लमजुङ / जिल्लाको राइनास नगरपालिका–६, धमिलीकुवा, फूलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हत्या आरोपममा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन् । उनले आफुले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार गाँजा खरिदका क्रममा पैसाको विषयमा विवाद भएपछि अछामीले साउन २३ गते राती वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अछामीले वृद्धाका कानमा रहेको झन्डै ५० लालको सुनको मुन्द्री पनि लगेको स्वीकारेको तर बरामद भने नभएको प्रहरीको भनाई छ ।
‘अछामीले गाँजा खरिद गर्ने क्रममा पैसाको विषय नमिलेपछि हत्यानै गरेको देखिएको प्रहरीले जनाएको छ । राती ९ बजेतिर उनी घरमै मृत भेटिएपछि उक्त घरमा डेरा गरी बस्दै आएका ५५ वर्षीय देवराज मगरले प्रहरीलाई जानकारी गराएका थिए। मगर भने कामको खोजीमा मनाङ गएर फर्किएका थिए ।
दाङको घोराही उपमहानगरपालिका–७ का मगरसहित प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार घरको कोठामा घाँटी काटिएको अवस्थामा वृद्धा मृत भेटिएपछि प्रहरीले सुरुमा मगरलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले उनकै बयानका आधारमा घरमा आउजाउ गर्ने उनका साथीहरू र केही स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो । बृद्धा घरमा एक्लै बस्थिन । उनका परिवारका अन्य सदस्य थिएनन ।





