आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३
  • ३१ साउन २०८३ , आइतबार
  • August 16 2026

प्रकाश दुतराज अब समुह व्याण्डमा आउने

प्रकाश दुतराज अब समुह व्याण्डमा आउने


  • ढाेरपाटन संवाददाता
  • साउन ३० २०८३, शनिबार

बागलुङ/लोक भाखाका दर्जनौं गीत गाएर ख्याती कमाएका गायक प्रकाश दुतराजले अब भने समूह व्याण्डको रुपमा बजारमा आउने भएका छन् ।

उनले नयाँ अभ्यासको रुपमा पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा बजाएर आफ्नो प्रस्तुती ल्याउन लागेको बताए । भदौ १२ गते जन्म जिल्ला म्याग्दीबाट यो अभ्यास शुरु गरेर देशभर यात्रा गर्ने उनले जानकारी दिएका छन् ।

अहिलेसम्म आधुनिक र पप गीतका गायकले मात्र व्याण्डको रुपमा आउने गरेकोमा उनले लोकभाखाको व्याण्ड बनाएको बताए । ‘यो नयाँ अभ्यास पनि हो, काम गर्दै सिक्दै जानेछु’ उनले भने, ‘पहिलो अभ्यास आफ्नै जिल्लाबाट थाल्न लागेको छु ।’ उनले यो अभ्यासका लागि ३५ जनाको टिम बनाएको बताए ।

मेला महोत्सवमा अहिलेसम्म एकल रुपमा गएर गाउने गरेकोमा अब भने उनले व्याण्डको रुपमा हिंड्ने योजनासहित पहिलो चरणमा भने निशुल्क कार्यक्रम गर्न लागेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघ सहितका स्थानीय संस्थाहरुले यो अभियानलाई सहयोग गरेका छन् ।

रिमै, जाम भो माइली, घर कता हो बैनीको, करिमा, मनमाया जस्ता उनका चर्चित लोक गीत छन् । उनका अधिकांस गीतहरु ग्रामीण परिवेश, सामुहिक नृत्य र मौलीक भाखाका छन् । उनका अधिकांस गीत संकलन, रचना र गायन समेत आफ्नै रहेकोमा त्यसलाई मौलीक बाजाको व्याण्डको रुपमा चिनाउन लागेका हुन् ।

दुतराज आउने भनेपछि देशभरका मेला महोत्सवमा सयौंको भीड लाग्ने गरेको छ । उनले त्यो भीड र आम नागरिकको चाहनालाई व्याण्डको रुपमा ल्याएको बताए । ‘यो मेरो सपना हो, सफलतामा पुग्ने चाहना छ’ उनले भने, ‘पहिलो चरणका अभियानमा साथ सहयोग र सुझाव दिएर लोकसंगीतको व्याण्डलाई सफल बनाउने जिम्मा श्रोता दर्शकको हुने छ ।’

बन्द कोठामा गीत रेकर्ड गरेर बाहिर आएका दुतराज अब खुला र समूहमा देखिने गरी आएका हुन् । उनले पत्रकार सम्मेलन गरेर यो जानकारी बाहिर ल्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->