा सेवा शुल्क अनलाइनमार्फत तिर्न सक्ने व्यवस्थाको लागि सबै वडाहरूमा ग्ीीच्ए एप्लिकेसन सञ्चालन सम्बन्धी बृहत करदाता शिक्षा सञ्चालन गरिनेछ ।
१४३. धार्मिक पर्यटकीय क्षेत्र साग्दी सत्यवती मन्दिर परिसरमा सञ्चालन हुने अस्थायी पसल तथा व्यवसाय, पार्किङ संरचना, बरेङ फन पार्क तथा भैँसेखोला झरना क्षेत्रलाई आवश्यकता अनुसार स्तरोन्नति गरी सो क्षेत्रलाई गाउँपालिकाको करको दायरामा ल्याइन पहल गरिनेछ ।
अन्य क्षेत्रहरू
सुरक्षा व्यवस्थापन
१४४. गाउँपालिकाभित्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा विगतमा व्यवस्था गरिएका सिसि क्यामेराहरूको नियमित मर्मत सम्भार गर्नुका साथै आवश्यकतानुसार थप गरिनेछ ।
१४५. गाउँपालिकाभित्र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला र गाउँपालिकाभित्रका सबै सुरक्षा निकायहरूसँग समुचित समन्वय कायम गरिनेछ ।
१४६. गाउँपालिकाको समग्र क्षेत्रहरूमा सन्तुलित विकास गर्नका लागि निजी तथा गैरसरकारी संघ संस्थाहरूसँग सहकार्य गरिनेछ ।
१४७. निजी क्षेत्रसँग रहेको पुँजीलाई गाउँपालिकाभित्र परिचालन गर्ने वातावरण निर्माण गरिनुका साथै सामाजिक उत्तरदायित्व (Social Corporate Responsibility) बहन गर्नेतर्फ उन्मुख गराइनेछ ।
अन्तमा “समृद्ध बरेङ, सुखी बरेङवासी”को दीर्घकालीन लक्ष्यमा पुग्न गाउँपालिकाले अवलम्बन गरेको वार्षिक नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, समाजसेवी, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मी, गैरसरकारी संघसंस्था तथा सबै विकासप्रेमी बरेङबासी नागरिकहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।





