आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

मन बहलाउने बारपाक र लाप्राक

मन बहलाउने बारपाक र लाप्राक

लाप्राकमा करिब ६२ अर्ब लगानीमा बनेको नमुना बस्ती अहिले सुनसान छ


  • डा नरनाथ पाण्डे
  • साउन ३० २०८३, शनिबार

मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरले प्रत्येक वर्ष कार्यरत कर्मचारीका लागि शैक्षिक अवलोकन भ्रमणको आयोजना गर्ने गर्छ । सदाझैँ यसपटक पनि टिचिङ तथा ननटिचिङ स्टाफहरूका लागि भ्रमणमा जान गोरखा जिल्लाको बारपाक छनोट गरेको थियो । सोही कार्यतालिका अनुसारको शैक्षिक भ्रमणको शिलशिलामा एकपटक जानैपर्ने महसुस गरिएको गोरखा जिल्लाको बारपाकमा तीन दिने भ्रमणको योजना बनेपछि त्यता रहेका मुख्य स्थलको भ्रमण गर्ने अवसर मिल्यो ।

देशभित्र रहेका विभिन्न पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका स्थलको भ्रमण गर्न अहिलेको सरकारले दिएको दुई दिने बिदाको भरमग्दुर फाइदा लिने ट्रेन्ड नै चलेको छ । देशभित्रै रहेका सुन्दर स्थलहरूको भ्रमणसमेत गर्न नसकिएको अवस्थामा यस्ता स्थलमा भ्रमण गरी केही अनुभव संकलन गर्ने र अरुलाई समेत बाँड्दा आन्तरिक पर्यटनमा थोरै ईट्टा थपिन सक्ने महसुस गरी केही नयाँ कुरासमेत संलग्न गरी यो आलेख तयार पारिएको हो ।

१. बारपाकमा विनाश पछिको विकास
झट्ट सुन्दा गोरखा जिल्ला जहाँ नेपालको पुरानो राजधानी थियो, गुरु गोरखनाथको साधनास्थल, पृथ्वीनारायण शाहको जन्मस्थल र आधुनिक एकीकृत नेपाल राज्यको उद्गम स्थलको नाम आउँछ । त्योबाहेक अहिले आएर सम्झँदा २०७२ सालको भूकम्प र त्यससँग जोडिएको इपिसेन्टर बारपाकको सम्झना पनि आउन सक्छ । जुन ठाउँमा केन्द्रविन्दु भई विनाशकारी महाभूकम्प गएको र हजारौँ मानिसको मृत्यु भएको कुरा ताजा स्मरणमा छ । अर्को कुरा त्यहाँ एनआरएन लगायत स्वदेश तथा विदेशबाट सहयोग प्राप्त भई पुनःनिर्माण भएको र एकीकृत नमुना बस्तीसमेत बसालिएको सुन्दर स्मरण पनि हुन सक्छ ।

यस्तै कौतूहलता मेट्न भने यसमा लेखिएका विषयवस्तुपर्याप्त नहुन सक्छन् र कसैको दृष्टिमा बनावटी कुरा लाग्न पनि सक्छ । त्यसका लागि एक पटक उक्त क्षेत्र घुम्न जानैपर्छ र तत्काल घुम्न जान नसक्नेहरूका लागि यो आलेख केही सामग्रीसमेत बन्न सक्छ । यस आलेखमा लेखक स्वयम् पुगेर अनुभव गरिएका सामग्री मात्र राखिएको हुँदा कसैलाई आलेख अपूर्ण लाग्नु स्वभाविकै पनि हो । योभन्दा बढी बारपाकमा दुई चार दिन बसेर घुमियो भने पक्कै देख्न पाइने थियो जस्तो लागेको पनि छ । तैपनि यस आलेखमा केही देखेका र भोगेका विषयवस्तुको चित्रण गर्ने प्रयास गरिएको छ ।

लेखक

भौगोलिक मनोरम दृश्यहरूको स्वाद चाख्दै गण्डकी प्रदेशको विकट ऐतिहासिक स्थल गोरखाको बारपाकमा पुग्न सकिन्छ । कावासोतीबाट नारायणगढ हुँदै मुग्लिन, अनि नजिकै रहेको आँबुखैरेनी र १२ किलो भन्ने ठाउँबाट दक्षिण पश्चिमोत्तर बाटो समात्दै ५० देखि ५५ किलोमीटर दरौँदी नदीको किनारै किनार छेपेटार, भुसुने र चोरकाटे हुँदै पहाडी यात्रा सुरु गरी सरासर हिँडेमा कावासोतीबाट करिब ६ देखि ७ घन्टामा पुग्न सकिने (करिब १७० कि.मी.) बारपाक देशकै एउटा उत्कृष्ट गन्तव्य रहेछ । बौद्ध र गणेश हिमालको काखमा रहेको बारपाक निकै ऐतिहासिक र पर्यटकीय स्थल रहेछ ।

वर्षायाम उक्त क्षेत्रमा घुम्नका लागि भने उपयुक्त मौसम होइन । एक त पहाडी बाटोघाटोमा आउन सक्ने अवरोध र अर्कातर्फ वर्षायाममा कुहिरोले अवलोकन योग्य क्षेत्र ढाकेर हिमाल, डाँडाकाँडा र अन्य क्षेत्रहरू देख्न नसकिँदो रहेछ । भ्रमण समूहको फुर्सतको समय नै यही सिजनमा परेकाले सोचे जति दृश्यहरू देख्न पाइएन । जति देखियो त्यति सबै मनमोहक नै थिए ।

पुरानो सभ्यता बोकेर उभिएको पहाडी भूभागमा रहेको बारपाक एक पर्यटकीय क्षेत्र नै हो र त्यहाँको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक रहेछन् । तराईको उकुसमुकुस गर्मीको याममा पनि चिसो हावापानी अनुभव गर्न सकिने, भिरालो चट्टानी जमिन जस्ता कारणले खेतीपाती कमै हुने तर पशुपालन राम्रै मात्रामा हुने देखियो । यो सिजनमा त्यहाँको मुख्य खेतीको रुपमा कोदोको रोपो देखिएको हुँदा त्यहाँ कोदो निकै उत्पादन हुँदो रहेछ ।

राजनीतिक दृष्टिकोणबाट हेर्दा गोरखामा २ वटा निर्वाचन क्षेत्र पर्दछन् भने गोरखा जिल्लाबाट हालका गृहमन्त्री सुधन गुरुङ, पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि यही जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतामा पर्दछन् ।

योभन्दा सुन्दर पक्ष भनेको बारपाक प्रसिद्ध भिसी विजेता गजे घलेको गाउँ पनि हो । भिसी विजेता भनेको दोस्रो विश्वयुद्धमा ब्रिटिस सरकारको तर्फबाट जापान विरुद्धको लडाईंमा ख्याति प्राप्त लडाकू सैनिकलाई ब्रिटिस सरकारले सम्मान स्वरुप दिएको पदक हो । यसले नेपालीका लागि शिर ठडाउने अवसर पनि दिएको थियो । उनै गजेन्द्र घलेको जन्मथलो बारपाकमा उनी लगायत भानुभक्त गुरुङ, थमन गुरुङ, लक्षिमान गुरुङ लगायतको स्मृतिमा संग्रहालयसमेत बनाइएको रहेछ ।

बारपाकको हालको अवस्थालाई विश्लेषण गरी हेर्ने हो भने त्यस क्षेत्रमा ब्रिटिस र भारतीय सेनामा काम गर्ने युवाको उल्लेख्य संख्या रहेछ । लन्डन, हङकङ, भारत, काठमाडौं, नारायणगढतर्फ बसाइ सर्नेहरू पनि उल्लेख्य रहेछन् । त्यसले गर्दा बारपाक पहाडी विकट क्षेत्र भएर पनि आर्थिक अवस्थाले मजबुत रहेछ । बारपाकको इतिहासका सम्बन्धमा स्थानीय व्यक्तिहरूसँग सोध्दा उनीहरूले यो त अहिले बारपाक नै होइन किनकि यहाँ अहिले पर्यटक लोभिने ढुंगैढुंगाबाट बनेको बारपाक गाउँको सुन्दर बस्ती पनि छैन र भूकम्पपछि बनेको नयाँ संरचना सबै अत्याधुनिक भइसकेकाले पुरानो इतिहास प्रायः मेटिँदैछ भन्ने गुनासो गर्दछन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पर्ने बारपाक गाउँ अहिले भने सुविधा सम्पन्न अत्याधुनिक घरहरू, होटलहरू, बाटोघाटो सबै भएकाले सहरोन्मुख छ भन्न सकिने आधारहरू छन् । महाविनाशकारी भूकम्पका कारण सम्पूर्ण घर तथा बस्ती नै ध्वस्त भएको अवस्थामा वा विनाश भएको अवस्थामा पुनःनिर्माणको कार्यले राम्रै विकास पनि निम्त्याएको रहेछ । तर विकासका नाममा पुरानो संरचना भने परिमार्जन भई सक्कली बारपाकको स्वरुप फेरिएको रहेछ । जुन पर्यटकका लागि राम्रो सन्देश नहुन सक्छ ।

समुद्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको बारपाकमा मुख्य रुपमा गुरुङ समुदाय र घले समुदायको बसोबास रहेछ भने अन्य जातिको संख्या कम रहेछ । मनास्लु, बौद्ध र गणेश हिमालको श्रृंखाला बीचमा रहेको बारपाक क्षेत्रमा ३० किमी लामो पदमार्गसमेत रहेछ । यो एक आकर्षक पर्यटकीय क्षेत्रमात्र नभई यहाँको विविध चालचलन, संस्कृति र मौलिक परम्पराले गर्दा सुनमा सुगन्ध थपिएको महसुस हुँदो रहेछ । बारपाकमा बनेका संग्रहालय, भूकम्प स्मारक, बौद्ध गुम्बा, भ्युटावर, छहरा, होमस्टे आदि यहाँका आकर्षण रहेछन्

२. लाप्राक गाउँ र नमुना बस्ती
बारपाक गाउँदेखि उत्तरपूर्वतर्फ रहेको अर्को सुन्दर गाउँ धार्चे गाउँपालिकामा पर्ने लाप्राक जिल्लाको अर्काे महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । समुद्र सतहदेखि करिब २१०० मिटर उचाइमा अवस्थित गुरुङ जातिको वर्चस्व रहेको लाप्राक गाउँ हिमालका दृश्यका लागि बढी लोकप्रिय छ । अहिले आएर भूकम्पपछि बनेको नमुना बस्तीका कारण पनि चर्चित छ । बारपाकदेखि करिब २५ किमीमा लाप्राक पर्दछ । बारपाकदेखि लाप्राकसम्म पुग्न बसको व्यवस्था छ भने पैदलयात्रीका लागि करिब १५ किमीको पैदलमार्ग पनि छ ।

उकालो चढ्दै साँघुरो बाटोबाट यात्रा गर्नुपर्ने हुँदा आङ पनि झसंग हुने गर्छ । यो बाटो पार गर्न बसमा करिब २ घन्टा लाग्दो रहेछ । सुन्दर अन्य गाउँहरू, वनजंगल, छहरा आदिको दृश्य लिँदै अलि चिसो ठाउँ लाप्राक पुग्दा छुट्टै आनन्द महसुस हुन्छ । त्यहाँ पुग्नासाथ विभिन्न स्मारक र पार्कहरूले स्वागत गर्न थाल्छन् । आनन्दका लागि पैदल यात्रा गर्दै र रमाउँदै सुन्दर एकीकृत बस्ती वा नमुना बस्ती पुग्न सकिन्छ ।

गैर आवासीय नेपाली संघ (एनआरएन)का शेष घले लगायत तत्कालीन एनआरएन अध्यक्ष कुमार पन्तको सक्रियतामा विदेशबाट सहयोग संकलन गरी एकै किसिमका ६ सयभन्दा बढी घर बनाई, विद्यालय, पार्क, स्मारक, खेल मैदान, सार्वजनिक सांस्कृतिक भवन जस्ता थुप्रै भवनको समेत निर्माण गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्तान्तरण गरिएको रहेछ । ती दन्तलहर जस्ता घरको सौन्दर्य निकै आकर्षक देखिन्छ । बिडम्बना त के भने करिब ६२ अर्बको लगानीमा बनेको त्यो संरचना हाल लावारिस बनेको देख्दा मन कटक्क खाँदो रहेछ ।

त्यो ठाउँ अलि विकट स्थलमा, बारपाकदेखि धेरै टाढा, कम खेतीयोग्य जमिन र अन्य सुविधा नभएकाले त्यहाँका मानिसले बनेका घरहरू त आफ्नो नाममा लिए तर बस्न र खेती गर्न बारपाक नै जाँदा रहेछन् । ती घरमा बस्ने मानिसहरू कोही पनि नहुँदा यति बेला त त्यो नमुना बस्ती सुनसान देखिन्छ । त्यसरी धेरैको सहयोगबाट बनेका राम्रा चिजको संरक्षण नहुनु, स्वामित्व लिनेले अनावश्यक मान्नु वा सहज स्थानमा नहुनु जस्ता कारणले अहिले उक्त लगानी खेर गएको त्यहाँ पुग्ने जो कोहीलाई महसुस हुने गर्छ । यदि ठाउँ अनुसार चहलपहल हुने हो भने स्वर्गको आनन्द प्राप्त गर्न सकिने नमुना गाउँ नै हो लाप्राक ।

३. बारपाक यात्राका क्रममा
शैक्षिक भ्रमणका लागि ३१ जनाको टोली २०८३ असार २६ गतेदेखि गोरखामा रहेका विभिन्न मनोरम प्राकृतिक छटा अवलोकनमा व्यस्त रहेको थियो । भ्रमण समूहको मुख्य गन्तव्य बारपाक तथा लाप्राकमा गई त्यहाँको वस्तुस्थिति, पर्यटकीय स्थल, मनोरम प्राकृतिक दृश्यहरू, हेर्नैपर्ने मुख्य ठाउँ, त्यहाँको मुख्य विशेषता आदिका बारेमा स्थानीय विज्ञ व्यक्तित्वहरूसँग छलफल गरेर आनन्दित हुने थियो । भौगोलिक दृष्टिकोणले वर्षा याममा कावासोती देखिको लामो यात्रा आउजाउ गर्न केही समस्या भएता पनि दृढ इच्छाशक्तिका कारण भ्रमण समग्रमा सफल रह्यो र पानी नपर्दा बाटोमा समेत अवरोध भएन ।

बौद्ध तथा गणेश हिमालको काखमा र प्राकृतिक छटाले भरिपूर्ण रहेको समग्र बारपाक तथा लाप्राक बिकट भौगोलिक बनावट, डाँडाकाँडा, पहरो आदिबाट बनेको रहेछ र समथर भाग प्रायः देख्न कठिन रहेछ । त्यहाँ चारैतिर देखिने मनोरम दृश्यहरू र प्राकृतिक सुन्दरताको शब्दमा वर्णन गर्न सकिंदैन । वर्षा यामका कारण हामीले देख्न नपाए पनि सुने अनुसार नजिकैबाट देखिने हिमश्रृङ्खलाको सुन्दरताले पक्कै पनि स्वर्गमा पुगेको अनुभूति हुन्छ होला भनी अनुमान गर्न सकिने रहेछ । हल्का चिसो वातावरण, हरियाली दृश्य, आकर्षक एकीकृत बस्तीका घर, संग्रहालय, पार्क र गुम्बाहरू, विकासमा लम्केको बजार, सफा, धुलो र धुवाँरहित क्षेत्र, मुस्कान सहितको मृदु भाषा र पाहुनालाई सम्मान गर्ने प्रचलन, आफ्नो संस्कृति झल्काउने पोसाकको प्रचलन, मित्रवत् व्यवहार गर्ने नागरिक आदि यस क्षेत्रका आकर्षण हुन् । जसले गर्दा बारपाक तथा लाप्राक क्षेत्रलाई युगौंयुग मानसपटलमा राखिने भएको छ ।

४. यात्राका आकर्षणहरू
भ्रमण टोली बारपाक हुँदै दोस्रो दिनको गन्तव्य गोरखा दरबार पुग्ने क्रममा समेत रमणीय दृश्यावलोकन गर्न पाइयो । सुन्दर नेपालको ऐतिहासिक महत्वको क्षेत्र गोरखमा प्रवेश गरेपछि नै मध्यम स्तरको सडक रहेको कारण असहजता अनुभव गर्नु परेन भने प्राकृतिक दृश्य र मनोरम वातावरणले मन लोभ्याइरह्यो । भ्रमणको क्रममा विभिन्न कारणले बारपाक लाप्राकका सबै क्षेत्रमा पुग्न नसकेता पनि लाप्राक बारपाकदेखि गोरखा दरबारसम्मको यात्रामा देखिएका माथि उल्लेख गरिएका क्षेत्रबाहेक अन्य केही सुन्दर अनुभूतिद्वारा सुसज्जित प्रमुख आकर्षण यस प्रकार छन्–

झरना : बारपाकबाट फर्कने क्रममा धेरैवटा झरना देखिइरहेका थिए तर कठिन पहाडी भाग सिद्धिएपछि दरौँदी नदीका किनारमा आइपुग्दा यात्राको क्रममा ठूलो झरनाले भ्रमणमा मीठास थपिदियो । उक्त झरनामा उभिएर फोटोे खिचाउने, नुहाउने र झरनाको पानीसँग जिस्कनेहरूलाई समय बितेको पत्तो भएन । करिब दुई घन्टासम्म त्यहाँको झरना र नजिकै रहेको खोलाको आकर्षणले बिदा गर्न सकेन ।

बौद्ध गुम्बा : बारपाकमा बहुजातीय संरचना भएता पनि मुख्यतया गुरुङहरू (३९ प्रतिशत) रहेका छन् भने अन्य जातजातिमा घले, बाहुन, क्षेत्री लगायतका रहेका छन् । लाप्राकमा लगभग सबैजसो (छिटफुट बाहेक) गुरुङहरू नै रहेका छन् । त्यसैले लाप्राकलाई गुरुङ गाउँ पनि भनिँदो रहेछ । गुरुङको बाहुल्य रहेको क्षेत्र भएका कारण लाप्राकमा बौद्ध धर्म करिब ७० प्रतिशतले मान्दा रहेछन् भने बारपाकमा करिब ३५ प्रतिशत बौद्ध धर्म मान्ने रहेछन् । बारपाकमा रहेको बौद्ध गुम्बा बढी प्रचलित रहेछ । अति कलात्मक तवरले निर्माण गरिएको बौद्ध गुम्बा साँच्चिकै आकर्षक रहेछ र यो चिनियाँ शैलीमा निर्माण गरिएको छ ।

होमस्टे तथा होटल : बारपाकमा पर्यटकका लागि लक्षित गरी विभिन्न सुविधायुक्त होटल तथा सामुदायिक होमस्टेहरू बनाइएका छन् भने लाप्राकमा पनि होमस्टे रहेछन् । बारपाकमा नसोचेको सुविधायुक्त व्यवस्थित तरिकाले कोठा बनाइएको छ । कोठामा तातो पानी, अटेच बाथरुम र अन्य सुविधा पनि रहेका छन् भने स्थानीय गुरुङ संस्कृति झल्कने होमस्टेहरूले पनि पर्यटकलाई सेवा दिइरहेका छन् ।

भूकम्प स्मारक भवन : भ्रमण समूहको आकर्षक गन्तव्य भुकम्प स्मारक भवन हुन सक्छ । जुन निकै ठूलो र आकर्षक तरिकाले बारपाकमा निर्माण गरिएको रहेछ । गोरखा जिल्लामा भुकम्पमा परी निधन हुनेहरू ४ सय ९० जनाको नाम र ठेगाना लेखिएको, भूकम्प गएको समय २०१५ अप्रिल २५ तारिख बिहान ११ः५६ समेत स्मरण हुनेगरी लेखिएका कारण यसबाट भूकम्पप्रति सचेत रहन घच्घच्याएको समेत आभास हुने गर्छ ।

गोरखा दरबार र मन्दिर : गोरखा सदरमुकाम नजिक रहेको करिब २ घन्टाको ठाडो उकालो दूरीमा र पहाडको टुप्पोमा रहेको गोरखा दरबार, कालिका मन्दिर र गोरखनाथ मन्दिर सँगसँगै छन् । नेपालको संरक्षक सन्त गोरखनाथकै नामबाट गोरखा जिल्लाको नामाकरण भएको र नेपालको इतिहासमा गोरखाको छुट्टै पहिचान पनि छ । त्यस्तै, शक्तिकि देवी कालिकाको समेत यहाँ मन्दिर रहेको छ, जुन गोरखाको एउटा महत्वपूर्ण ऐतिहासिक तीर्थस्थल पनि हो । यसका साथै आधुनिक नेपालका निर्माता रहेका पृथ्वीनारायण शाहको जन्म यसै दरबारमा भएको किंवदन्ती पनि छ जसले गर्दा हरेक नेपालीका लागि यो स्थल महŒवपूर्ण गन्तव्य स्थल बनेको छ ।

गोरखा संग्रहालय : गोरखा दरबार नजिकै रहेको तल्लो दरबार गोरखा संग्रहालय हो । पृथ्वीनारायण शाहसम्बन्धी अध्ययन अनुसन्धानका महŒवपूर्ण सामग्री यस दरबारमा राखिएको रहेछ । त्यति बेलाका हातहतियार, तोप, वाद्य सामग्री, भाँडाकुँडा र गोरखा सैनिकसँग सम्बन्धित इतिहास झल्कने सामग्रीहरू यस संग्रहालयमा राखिएको रहेछ । अध्ययन अनुसन्धानका लागि निकै महत्वपूर्ण दस्तावेजहरूसमेत यही संग्रहित भएकाले गोरखा भ्रमणका अवसरमा यो संग्रहालय एक उत्कृष्ट गन्तव्य स्थल पनि हुन सक्छ ।

अन्तमा,
अनुपम, सुन्दर, प्राकृतिक संरचनाले भरिपूर्ण गोरखा जिल्ला, बारपाक र लाप्राक एक पटक भ्रमण गर्नका लागि उचित गन्तव्य बन्न सक्नेमा कुनै शंका छैन । आवतजावतका लागि केही टाढाको गन्तव्य भएका कारण केही असहजता भएता पनि यात्राको क्रममा कुनै दुःखको अनुभूति हुँदैन । यात्राका क्रममा सुन्दरता र प्राकृतिक उपहारले गर्दा आँखा झिम्म पार्न नदिने परिस्थिति सृजना हुने गर्छ । त्यस कारण घुम्न चाहने नेपालीले एक पटक पुग्नुपर्ने गन्तव्य गोरखा जिल्लाको बारपाक र लाप्राकलाई बनाउँदा कुनै पछुतो पर्ने छैन । अस्तु !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->