गाउँसभाका श्रद्धेय अध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरू,
१. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित भएका छौँ । यस बजेटलाई समृद्ध बरेङ, सुखी बरेङबासीको लक्ष्य हासिल गर्ने प्रमुख आधारका रूपमा लिएका छौँ ।
२. यस अवसरमा राष्ट्र, राष्ट्रियता, नेपाली जनताको रक्षा, लोकतन्त्र प्राप्ति, अग्रगामी परिवर्तन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि विभिन्न समयमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष लगायतका विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । साथै, बेपत्ता तथा घाइते योद्धाहरू र उहाँहरूको परिवारजनप्रति सहानुभूति प्रकट गर्दै उहाँहरूको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ ।
३. जनतामा बढ्दो आकांक्षा र गाउँपालिकाको सीमित स्रोतका बाबजुद प्राप्त सीमित स्रोत साधन र बजेटको विवेकपूर्ण विनियोजन र कुशल कार्यान्वयन गर्नुपर्ने वर्तमान तथ्यलाई आत्मसात गर्दै आगामी आ. व. २०८३÷०८४ को बजेट प्रस्तुत गरेका छौँ ।
४. “समृद्ध बरेङ, सुखी बरेङबासी”को दीर्घकालीन लक्ष्य हासिल गर्न उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार र मानवीय विकासमा जोड, सुशासन, सामाजिक न्यायमा आधारित समतामूलक समाजसहितको गाउँपालिकाका रूपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेका छौँ ।
५. आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा गर्दा मैले मूलतः नेपालको संविधान, प्रचलित कानुनहरू, नेपाल सरकारको सोह्रौँ योजना, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, गण्डकी प्रदेश सरकारको आवधिक योजना, दिगो विकास लक्ष्य, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, गाउँपालिकाद्वारा निर्मित विविध कानुनहरू, गाउँ कार्यपालिका र गाउँसभाका निर्णयहरूलाई मुख्य आधार बनाइएका छौँ ।
साथै जिल्ला समन्वय समिति बागलुङ, गाउँपालिका स्तरीय राजनैतिक दल लगायत विभिन्न क्षेत्रका सरोकारवाला र बरेङवासी जनसमुदायबाट विभिन्न माध्यमबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माणको प्रमुख आधारका रूपमा लिएका छौँ ।
६. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेट वृद्धि र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेका छौँ । साथै कार्यक्रमको छनोट, साधन स्रोतको बाँडफाँट र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका बीचमा सन्तुलन कायम हुने व्यवस्था मिलाइने छ ।
सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरू
७. आर्थिक वर्ष २०८३/०८४ को बजेटका प्रमुख उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न चाहन्छु ।
बजेटका प्रमुख उद्देश्यहरू
१. बरेङ गाउँपालिकाको आर्थिक, सामाजिक रूपान्तरणको आधार तय गर्ने ।
२. रोजगारी सिर्जना, गरिबी निवारण र सामाजिक न्यायका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
३. शिक्षा, स्वास्थ्य र खेलकुदको विकासका माध्यमबाट सामाजिक, सांस्कृतिक र मानवीय विकास गर्ने ।
४. नागरिकहरूमा विकास र शासकीय लाभको समन्यायिक वितरण गर्ने ।
५. नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख व्यवस्था निर्माणका लागि आधार तय गर्ने ।
६. दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण गरी कार्यक्रम कार्यान्वयन गर्ने ।
बजेटका प्राथमिकताहरू
१. कृषि तथा पशुपन्छी क्षेत्रको सुदृढीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि र बजारीकरण,
२. कृषि पर्यटनको विकास गरी बरेङलाई कृषि पर्यटनको हबको रूपमा स्थापित गर्ने,
३. गाउँपालिकाको भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति,
४. स्थानीय श्रम र स्रोतसाधनको उपयोग, लघुउद्यम तथा रोजगारी सिर्जना,
५. आर्थिक, सामाजिक तथा मानवीय विकास,
६. वातावरणमैत्री, सुरक्षित र दिगो पूर्वाधार विकास,
७. गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रवाह तथा विस्तार,
८. गाउँपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमहरू,
९. विपद् व्यवस्थापन तथा विभिन्न महामारीहरूको रोकथाम तथा पूर्वतयारी,
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरू,
आर्थिक वर्ष २०८१/०८२ को आयव्ययको यथार्थ स्थिति, चालु आ.व. २०८२/०८३ को आयव्ययको संशोधित अनुमान र आगामी आ.व. २०८३/०८४ को आयव्ययको प्रक्षेपण प्रस्तुत गर्न चाहन्छु ।
८. चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. ३५ लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षको असार ३ गतेसम्म लक्ष्यभन्दा २.६२ प्रतिशत बढी अर्थात् जम्मा रु. ३५ लाख ९१ हजार ८ सय १७ रुपैयाँ ४७ पैसा सङ्कलन भएको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको असार ४ गतेसम्म नेपाल सरकारबाट सशर्त अनुदानतर्फ रु. १९ करोड ६१ लाख, समपूरकतर्फ २ करोड ३४ लाख, विशेष अनुदानतर्फ ९० लाख, राजश्व बाँडफाँटतर्फ ६ करोड ७८ लाख ९४ हजार ७ सय १३ रुपैयाँ, वित्तीय समानीकरणतर्फ ७ करोड ५३ प्राप्त भएको छ ।
त्यसैगरी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु. ६० लाख, विशेष अनुदानतर्फ रु. ४० लाख, राजश्व बाँडफाँटतर्फ ७१ लाख ८२ हजार १ सय ८ रुपैयाँ ८ पैसा र वित्तीय समानीकरणतर्फ ८९ लाख ४१ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ३ लाख प्राप्त भएको छ ।
९. गत आ.व. २०८१÷०८२ को आय र व्ययको यथार्थ विवरण, आर्थिक वर्ष २०८२।०८३ को आय व्ययको संशोधित अनुमान र आर्थिक वर्ष २०८३÷०८४ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरूमा उल्लेख गरेका छौँ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरू,
अब क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
क. आर्थिक विकास
१०. बरेङ गाउँपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा रहेको कृषि, पशुपन्छी विकास, उद्योग तथा सहकारी क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै आर्थिक विकासतर्फ रु. २ करोड २ लाख विनियोजन गरेका छौँ ।
११. स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि रु. १२ लाख विनियोजन गरेका छौँ ।
१२. मासुमा आत्मनिर्भर कार्यक्रम कार्यान्वयनका लागि नयाँ बंगुर पकेट स्थापना र बाख्रामा नश्ल सुधार कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ ।
१३. गाउँपालिकाभित्रको कृषि उत्पादनलाई आन्तरिक बजारीकरण गर्ने उद्देश्यका साथ निर्माण भएको हाटबजार स्तरोन्नति र सञ्चालन व्यवस्थापनका लागि रु. २० लाख बजेट व्यवस्था गरेका छौँ ।
१४. “बरेङको सान, आन्तरिक पर्यटन”को नारासहित गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाका स्थानहरूमा पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्वन कार्यक्रमको व्यवस्था गरी आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिएको छ ।
१५. हाल मुलुकभर देखिएको सहकारी सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सहकारी शिक्षा प्रदान गर्न र सहकारीहरूको सुदृढीकरण तथा क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
१६. “कृषिमा प्रविधि बरेङमा समृद्धि”को नारालाई सार्थक तुल्याउन साझेदार निकायसँगको साझेदारीमा सञ्चालित “साना किसानसँग बरेङ” कार्यक्रम निरन्तरताका लागि रु. ८० लाख बजेट विनियोजन गरेका छौँ ।
१७. “घरमै गरौँ च्याउ खेती आत्मनिर्भर बनौँ अबदेखि“ भन्ने नाराका साथ च्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था गरेका छौँ ।
१८. “मौरीपालनको विस्तार, किसानको आयमा सुधार” भन्ने नारासहित मौरीपालन व्यवसायलाई आयआर्जन, आत्मनिर्भर बनाउनका लागि रु. १२ लाख विनियोजन गरेका छौँ ।
१९. परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिकतामा रुपान्तरण गर्न नविन कृषि प्रविधि र औजारहरू अनुदान स्वरुप उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरिएको छ ।
ख. सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद क्षेत्र
२०. सुख, समृद्धि, गाउँपालिकाको सर्वाङ्गीण विकास, सामाजिक रुपान्तरण र आर्थिक समुन्नतिको आधारशिलाका रूपमा रहेको शिक्षा क्षेत्रको विकास गर्न शिक्षातर्फ रु. १७ करोड ६२ लाख ५० हजार विनियोजन गरेका छौँ ।
२१. गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माण गर्न सामुदायिक विद्यालयको साझेदारीमा रु. ३० लाख विनियोजन गरेका छौँ ।
२२. “गुणस्तरीय शिक्षाको हक, आवासीय विद्यालयले बसाल्छ जग” भन्ने नारासहित विपन्न, बेसहारा, अभिभावकबिहिन तथा विद्यालय समायोजन हुँदाका बखत विद्यालयको दुरी टाढा भइ विद्यालय जान कठिन भएका बालबालिकाहरूलाई लक्षित गरी आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन गर्न रु. ६ लाख बजेट विनियोजन गरेका छौँ ।
२३. वर्तमान प्रविधिको युगमा गाउँपालिकाका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा उत्प्रेरित गर्नका लागि प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेट व्यवस्था मिलाइएको छ ।
२४. स्थानीय भाषा संस्कृति, परिवेश अनुकूल स्थानीय आवश्यकतालाई समेट्दै गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
२५. आर्थिक समस्याका कारण विद्यार्थीहरूले शैक्षिकसत्र पूरा नगरी बीचैमा कक्षा छोड्ने समस्या समाधान गर्न गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका दलित, अपाङ्गता भएका, विपन्न तथा जेहन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालनमा आवश्यक बजेट विनियोजन गरिएको छ ।
२६. उच्च शिक्षामा गाउँपालिकाबासीहरूको पहुँच वृद्धि गर्नका लागि गाउँपालिकाभित्रको एकमात्र सामुदायिक क्याम्पसलाई थप व्यवस्थित गर्न रु. ७ लाख विनियोजन गरेका छौँ ।
२७. गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरी विद्यार्थी र विद्यालयहरू बिचमा स्वच्छ प्रतिष्पर्धाको भावना र खेलकुद विकासलाई थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक बजेट विनियोजन गरिनेछ ।
२८. सूचना अधिकारी लगायत कर्मचारीलाई एआइ सम्बन्धी तालिमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
२९. सवारीसाधनको आवतजावतका कारण जोखिमयुक्त स्थानमा रहेको नेपाल कर्तव्य पालन विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा पूर्वाधार निर्माणका लागि २५ लाख बजेट विनियोजन गरेका छौँ ।
स्वास्थ्य, खानेपानी तथा सरसफाइ
३०. निःशुल्क आधारभूत स्वास्थ्य प्राप्त गर्ने नागरिकहरूको मौलिक हकको सुनिश्चितता गर्न स्वास्थ्य पूर्वाधारको विकास र विस्तारप्रति विशेष ध्यान पुर्याउदै गुणस्तरीय र पर्याप्त आधारभूत स्वास्थ्य सेवा सबै बरेङवासी नागरिकहरूको पहुँचमा पुर्याउन स्वास्थ्य चौकी सञ्चालन, सामुदायिक स्वास्थ्य इकाइ सुदृढीकरण, सञ्चालन तथा व्यवस्थापन र थप स्वास्थ्य सेवाहरू विस्तार गर्न स्वास्थ्यतर्फ रु. ५ करोड १३ लाख ४० हजार बजेट विनियोजन गरेका छौँ ।
३१. “बरेङको ध्यान, स्वस्थ बरेङवासी अभियान’’लाई निरन्तरता दिँदै स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि, योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
३२. स्वास्थ्य चौकीहरूबाट निःशुल्क प्राप्त हुने बाहेकका अन्य अत्यावश्यक औषधीहरू सहुलियतपूर्ण रूपमा नागरिकहरूलाई उपलब्ध गराउने उद्देश्यले सञ्चालित सामुदायिक औषधी कार्यक्रमलाई निरन्तरता दिँदै थप बजेटको व्यवस्था गरिएको छ ।
३३. महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरूले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषण सम्बन्धी क्षेत्रमा गरेको उल्लेखनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई सेवाप्रति उत्प्रेरित गर्न महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएका छौँ । साथै क्षमता विकास तालिम र महिला स्वास्थ्य स्वयम्सेविका मोबाइल स्वास्थ्य कार्यक्रमको समेत व्यवस्था मिलाइएको छ ।
३४. “बरेङको रहर, शून्य मातृ शिशु मृत्युदर” कार्यक्रमलाई निरन्तरता दिनुका साथै स्वास्थ्य ल्याब नभएका वडाहरूका नागरिकहरूलाई लक्षित गर्दै प्रयोगशाला परीक्षण अभियानको लागि बजेट छुट्टाइएको छ ।
३५. विपन्न दीर्घरोगीहरूको आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या आउन नदिनका लागि विपन्न दीर्घरोगी निःशुल्क स्वास्थ्य बिमा (५० % छुट) कार्यक्रमको लागि बजेट व्यवस्था गरेका छौँ ।
३६. “स्वस्थ मन, समुन्नत जीवन” भन्ने नारासहित मानसिक रोगीहरूका लागि औषधी उपचार खर्चको व्यवस्था गरिएको छ ।
भाषा, संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
३७. गाउँपालिकाभित्र रहेका सिमान्तकृत समुदाय र वर्गको सशक्तीकरण एवम् सकारात्मक विभेदका माध्यमबाट सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्नका लागि महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसहित सबै लक्षित वर्गहरूका लागि सम्बोधन गर्न महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण शाखातर्फ रु. १३ लाख विनियोजन गरेका छौँ ।
३८. आर्थिक तथा सामाजिक रूपमा अति विपन्न बरेङवासी नागरिकहरूका लागि आर्थिक सहयोग गर्न र लोककल्याणकारी राज्यका रूपमा हाम्रो सरकारको जनतामाझ बलियो उपस्थिति देखाउन नमुनाका रूपमा लिएको “गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण, सुरक्षा तथा बचाउ÷एसएसपि” कार्यक्रमलाई निरन्तरता दिई सञ्चालनका लागि रु. ७ लाख विनियोजन गरेका छौँ ।
३९. “लोक परम्परा, नाचगान र जात्रा, सामाजिक÷सांस्कृतिक रुपान्तरणमा बरेङको यात्रा’’ अभियानअन्तर्गत गाउँपालिकाभित्रका विभिन्न स्थानीय मौलिक गीत संस्कृति, चाडपर्व, जात्रा, मेला, भेषभूषा लगायत परम्परागत जीवनशैलीलाई जीवन्त राख्न संस्कृति प्रवद्र्वन कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ ।
४०. बरेङ गाउँपालिकाअन्तर्गत रहेका ग र घ वर्गका अपाङ्गता परिचयपत्र प्राप्त गरेका नागरिकहरूका लागि वार्षिक रु. २ हजारका दरले सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
४१. समाज विकासको प्रमुख बाधकको रूपमा रहेको सामाजिक विभेद न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
ग. पूर्वाधार विकास
४२. “पर्याप्त पूर्वाधार, सेवा प्रवाहको आधार” भन्ने मान्यतालाई आत्मासात् गर्दै गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र सहज बनाउन प्रशासकीय भवन निर्माण सम्पन्न गर्नका लागि रु. १ करोड रकम विनियोजन गरेका छौँ । साथै यहि गाउँसभाको कार्यकालभित्रै गाउँपालिकाको प्रशासनिक भवनबाट सेवा सुचारू गर्नेछौँ ।
४३. बरेङ गाउँपालिकाको केन्द्रदेखि गुल्मीको चन्द्रकोट गाउँपालिकाको केन्द्रसम्म अर्थात् गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने रणनैतिक महत्वको घट्ट मान्द्रेढुङ्गा सडक स्तरोन्नति अर्थात् कालोपत्रे गर्नका लागि रु. ३ करोड बजेट विनियोजन गरेका छौँ ।
४४. मध्यपहाडी लोकमार्गदेखि कालीगण्डकी करिडोर जोड्ने पेरिवाङ–बरेङ–उर्लेनी सडक स्तरोन्नतिका लागि रु. २ करोड बजेट व्यवस्था गरेका छौँ ।
४५. “सधैँ र सबैका लागि सडक’’ अभियानलाई निरन्तरता दिँदै वर्षात र विपद्को समयमा समेत यथाशीघ्र सडक सुचारु गर्न, वर्षभरि नै यातायात सञ्चालन गर्न र पूर्वाधारसँग सम्बन्धित संरचनाहरूको मर्मत सम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
४६. “छिमेकी स्थानीय तहसँग साझेदारीको अभियान” सहित गाउँपालिकासँग सिमाना जोडिएका छिमेकी स्थानीय तहहरूसँग सुसम्बन्ध, समन्वय र सहकार्यमार्फत सीमाक्षेत्रको विकासमा हातेमालो गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध पूर्वाधारअन्तर्गत रु. ५ लाख विनियोजन गरेका छौँ ।
घ. वन, वातावरण र बिपद् व्यवस्थापन
४७. चालु आर्थिक वर्षमा देखिएको खडेरी, आगजानी लगायतका महामारीहरूबाट अनुभव लिँदै विपद्बाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी, उद्वार र राहत कार्य गर्न तथा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित विपद्बाट बरेङबासी नागरिकलाई सुरक्षित राख्न विपद् व्यवस्थापन कोषमा थप रु. ५ लाख बजेटको व्यवस्था गरेका छौँ ।
४८. सामुदायिक वन उपभोक्ता समितिहरूसँग साझेदारी गरी वनजङ्गलको संरक्षणसहित आर्थिक आयआर्जनको स्रोतका रूपमा उपयोग गर्न सामुदायिक वन साझेदारी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
क. सूचना प्रविधि, सुशासन तथा संस्थागत विकास
४९. गाउँपालिका र मातहतका निकायबाट सम्पादित कामहरू, गाउँपालिकाबाट निर्मित कानुन सम्बन्धी जानकारी, जनचेतनामूलक सन्देश र विभिन्न सूचनाहरू प्रवाह गरी बरेङबासी जनताहरूलाई सुसूचित गर्न रेडियो बिहानीसँग सहकार्य गरी कार्यक्रम प्रसारण गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।
५०. सेवा प्रदायक कर्मचारी र नीति निर्माता जनप्रतिनिधिहरूलाई आम नागरिकप्रति जवाफदेही बनाउन सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि समेत रकम व्यवस्था गरिएको छ ।
५१. स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको क्षमता वृद्धि गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त र नतिजामुखी बनाउने उद्देश्यले कर्मचारी तालिम लगायत क्षमता विकाससँग सम्बन्धित कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ ।
रोजगार, सीप तथा उद्यमशीलता
५२. गाउँपालिकाभित्र सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायतका योजना तथा कार्यक्रममा आवश्यक पर्ने निर्माण सामग्री व्यवस्थापन गरी सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउन राष्ट्रिय रोजगार कार्यक्रमसँग न्यूनतम ज्यालामा साझेदारी गर्न ७१ लाख बजेट व्यवस्था गरेका छौँ ।
५३. आन्तरिक रोजगारी प्रवर्धनको लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता प्रवद्र्वन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
५४. कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नका लागि रू. १८ लाख विनियोजन गरेका छौँ ।
५५. गाउँपालिकाभित्र उपभोक्ता समितिहरूबाट सञ्चालित योजनाहरू कार्यान्वयन गर्दा अनिवार्य रूपमा निश्चित प्रतिशत कार्य स्थानीय बासिन्दाहरूको सहभागितामा नै गर्नुपर्ने प्रावधान राखी रोजगारीको अवसर सिर्जना हुने व्यवस्था मिलाइएको छ ।
५६. आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकास्तरीय, वडागत, विषयगत शाखा, आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासमा विनियोजन भएको बजेट अनुसूचीमा समावेश गरेका छौँ ।
सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरू,
अब बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
५७. आर्थिक वर्ष २०८३।०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु. ४२ करोड १९ लाख ६७ हजार ८ सय २२ खर्च हुने अनुमान गरेका छौँ ।
५८. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ७ करोड ५३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँट (वन रोयल्टी र विद्युत समेत) रु. ६ करोड ७८ लाख ९४ हजार ७ सय १३, सशर्त अनुदान चालु रु. १९ करोड ११ लाख, सशर्त अनुदान पुँजीगत ५० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८९ लाख ४१ हजार, प्रदेश राजश्व बाँडफाँट रु. ७१ लाख ८२ हजार, १ सय ९, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान रु. २ करोड, ३४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु. ४० लाख र समपूरक अनुदान रु. ६० लाख, गत आ.व को अल्या रु. २ करोड, गाउँपालिकाको आन्तरिक आय रू. ३८ लाख ५० हजार प्राप्त हुने अनुमान गरेका छौँ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरू,
अब आ.व २०८३।०८४ को लागि व्यय अनुमानको विवरण प्रस्तुत गर्न चाहन्छु ।
५९. आ.व २०८३/०८४ मा प्राप्त हुने अनुमानित कुल रु. ४२ करोड १९ लाख ६७ हजार ८ सय २२ रुपैयाँ बजेटमध्ये कुल विनियोजनयोग्य बजेट रु. १८ करोड ३४ लाख ६७ हजार ८ सय २२ मात्र रहेको र सोमध्ये प्रशासनिक खर्चतर्फ रु. १० करोड ३२ लाख १७ हजार र पुँजीगततर्फ रु. ८ करोड २५ लाख ८ सय २१ मात्र रहेको छ ।
कुल बजेटमध्ये वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड र विषयगत शाखाहरूका लागि रु. ३ करोड ५३ लाख ८६ हजार २ सय ५० र समपूरक कोषतर्फ रु. १ करोड ८१ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमहरूका लागि ५ करोड १७ लाख १७ हजार रुपैयाँ मात्र विनियोजन गरेका छौँ ।
संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपूरक अनुदान तर्फका योजना तथा कार्यक्रमहरू अनुसूचीमा संलग्न गरेका छौँ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यहरू,
६०. प्राप्त बजेट तथा स्रोत साधनको अधिकतम प्राथमिकीकरण गरी विनियोजन गरिएको यस वार्षिक बजेटको कार्यान्वयनमा सोही बमोजिम बरेङबासी नागरिकहरूको रचनात्मक र अर्थपूर्ण सहभागितालाई सुनिश्चितता गर्दै जनताद्वारा, जनताका लागि, जनताका माध्यमबाट नै गरिने शासन पद्धतिको वास्तविक अनुभूति दिलाउन हाम्रो सरकार पूर्ण रूपमा इमान्दार प्रयासरत र प्रतिबद्ध छ ।
६१. यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने संघ तथा प्रदेश सरकार, गाउँपालिका अध्यक्ष, गाउँसभाका सदस्यहरू, गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरू, शिक्षकहरू, विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारी क्षेत्र, सुरक्षाकर्मी, नागरिक समाजका व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजीवि, पत्रकार तथा विद्यार्थीहरूबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
६२. आर्थिक वर्ष २०८३/०८४ को एकीकृत बजेट तथा कार्यक्रमहरू अनुसूचीमा उल्लेख गरेका छौँ र यथाशीघ्र वार्षिक बजेट पुस्तिका प्रकाशन गरी सबै बरेङवासी नागरिकहरू र सरोकारवालाहरू समक्ष उपलब्ध गराउनुका साथै गाउँपालिकाको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।
६३. अन्त्यमा, गाउँपालिकाको सर्वाङ्गीण विकास, सामाजिक न्याय, समता, नागरिकको खुसी र समृद्धिको दीर्घकालीन गन्तव्य हासिल गर्ने एक माध्यमका रूपमा हाम्रो सरकारले लिएको प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि विगतमा जस्तै राष्ट्रसेवक कर्मचारी, देशभित्र र बाहिर रहनुभएका विकासप्रेमी बरेङवासी नागरिक, राजनैतिक दलहरू लगायत सबै पक्षको अपनत्व र पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएका छौँ ।
धन्यवाद ।





